भारतबाट जतिवटा उच्चस्तरीय भ्रमण हुन्छन् ती सबै भ्रमणको मधेशवादी दलका लागि सन्देश हुन्छ कि तपाईहरु मिल्नुस् । चाहे प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण होस् या विदेश मन्त्रीहरुको भ्रमण होस् अन्य कुनै उच्चस्तरीय भ्रमण होस् सबै भ्रमणमा मधेशवादी दलका नेताहरुलाई एक साथ भेटेर एकताका लागि सुझाव दिनुभएको हुन्छ । साउन २७ गते नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव बिक्रम मिस्रीले मधेशवादी दलका नेताहरुलाई भेटेर एकतामा जोड दिन सुझाव दिनुभएको स्रोतले जनाएको छ । सोल्टी होटलको रात्रीभोज कार्यक्रममा मधेशवादी दलका नेताहरुलाई एक साथ भेटेपछि सो सुझाव दिनुभएको लोसपा नेपालका एक नेताले बताउनुभयो ।
यसअघि २०८० पुस १९ गते भारतका विदेशमन्त्री एस.जयशंकर पनि नेपाल भ्रमणमा आउनु भएको बेला मधेशवादी दलका नेताहरुसँगको भेटपछि मधेश केन्द्रीत दलहरु यसरी अलग अलग रहेर केही प्राप्त हुँदैन एउटा शक्ति बनाएपछि मात्र केही प्राप्त हुने र त्यसका लागि एकीकृत हुनुपर्ने सुझाव दिनुभएको छ । मधेश जस्तो सानो ठाउँमा यतिका दलको आवश्यकता नै छैन । एउटै मुद्दा, एउटै एजेण्डा, एउटै मिसन भएको पार्टी अलग अलग रहेर केही कुनै अधिकार प्राप्त हुँदैन । यसका लागि एकता नै गर्नुपर्छ भनि भारतका प्रधानमन्त्री मोदी र तत्कालिन विदेश मन्त्री सुष्मा स्वराजले पनि दिनुभएको थियो । प्रधानमन्त्री दोस्रो पटक नेपाल भ्रमणमा आउन लाग्दा भेटघाटका लागि तालिका बनाउँदा मधेशवादी दललाई एक्ला एक्लै नभेट्ने, एकीकृत भएर आएपछि मात्र भेट्ने भनेपछि तत्कालिन मधेशवादी दललहरुले रातारात मोर्चा बनाएका थिए ।
त्यो भेटमा पनि प्रधानमन्त्री मोदीले मधेशवादी दलले मधेशमा एउटा शक्ति निर्माण गर्नुपर्छ र त्यसका लागि तपाईहरु मिल्न आवश्यक छ । मधेश कमजोर भएर नै अधिकार प्राप्तिमा ढिलाई भइरहेको छ । शाक्तिशाली भएपछि अधिकार दिन आफै आउँछ भन्नुभएको थियो । प्रधानमन्त्री मोदी र अन्य मन्त्री तथा नेताहरुले भनेपछि मधेशवादी दलहरुले एकताका लागि प्रयास गरेको देखिन्छ ।
त्यसका लागि प्रयास गरेका हुन्छन् । छ दल मिलेर राजपा नेपाल बनेको थियो । त्यसपछि तत्कालिन राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टीसँग एकता गरेर जनता समाजवादी पार्टी नेपाल बनेको थियो तर त्यो एकता लामो समय चलेको थिएन । जसपा नेपालबाट अलग भएर लोसपा नेपाल बन्यो । राजपा नेपालबाट पनि महेन्द्र राय यादव, अनिलकुमार झा, रेशम चौधरी, राजेन्द्र महतो, राजकिशोर यादव अलग भइसक्नु भएको छ । रेशम चौधरी, महेन्द्र राय यादव र राजेन्द्र महतो आआफ्नै नेतृत्वमा पार्टी बनाउनु भएको छ भने अनिलकुमार झा नयाँ पार्टी बनाउने कसरतमा लाग्नु भएको छ । राजकिशोर यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा हुनुहुन्छ भने शरतसिंह भण्डारी र महन्थ ठाकुर एक साथ हुनुहुन्छ ।
अहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, अशोक राइ नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा छन् । त्यसमध्ये जसपा नेपाल, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी मात्र संसदमा छन् । यी सबै दललाई मिल्नका लागि भारतले पटक पटक भन्दै आएको छ तर यी दलहरु एक्ला एक्लै संघर्ष गरिरहेका छन् । एक अर्कासँग मिल्न मानेका छैनन् ।
तपाईको प्रतिक्रिया