प्रदेश २ लोकसेवा आयोगले बुझायो प्रतिवेदन

धनुषा असोज १८ गते । प्रदेश २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई उक्त प्रतिवेदन बुझाउनुभएको हो ।

गत वर्ष बढुवा, अन्तर सेवा, खुला र समावेशी गरी कूल २७२ पदका लागि विज्ञापन खुलाएको थियो । बढुवातर्फ ११३, अन्तरसेवातर्फ १४, खुलातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदका लागि विज्ञापन खुला गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले कर्मचारीको अभाव भए पनि गत वर्ष विभिन्न सेवा र तहका लागि ८५ पाठ्यक्रम निर्माण गरेको आयोगका अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले आयोगमा प्रदेश सरकारबाट २१ जनाको अस्थायी दरबन्दी रहेकामा हाल काजमा ६ तथा करारका पाँच कर्मचारीले मात्र कार्यसम्पादन गरिरहेको बताउनुभयो ।

सो अवधिमा ८५ पाठ्यक्रमको निर्माण गरिएको अध्यक्ष यादवले बताउनुभयो । आयोगले गत वर्ष फागुन २२ र २९ गते खुला गरेको अधिकृत सातौँ तह इञ्जिनीयरिङ सेवातर्फको परीक्षाका लागि दुई हजार ३४८ जनाले फारम भरेकामा एक हजार ९६ जना परीक्षामा सहभागी भएको सो प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया