–भोलाप्रसाद यादव
नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिर आएको छ । माओवादी सरकारबाट बाहिरिदा सो पार्टीका नेताहरु दुखी हुनुभन्दा बढी खुशी छन् । संविधान निर्माणपछि माओवादी लगातार सरकारमा रह्यो । बिचमा २०७७ पुसदेखि २०७८ असारसम्म मात्र सरकारभन्दा बाहिर रह्यो । दुई पटक त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त सरकारकै नेतृत्व गर्नुभयो भने अन्य अरु सरकारमा पार्टी सहभागी भइरह्यो ।
२०६३ चैत १८ गते पहिलो पटक माओवादी सरकारमा सहभागी भएको थियो । मलाई लाग्छ १८ वर्षमा माओवादी सबै मिलाएर दुई–तीन वर्ष सरकार बाहिर रहेको होला नत्र अधिकाँश समय सरकारमै बित्यो । माओवादीका अध्यक्ष प्रचण्ड त तीन पटक प्रधानमन्त्री नै बन्नुभयो । माओवादीको सत्ता यात्रा हेर्ने हो भने माओवादीले नचलाएको कुनै पनि मन्त्रालय बाँकी छैन । गृहमन्त्रालयदेखि लिएर सबभन्दा कमजोर मानिएको महिला बालबालिका मन्त्रालयसम्म माओवादीले चलाएको हो । उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्ष जस्ता मुख्य पदहरु पनि माओवादीले पाएकै हो । अर्थ मन्त्रालयको जिम्मेवारी पनि पटक पटक पाएको हो । विकासे मन्त्रालय भौतिक मन्त्रालय र उर्जा मन्त्रालय पनि पटक पटक सम्हालेकै हो । कृषि मन्त्रालय पनि माओवादीको हातमा दुई पटक गएको हो ।
तीन चार वटा प्रदेशमा मुख्यमन्त्री तथा प्रदेश प्रमुख समेत माओवादीले पाएकै हो । संघ र प्रदेशमा मन्त्री कति हो कति । त्यसले माओवादीलाई के फाइदा भयो त ? त्यसको न हिसाब छ न कुनै समिक्षा । बरु माओवादीलाई त्यसबाट घाटैघाटा छ । माओवादी बिग्रनु र कमजोर हुनुको मुख्य कारण नै सत्ता हो । माओवादीमा अहिले देखिएको विभाजनको संकेत पनि त्यही सत्ता नै हो । माअोवादी पटक पटक विभाजन हुनुमा मुख्य कारण सत्ता नै हो । माओवादीको सत्ता यात्राबाट जनता कहिले खुशी थिएन तर माओवादीका शीर्ष नेताहरुले जहिले पनि त्यसलाई नजर अन्दाज गरि रहे । जनताको मनोविज्ञानलाई कहिले बुझ्ने प्रयास गरेनन् । अहिले लामो समयपछि माओवादी सरकारबाट बाहिरदा माओवादीका आम कार्यकर्ता दुखी होइन खुशी छन् । यो कुरा माओवादीका शीर्ष नेताहरुलाई पनि राम्रोसँग थाह छ ।
पार्टी सरकारमा रहेको कारणले केही व्यक्तिलाई फाइदा भएको होला तर पार्टीलाई कुनै फाइदा भएको छैन । जनयुद्धमा हुँदा उत्पीडित जनताले माओवादीसँग निकै ठूलो अपेक्षा गरेका थिए । मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला पिछडिएका समुदायका कारण माओवादीको आन्दोलन सफल भएको हो । हजारौ दलित, आदिवासी जनजातिहरुले बलिदानी दिए । माओवादीको आन्दोलन सफल भएपछि हामी अधिकार पाउँछौं, हाम्रो दुखका दिन अन्त्य हुन्छ । हाम्रो छोराछोरी पढ्न पाउँछ । रोजगारी पाउँछ । तर खै ती आशा र भरोसाका कुराहरु ।
ठ्याक्कै हिसाब निकाल्न सकिएको छैन तर १८ वर्षमा माओवादी पक्कै पनि १५ वर्ष सरकारमा रहेको होला । १५ वर्ष सत्तामा रहेर माओवादीले के गरे त्यसको समिक्षा गर्न माओवादी तयार हुनुपर्छ । माओवादी सरकारबाट बाहिर आएकोमा दुखी होइन, खुशी हुनुपर्छ किनभने माओवादीलाई सुध्रिने मौका प्राप्त भएको हो । २०८४ को चुनावसम्म माओवादी सरकारमा जाँदैन भनि संकल्प लिनुपर्छ । र जनताको भरोसा जितेर ८४ को चुनावमा गठबन्धन गरेर होइन एक्लै चुनावमा सहभागी हुनुपर्छ । नेपाली जनता अहिले पनि माओवादीको बाटो पर्खेर बसेका छन् ।
अहिले पनि माओवादीमाथि नै आशा भरोसा गरेका छन् । माओवादी त सत्तामा गएर बिग्रेको मात्र हो । सत्तामा गएपछि माओवादीका शीर्ष नेताहरु सुकिला मुकिला भए । बुर्जुवाहरुको जस्तै कुरा गर्न थाले । समाजवाद बिर्सेर पुँजीवादको कुरा गर्न थाले । पूँजीपती बालाहरुसँग दोस्ती गर्न थाले । ठूला ठूला महलमा बस्न थाले । महँगा महँगा गाडीमा चढ्न थाले । छोराछोरीलाई विदेश तथा महँगा स्कूलमा पढाउन थाले ।
यी सब कारणले आम शोषित पिडित जनताले पनि माओवादीको साथ छाड्न थाले । जनयुद्धको समयमा जसले बन्दुक उठाएर राज्यसँग लडे । जसले आफ्नो घरमा शरण दिए । जसले आफ्नो चुल्होमा भात पकाएर खुवाए । जसले आफ्नो घरमा लुकाएर राखे । आज उनीहरुको अवस्था कस्तो माओवादीका नेताहरुले एक पटक पनि खोज खबर गरेनन् । जसले माओवादीका साथमा आन्दोलन गरे, बन्दुक उठाए ।
देशका लागि बलिदानी दिए तिनका छोराछोरीको अवस्था कस्तो छ ? माओवादीले एक पटक पनि सोध खोज गरेन । सिंहदरवार भन्दा बाहिर कहिले हेरेनन् । त्यही भएर त्यो माओवादी र यो माओवादीमा फरक देखिएको छ र माओवादीबाट मोह भंग हुँदै गइरहेको छ । त्यही भएर माओवादी अहिले सरकारबाट बाहिरिदा कोही दुखी छैन । अब माओवादीका लागि यो अन्तिम मौका हो । अब जनताका लागि सुध्रिनुपर्छ । र, मौकाको सदुपयोग गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया