Khadya Bibhag

आर्थिक अभावका कारण गायक गुरुदेवको निधन

‘कुन पापीले लुटिदियो, मधु वन पनि नयाँ नयाँ, मधुमास पनि नयाँ नयाँ…..जस्ता ४०० भन्दा बढी कालजयी गीत, गजल र भजनलगायतका चर्चित गीत गाउनु भएका शास्त्रीय गायक गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ । मृगौला पिडित गुरुदेव कामतको निधन साउन १७ गते उहाँको आफ्नै निवास सिरहास्थित लक्ष्मीपुर पतारी पोखरभिण्डामा भयो । मृगौला रोगबाट पिडित गुरुदेव कामत लामो समयदेखि उपचाररत हुनुहुन्थ्यो । गुरुकुल पाठशाला चलाएर काठमाडौँमा बस्नु भएका गुरुदेव कामत आर्थिक अवस्थाका कारण ठिक ढंगले उपचार गराउन सकिरहनु भएको थिएन ।
आर्थिक अवस्थाका कारण उपचारमा समस्या हुन थालेपछि उहाँ काठमाडौँ छाडेर गाउँ आफ्नो घरमा बस्न थाल्नुभयो । उहाँको उपचार समान्य ढंगले लहानमा चल्न थाल्यो । तर आर्थिक समस्या त्यहाँ पनि थियो । सहयोगका लागि संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहसम्म पनि याचना गर्नुभयो । तर कहिबाट कुनै सहयोग भएन । व्यक्तिगत रुपमा पाँच–१० हजार सहयोग गर्नु बेग्लै कुरा हो तर राज्यको तर्फबाट कुनै सहयोग नभएको उहाँका परिवारका सदस्यको गुनासो छ ।
उहाँले गुरुकुल पाठशाला सञ्चालन गरेर ४० वर्षमा झण्डै २५ हजार विद्यार्थीलाई संगीत सिकाउनुभयो । उहाँले नै पढाएका विद्यार्थीहरु देशमा नाम कमाएका छन् । राम्रै स्थानमा पुगेका छन् । ती विद्यार्थीहरुले पनि परेको बेला उहाँलाई सम्झेन । विद्यार्थीले नसम्झिन सक्छ तर राज्यको दायित्व हो कि यस्ता विभुतीहरु समस्या पर्दा सहयोग गर्नुपर्छ । राज्यको तर्फबाट कुनै वास्ता भएन । यहाँसम्म कि मधेश प्रदेशका मधेश प्रज्ञा प्रतिष्ठानले काम गराएवापतको रकम पनि दिएको छैन ।
त्यसको खुब आलोचना भयो । प्रतिष्ठानका अध्यक्ष रामभरोसी कापडीको पनि आलोचना भयो । धेरैले उहाँको राजिनामा समेत माग्नुभयो । तर अध्यक्ष कापडीले विज्ञप्ति जारी गरेर गुरुदेवसँग रकम दिने विषयमा कुनै पनि सम्झौता नभएको दावी गर्नुभयो ।
तराई मधेशका कालाकारहरुले जनकपुरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्नुभएको थियो । सो कार्यक्रममा बढीभन्दा बढी गीत संगितकै चर्चा भयो । कलाकारहरु गीत गाएर गुरुदेवप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यो कार्यक्रममा पनि सरकारको आलोचना भयो । मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कापडीको आलोचना भयो ।
गुरुदेव कामत ६ वर्षकै उमेरदेखि नै संगितको क्षेत्रमा लाग्नुभएको थियो । भारतबाट संगितमा स्नाकोत्तर गर्नुभएका गुरुदेव २०४६ मा नेपाल फर्किनु भएको थियो । २०४९ मा रेडियो नेपालमा आयोजित गीत संगित प्रतियोगितामा उहाँ प्रथम हुनुभएको थियो । २०५० सालमा उहाँको पहिलो गीत बजारमा आएको थियो । नेपाली, मैथिली, भोजपुरी, हिन्दीलगायतका भाषामा आफ्नो स्वर दिनुभएका उहाँले दर्जनभन्दा बढी संगीत कम्पोज गर्नुभएको छ ।
प्रबल जनसेवाश्री लगायत मैथिली गीत संगितमा विशेष योगदान दिएको भन्दै मिथिला रत्नदेखि मधेश रत्न उपाधिबाट समेत सम्मानित हुनुभएको थियो । काठमाडौमा भाडाको घरमा बसेर उहाँले आफ्नो परिवार समेत चलाई रहनु भएका गुरुदेव यस क्षेत्रमा उहाँले जति नाम कमाउनु भयो त्यति दाम कमाउन सक्नुभएन । उहाँ जहिले पनि आर्थिक समस्यासँग जुधिरहनु भयो । सधै अभावको जीवन जिउनु भयो । तैपनि कसैसँग कुनै गुनासो गर्नुभएन । सधै स्वभिमानको जीवन जिउनुभयो ।
उहाँले गाउनु भएको ‘उठु और मैथिल भेलै भोर, धर्ती मैया हुर्केर रहल छौ’ हमर सिन्दुरक धुल उडाक’, ‘वित वित पर लक्ष्मण रेखा’, कहा गेलै सुरमा सल्हेश’ जस्ता मैथिली भाषाका गीत निकै चर्चित छन् ।

तपाईको प्रतिक्रिया