–सुरेशकुमार यादव
डर के हुन्छ, यतिखेर मधेशी नेताहरुको अनुहारमा प्रष्ट देख्न सकिन्छ । सत्ताधारी दुई दल काँग्रेस–एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने चर्चा मात्र के गरेका छन् मधेश केन्द्रीत दलका नेताहरुको ‘होसहवास’ उडेको छ । डर अरु केही कुराको होइन, आफ्नो पार्टी समाप्त हुन्छ कि भनि डर मात्र देखिन्छ । डर अरु केही होइन, समानुपातिक निर्वाचन प्रणाली हट्यो भने सांसद खरिद बिक्रि गर्न नपाइने हो कि भनि डर मात्र देखिन्छ ।
यी दुईटा डरबाहेक अरु मैले केही देखेको छैन । यही डरलाई हटाउनका लागि मधेश केन्द्रीत दलहरु एकीकृत हुने गृहकार्यमा लागेका छन् । यदि उनीहरुले मधेश र मधेशी जनताको हितका लागि काम गरेका छन् भने डर किन ? जतिसुकै प्रतिशतमा थ्रेसहोल्ड बढाए पनि जनता हाम्रो साथमा छन्, जनताको मत ल्याइ हाल्छौं र पार्टी जोगाइ हाल्छौ भनि आँट गर्नुपर्ने होइन र ती दलहरुले ? तर मधेशी जनताका लागि उनीहरुले कहिले काम गरेनन् त्यही भएर आज ‘पैतलामुनीको जमिन खस्किदै’ गरेको अवस्था आएपछि उनीहरु डराएका छन् ।
समानुपातिक निर्वाचन प्रणालीलाई बिकृत बनाउने काम यिनै मधेशवादी दलका नेताहरुले गरेका छन् । कहिले श्रीमतीलाई त कहिले आफ्न्तलाई समानुपातिक सांसद बनाएर यसरी बिकृत बनाइ सकेका छन् कि अहिले समानुपातिक नाम सुन्दा पनि घृणा हुन थालेका छन् । मधेशवादी दलका नेताहरुले समानुपातिक सीट आफन्तलाई दिएका छन् या अरुलाई दिँदा त्यसबापत मोटो रकम लिएका छन् । कसैलाई पनि समानुपातिक सीट दिँदा अधिकाँशबाट रकम असुलेका छन् जुन कुरा बेलाबेलामा मिडियामा आउने गरेका छन् । हो आज त्यही व्यपार चौपट हुने देखेर नेताजीहरुमा डर देखिएको छ ।
मधेशमा भोकमरी, अशिक्षा, स्वास्थ्यको समस्या, मल बिउको समस्यालगायत थुप्रै्र समस्या छन् । यसको बारेमा कहिले बोलेनन्, कहिले एकीकृत हुने प्रयास गरेनन् । आज दोकान (पार्टी) बन्द हुने स्थिति आएपछि उनीहरुलाई मोर्चाबन्दी, गठबन्धन, पार्टी एकताको कुरा याद आइरहेको छ । बिगतमा पनि यस्ता मोर्चा, गठबन्धन र पार्टी एकता भएकै थियो तर त्यो कसको कारण बिघटन भए ? मनरा मुसहरका कारण हो कि चमेली खत्वेका कारण । करिया साहु कि मनतोरिया यादवका कारण कि लटल ठाकुरका कारण पार्टी विभाजन भयो, मोर्चा टुटियो । कसको कारणले ती सबै भतभुङ भए ?
बिगतमा बनेका मोर्चाहरु, बिगतमा भएका पार्टी एकताहरु कसका कारणले टुटे, कसका कारणले बिभाजन भए, त्यसको बारेमा कसैले चर्चा समेत गरेका छैनन् । कसैमा रतिभर आत्मबोध छैन । कसैले आत्मसमिक्षा गरेका छैनन्, आत्मलोचना गरेका छैनन् । सबैलाई एउटै चिन्ता छ कि २०८४ मा सांसद कसरी बन्ने, पार्टी कसरी जोगाउने, दुई चार वटा समानुाितिक सीट कसरी बेच्ने, मन्त्री कसरी बन्ने त्यसबाहेक अरु कुनै चिन्ता छ जस्तो मलाई लाग्दैन ।
समानुपातिक बजेटका लागि यी नेताहरुले कहिले एकताको कुरा गरेको मलाई थाह छैन । प्रदेशलाई अधिकारी बिहिन बनाएको छ, त्यसका लागि यी नेताहरुले कहिले एकताको कुरा गरेको मलाई मात्र होइन कसैलाई थाह छैन । स्थानीय तहलाई पङ्गु बनाएर राखेको छ त्यसका लागि एकता गर्ने कहिले सोचेको मैले पाएको छैन । संविधानमा व्यवस्था भए अनुसारको सुविधा जनताले पाएको छैन, यसका लागि मोर्चा बनाउने कुरा कहिले गरेको सुनिदैन । आदिवासी जनजाति, मधेशी, दलित, पिछडिएको आरक्षण सीटमा पनि खस आर्यले नियुक्ति पाउदा त्यसको विरुद्धमा एक ठाउँमा आएको कहिले देखिएको छैन ।
आफ्नै देशमा अनागरिकको जीवन बिताउन बाध्य मधेशीका लागि मोर्चा बनाउन गृहकार्य गरेको कहिले सुनिएन । २२ वटा जिल्ला रहेको मधेशलाई आठ जिल्ला बनाउँदा मोर्चा बनाउनका लागि नेताको घरघर गएको कहिले देखिएन । मधेश आन्दोलन गर्दा मृत्यु भएका परिवारले न्याय नपाउँदा त्यसको विरोध गर्न कुनै पनि दलका नेताले एकताको कुरा गरेनन् ।
मधेश आन्दोलनमा घाइते भएकाहरुले अझै उपचार पाएका छैनन् त्यसको लागि संयुक्त आवाज उठाउन कहिले प्रयास गरेनन् । मधेश आन्दोलनको क्रममा मुद्दा लागेका कतिपय मधेशी तथा थारुहरु अहिले पनि भगौडाको जीवन बिताउन बाध्य छन् तर त्यसको लागि संयुक्त आवाज उठाउने प्रयाससम्म गरेको देखिदैन । मधेश आन्दोलन गरेका कारण कतिपय मधेशी युवा अझै जेलमा छन्, कपितय अझै मुद्दा खेपिरहेका छन् त्यसका लागि संयुक्त आवाज उठाउने प्रयास कहिले भएन ।
जब आफ्नो अस्तित्व खतरामा पर्ने देखेपछि एकता र सहकार्यका लागि दौडादौड देखिन्छ । जसरी पनि मोर्चाबन्दी गरेर आन्दोलन गरी काँग्रेस र एमालेले गर्ने संविधान संशोधन रोक्ने मात्र सोच नेताहरुमा देखिन्छ तर मधेशमा गास, बास र कपासको समस्या छ त्यसको बारेमा कसैलाई चिन्ता छैन । मधेशलाई भ्रष्टाचारले खोक्रो बनाइ सक्यो । मधेशका युवा युवती ड्रगिस भइसके, त्यसको बारेमा चिन्ता गर्ने फुर्सद कसैलाई छैन । चिन्ता छ त आफ्नो पार्टीको, आफ्नो सांसद पदको र मन्त्रीको ।
के यी एकता र सहकार्यका लागि पहल गर्ने नेताहरुले ‘जबसम्म मधेशको सम्पूर्ण माग पुरा हुँदैन, अधिकार प्राप्त हुँदैन, सम्पूर्ण मधेश एक प्रदेश बन्दैन तबसम्म कुनै पनि चुनावमा भाग दिइदैन भनि कसम खान सक्छन् ? सक्दैन किनभने सबैलाई सांसद र मन्त्री मात्र चाहिएको छ, पार्टी मात्र चाहिएको छ ।
एउटा तथ्यांकले भन्छ, मधेश प्रदेशको गरिबी दर २२.५३ प्रतिशत छ ग्रामिण तहमा यसको दर अझै बढी छ । जब कि समग्र नेपालको गरिबी दर २०.२७ प्रतिशत मात्र छ । मधेशको गरिबी दर बढाउनेमा केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड मात्र दोषी हुन् त । उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, सिके राउतलगायतका नेताहरुको कुनै हात छैन ? हरेक कुरामा ठूला दलका ठूला नेतातिर औंला देखाएर अहिलेसम्म जोगिदै आएका नेताहरु फेरि पनि त्यही भ्रम छरिरहेका छन् ।
आर्थिक वर्ष २०८०\०८१ मा अख्तियार दुरुपयोग आयोगमा परेको मुद्दालाई अध्ययन गर्दा सबैभन्दा बढी छ हजार २६३ वटा मधेस प्रदेशकै छन् । सबैभन्दा बढी उजुरी परेका १० स्थानीय तहमध्ये सात वटा त मधेश प्रदेशकै छन् । जसमा बाराको पचरौता नगरपालिका र सुवर्ण गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, पर्साको छिपहरमाई गाउँपालिका, कपिलवस्तुको कृष्णनगर नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र रौतहटको राजपुर नगरपालिका छन् । २०७९ मा भएको स्थानीय तहको चुनावको डेढ वर्ष नपुग्दै सप्तरीको बोदे बर्साइन नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख र विष्णपुर गाउँपालिकाका अध्यक्ष भ्रष्टाचारीमा परेपछि निलम्बनमा परेका थिए । मधेशका लागि यो भन्दा अर्को उदाहरण के हुनसक्छ ?
२०६५ देखि प्रत्यक्ष, अप्रत्यक रुपमा मधेश केन्द्रित दलहरु सरकारमा छन् । झण्डै आठ वर्षदेखि मधेश सरकारको नेतृत्व गर्दै आएका छन् भने स्थानीय सरकारमा मधेश केन्द्रीत दलहरुको रजगज छ । तैपनि ओली, प्रचण्ड, देउवालाई दोष देखाएर मधेशी जनतालाई बेबकुफ बनाउने काम उनीहरुले गरिरहेका छन् । मधेशको विद्यालयमा पढाई हुँदैन त्यसको दोषी ओली हुन त ? रौटहटको एउटा विद्यालयमा डेस्क बेन्च छैन, विद्यार्थी बोरामा बसेर पढ्न बाध्य छन् के त्यसको दोषी प्रधानमन्त्री ओली नै हुन त ? मधेशको अस्पतालमा डाक्टर हुँदैन त्यसको दोषी प्रचण्ड हुन त ? स्थानीय तह तथा मालपोत लगायत विभिन्न निकायमा भ्राष्टाचारको ग्राफ बढेका छन् त्यसमा पनि अोली र प्रचण्ड दोषी हुन त ।
पहिला त मधेशका कार्यालयहरुमा पहाडी कर्मचारी भएको कारण भ्रष्टाचार भइरहेको भन्दै मधेशी नेताहरु पन्छिने गरेका थिए तर अहिले स्थानीय तहदेखि अन्य कार्यालयहरुमा अधिकाँश कर्मचारी मधेशी नै छन् । प्राय त्यस्ता अफिसर नेता निकट नै हुन् । अस्पतालदेखि स्कूल, क्याम्पसमा अधिकाँश प्रमुख मधेशी नै छन् । उनीहरुलाई पनि प्रचण्ड, अोली र देउवाले नै भ्रष्टाचार गर्न भनिरहेका छन् त ? मधेशका क्याम्पसहरु खण्डहर र भुतबङ्गलामा परिणत भइरहेका छन् के त्यसको दोषी काठमाडौँ नै हो त ? अस्पतालहरु रेफर केन्द्रमा परिणत हुँदैछन् के त्यसको दोषी सिंहदरवार नै हो त ? मधेशका जिल्ला सदरमुकामहरु उजाड भएका छन् के त्यसको दोष सबै काठमाडौँलाई जान्छ त ? हो मधेश केन्द्रित नेताहरु यी सबैका दोषी काठमाडौँ नै हो भनि देखाएर मधेशी जनतालाई बेबकुफ बनाइ रहेका छन् ।
एक समय त्यो अवस्था थियो । ताला चाभी केन्द्रमै हुन्थ्यो । हरेक कुरा केन्द्रबाट नै नियन्त्रित हुन्थ्यो तर अहिले त्यो अवस्था छैन । एउटा वडा अध्यक्षले करोडभन्दा बढीको बजेट चलाउँछन् । अध्यक्ष, मेयर, सांसद, मन्त्रीहरुको कुरा नै बेग्लै । २०४६ पछि आएका विभिन्न परिवर्तनले मधेशमा केही परिवर्तन अवश्य आएको हो । तर जब जब मधेश अधिकार पाउदै गयो, तब तब मधेशको अवस्था झन खराब हुँदै गइरहेको छ । मधेशमा रहेका कलकारखाना बन्द भएका छन् तर अहिले त थोरै भएपनि साधन स्रोतको मालिक त मधेशका नेताहरु पनि भएका छन् । तर खै त ? अरु केही नभए पनि बन्द भएका कारखाना सञ्चालन गर्दिए मधेशी जनताका लागि ठूलो राहत हुन्थ्यो । तर त्यसका लागि मधेशवादी दलका नेताहरु एकीकृत कहिले भएन ।
मधेश अब काठमाडौँबाट होइन, मधेशबाट नै पिडित बनेको छ । काठमाडौँले मधेशलाई गर्ने विभेद अहिले मधेशले मधेशी जनतासँग गरिरहेका छन् । गाउँगाउँमा रहेका सिंहदरवारले मधेशीमाथि शासन गरिरहेको छ, मधेशी जनतासँग भेदभाव गरिरहेको छ तर त्यसको विरुद्धमा यी मधेशी नेताहरु कहिले मोर्चाबन्दी गरेनन् । कहिले बोलेनन् ।
अहिले त्यही ह्रदयश त्रिपाठी नेताहरुको घरघरमा गएर सहकार्यका लागि आग्रह गरिरहनु भएको छ तर पार्टी बिभाजनको सुरुवात उहाँले नै गर्नुभएको हो । उहाँकै अगुवाइमा नेपाल सद्भावना पार्टी दुई पटक विभाजन भएको हो । नेपाल सद्भावना पार्टीलाई सडकमा अलपत्र छाडेर तमलोपा गठन गर्नुभयो । तर तमलोपाले अन्य दलहरुसँग एकीकरण गर्दा उहाँ त्यहाँबाट अलग हुनुभयो । अलग हुनुमा उहाँले आफ्नै दाबीहरु छन् तर खास कारण उहाँले अध्यक्षमण्डलको सदस्य बन्न नपाउनु नै हो । उहाँले जनता प्रगतिशिल पार्टी गठन गरेर पनि आफूलाई टेस्ट गर्नुभयो । नसकेपछि अहिले गठबन्धन बनाउनका लागि नेताहरुको घरघर गइरहनु भएको छ । तर बिगतमा गर्नुभएको हरकतका लागि उहाँले कही कतै आत्मलोचना गर्नुभएको छैन ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव विभिन्न पार्टीसँग सहकार्य र एकताका लागि उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाउनु भएको छ । तर बिगतमा उहाँ नेतृत्वको पार्टी पटक पटक पार्टी विभाजन भयो । बिगतमा किन पार्टी विभाजन भयो, मोर्चा किन टुट्यो, गठबन्धन किन भङ्ग भयो त्यसको समिक्षा उहाँले कहिले गर्नुभएको छैन । कार्यदलको संयोजक राजकिशोर यादव बन्नुभएको छ उहाँकै नेतृत्वमा पनि पटक पटक पार्टी विभाजन भएको हो । अब के कारणले फेरि एकता वा मोर्चाबन्दीका लागि अघि सर्नुभएको छ, के उहाँले मधेशी जनतलाई जवाफ दिनसक्नु हुन्छ ?
महन्थ ठाकुरले नेतृत्व गरेको पार्टी पनि पटक पटक विभाजन भएको हो । अहिले उहाँ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष हुनुहुन्छ । २०६४ मा गठन गर्नुभएको तमलोपा हुँदै अहिले लोसपासम्म आइपुग्नुभयो यतिका यात्रा गर्दा उहाँले के पाउनुभयो र मधेशलाई के दिनुभयो, त्यसको जवाफ मधेशी जनतलाई दिनुभएको छ ?
राजेन्द्र महतो अहिले क्रान्ति र बहुल राष्ट्रको कुरा गर्दै हिमाल, पहाड र तराईमा ओहोर दोहोर गरिरहनु भएको छ तर नेपाल सद्भावना पार्टी हुँदै विभिन्न समयमा पार्टी बिखण्डन गर्दै, मोर्चा बनाउँदै भत्काउदै राष्ट्रिय मुक्ति पार्टी नेपालसम्म आइपुग्नु भएको छ ।
बिगतमा गल्ती गरेको छु, वा ठिक गरेको छु त्यो कुराको स्विकारोक्ति मधेशी जनतासमक्ष गर्नुभएको छ त ? महेन्द्र राय यादव अहिले माओवादी केन्द्रसँग एकताको लागि तयारी गरिरहनु भएको छ तर एमाले छाडेर तमलोपा गठन गर्नुभएका उहाँ विभिन्न मोर्चा, पार्टी बनाउँदै भत्काउदै नेपाल समाजवादी पार्टीसम्म आइपुग्नु भएको छ तर के बिगतमा गल्ती भएको छ भनि आत्मलोचना गर्नुभएको छ ? जनमत पार्टीका अध्यक्ष डा.सिके राउत छोटो समयमा विभिन्न मोर्चाहरु बनाउनुभयो तर उहाँ पनि कुनै मोर्चालाई काम राख्न सक्नु भएन । अहिले मोर्चा तथा एकताका लागि विभिन्न दलसँग पहल गरिरहनु भएको छ ।
कुनै सार्वजनिक मञ्चहरुमा नेताहरुको कुरा सुन्दा त सबै दुधले धोएको जस्तो देखिन्छ । गत पुस १६ गते मधेशी एकता समाजले आयोजना गरेको एक कार्यक्रममा नेताहरु एक अर्कालाई दोष देखाएर उम्के तर एकजनाले पनि मधेश यो अवस्थामा आउनुमा थोरै भए पनि म पनि दोषी हुँ जे गल्ती भयो, भयो अब त्यसमा सुधार गर्दै नयाँ ढंगबाट अगाडि बढौं भनि आत्मलोचना कसैको मुखबाट सुनिएन । डरमा बाँचेका ती नेताहरुमा मधेशको चिन्ता भन्दा आफ्नो चिन्ता बढी गरेको देखिएको थियो । त्यसैले कुनै फिल्ममा भनिएको छ, ‘डर के आगे जित है, इसिलिए डरना जरुरी हैं’
(लेखक सुरेशकुमार यादव गोरखापत्रका पत्रकार हुनुहुन्छ)
तपाईको प्रतिक्रिया