नेपाली राजनीतिको इतिहासमा केही यस्ता पात्रहरू हुन्छन्, जसले जीवनभर सत्ता, पद र उतारचढावको सामना गर्दा पनि आफ्नो सैद्धान्तिक धरातल र स्वाभिमानलाई कहिल्यै त्याग्दैनन् । तिनै विद्रोही, स्वाभिमानी र उच्च शिक्षित व्यक्तित्वहरूमध्ये एक हुनुहुन्थ्यो फत्तेह सिंह थारु । ती विद्रोही नेता थारुको ८८ वर्षको उमेरमा असार ३२ गते निधन भएको छ । उहाँको निधनले देशले एक विद्रोही नेता तथा समाजसेवी व्यक्ति गुमाएको छ । थारु समाजले एउटा अभिभावक गुमाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुरानो नेता तथा पूर्वमन्त्री थारु बाँके जिल्लाका मात्र नभई सम्पूर्ण नेपालकै एक चीरपरिचित र प्रतिष्ठित राजनीतिक एवं सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्रसम्मको राजनीतिक यात्रामा उहाँले सधैं जनताको पक्ष लिँदै र प्रशासनको बेथितिविरुद्ध आवाज उठाउँदै आफ्नो बेग्लै पहिचान बनाउनुभयो । उहाँ नेपालको इतिहासमा तराईका थारु समुदायबाट रक्षामन्त्री बन्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ ।
फत्तेह सिंह थारुको जन्म विसं १९९६ सालको शरद ऋतु अर्थात् औपचारिक अभिलेख अनुसार १५ अक्टोबर १९३८ मा बाँके जिल्लाको थपुवा गाउँमा भएको थियो । उहाँ जमिन्दार देवीराम थारु र भगवतीदेवी थारुका जेठा छोराका रूपमा जन्मिनुभएको हो । थारुको पारिवारिक पृष्ठभूमि जमिनदार घरानाको थियो र बाँके जिल्लामा उहाँको परिवारको ठूलो सामाजिक तथा आर्थिक प्रभाव थियो । उहाँका बुबा देवीराम थारुले पहिलो विवाह बर्दियाको कोठियाकी भगवतीदेवीसँग गर्नुभएको थियो, जसबाट फत्तेह सिंह थारुको जन्म भयो ।
पछि उहाँका बुबाले मैतहवाकी सीताजानकीसँग दोस्रो विवाह गर्नुभयो । त्यतिबेला थारु समुदायमा बहुविवाहको चलन सामान्यतया धेरै नभए पनि ठकुरी र राणाहरूको सिको गरेर धनी जमिन्दारहरूमा फाट्टफुट्ट यो चलन पाइन्थ्यो । आफ्ना बुबाको दोस्रो विवाहमा बालक फत्तेह सिंह थारु पनि जन्ती जानुभएको थियो । कुनै समय बाँके जिल्लामा थपुवाका देवीराम थारु, भवनियाँपुरका सरकारबक्स कुर्मी र मैतहवाका रामदयाल थारु गरी तीन जना जिमिन्दारहरूको निकै ठूलो नाम र सान थियो । यस्तै सम्भ्रान्त र आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिएका फत्तेह सिंहले बाल्यकालदेखि नै सामाजिक र राजनीतिक वातावरण नजिकबाट नियाल्ने अवसर पाउनुभएको थियो।
शिक्षा तथा पारिवारिक जीवन
त्यस जमानामा तराईका थारु समुदायमा शिक्षाको पहुँच अत्यन्त सीमित भए पनि फत्तेह सिंह थारुले उच्च शिक्षा हासिल गरेर समाजका लागि नयाँ कीर्तिमान कायम गर्नुभयो । उहाँले नेपालगन्जको प्रतिष्ठित मंगलप्रसाद माध्यमिक विद्यालयमा कक्षा छसम्म अध्ययन गर्नुभयो । त्यसपछि हाइस्कुलको परीक्षा उत्तीर्ण गर्न भारतको उत्तर प्रदेशस्थित योगी गोरखनाथको नगरी गोरखपुर पुग्नुभएको थियो । हाइस्कुल पूरा गरेपछि उहाँले त्यहीको प्रयागराजबाट आइए गर्नुभयो । त्यसपछि काठमाडौँ आएर त्रिचन्द्र क्याम्पसबाट स्नातक पूरा गर्नुभयो ।
अध्ययनप्रतिको उहाँको तृष्णा यतिमा मात्र सीमित रहेन । उहाँले भारतको प्रतिष्ठित लखनउ विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र डिप्लोमा इन फरेन अफेयर्स (डीएफए) को उपाधि हासिल गर्नुभयो । पश्चिम नेपालको थारु समुदायबाट राजनीतिशास्त्रमा एमए र वैदेशिक मामिलामा डिप्लोमा गर्ने फत्तेह सिंह थारु पहिलो व्यक्ति हुनुहुन्थ्यो । त्यतिबेला देशमा पढेलेखेका मानिसहरूको संख्या अत्यन्त न्यून थियो र राजनीतिमा त झन् शिक्षित वर्गको उपस्थिति विरलै पाइन्थ्यो । उहाँको यो उच्च शैक्षिक योग्यता नै पछि उहाँको राजनीतिक यात्राको ठूलो शक्ति बन्यो ।
वि.सं. २०१७ सालमा फत्तेह सिंह थारुको विवाह शोभादेवीसँग भयो । यो विवाह आफ्नो समयको निकै चर्चित र भव्य विवाह मानिन्थ्यो । दुवै पक्ष बाँकेका ठूला जिमिन्दार परिवारका भएकाले यो विवाह क्षेत्रभरि चर्चाको विषय बनेको थियो । त्यतिबेला सर्वसाधारण मानिसहरूका मुखमा थपुवाको जमिन्दार देवीरामको छोराले मैतहवाको जमिन्दार रामदयालको छोरीसित विवाह ग¥यो भन्ने थेगो नै झुण्डिएको थियो । विवाहमा गरिएको तामझाम, भोजभतेर र जन्तीको लस्करलाई मानिसहरूले वर्षौंसम्म सम्झिरहने गर्थे । उहाँका सन्तानहरूले पनि सामाजिक र राजनीतिक क्षेत्रमा आ–आफ्नो पहिचान बनाएका छन् । उहाँका छोरा तारकसिंह थारू बुबाकै राजनीतिक बाटो पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न हुनुहुन्छ भने छोरी शिवानीसिंह थारू नेपाली साहित्य, आमसञ्चार र सञ्चारकर्मको क्षेत्रमा एक स्थापित र चर्चित व्यक्तित्व हुनुहुन्छ ।
राजनीतिक यात्रा
उच्च शिक्षा पूरा गरेपछि फत्तेह सिंह थारुले समाजसेवा र राजनीतिमार्फत जनताको सेवा गर्ने बाटो रोज्नुभयो । २०२३ सालमा उहाँले बाँकेको हसनापुर गाउँ पञ्चायतको प्रधानपञ्चको निर्वाचन जितेर औपचारिक रूपमा राजनीतिमा कदम राख्नुभयो । २०२५ सालमा उहाँ बाँके जिल्ला पञ्चायतको सदस्य चुनिनुभयो र २०२८ सालमा मात्र ३२ वर्षको उमेरमा बैजापुरका शक्तिशाली जमिन्दार खेमराज श्रेष्ठलाई चुनावमा पराजित गर्दै बाँके जिल्ला पञ्चायतको सभापति बन्नुभयो । त्यतिबेला एमए गरेको शिक्षित व्यक्ति जिल्ला पञ्चायतको सभापति भएको घटना सम्भवतः नेपालकै इतिहासमा पहिलो र एकमात्र थियो । उहाँको यही बौद्धिकता र व्यक्तित्वले दरबारको ध्यान खिचेको थियो ।
२०२९ सालमा तत्कालीन युवराज वीरेन्द्र नेपालगन्ज सवारी हुँदा फत्तेह सिंह थारु जिल्ला पञ्चायत सभापति हुनुहुन्थ्यो । सभापतिको नाताले उहाँ युवराज वीरेन्द्रलाई स्वागत गर्न पुग्नुभयो । उहाँले वीरेन्द्र शाहलाई माला लगाइदिँदा फत्तेसिंह थारुको अग्लो र प्रभावशाली व्यक्तित्वलाई पैतालादेखि टुपीसम्म ध्यानपूर्वक हेर्नुभएको थियो । फत्तेह सिंह सुरुदेखि नै स्वाभिमानी स्वभावका हुनुहुन्थ्यो र चाकडी–चापुलसी गर्ने बानी उहाँमा अलिकति पनि थिएन । राजा र पञ्चायती व्यवस्थाप्रति उहाँको हृदयदेखि नै आस्था भए पनि दरबार घेरेर बस्ने भारदार, सचिव र प्रशासकहरूसँग उहाँको कहिल्यै कुरा मिल्दैनथ्यो । त्यसैले धेरै प्रशासकहरूले उहाँलाई पञ्चायत विरोधी भनेर काठमाडौँमा गलत रिपोर्टिङ गर्ने गर्दथे ।
यस्तै एउटा चर्चित घटना सुर्खेत सवारी शिविरमा भएको थियो । राजाको दर्शन भेटका लागि आयोजना गरिएको शिविरमा प्रशासकहरूले फत्तेह सिंहलाई मात्र भित्र जान दिने र उहाँसँगै आएका बाँकेका अन्य साथीहरूलाई रोक्ने प्रयास गरे । स्वाभिमानी फत्तेह सिंहले तुरुन्तै अडान लिँदै म एक्लै राजाको दर्शन गर्दिनँ भनेर अडानमा बस्नुभयो । यो अडानको चर्चा तत्कालिन राजा वीरेन्द्रको कानसम्म पुगेको थियो । त्यसपछि तत्कालिन राजा विरेन्द्रले उहाँका सबै साथीहरूसहित दर्शन भेटको अवसर मिलाउनुभयो । सोही भेटमा राजा वीरेन्द्रले फत्तेह सिंहलाई भन्नुभएको थियो, ‘पञ्चायतमा सबैलाई जसरी पनि पौडी खेल्ने सुविधा छ, तिमी पनि पञ्चायतकै सीमाभित्र बसेर आफ्नो इच्छाअनुसार पौडी खेल न ।’ राजाको यो भनाइपछि पञ्चायतका नेता र प्रशासकहरूसँग जस्तोसुकै खटपट परे पनि उहाँले पञ्चायती व्यवस्थालाई कहिल्यै त्याग्नु भएन ।
गाउँफर्क राष्ट्रिय अभियान
२०३१ सालमा राजाबाट उहाँलाई गाउँफर्क राष्ट्रिय अभियान समितिको केन्द्रीय सदस्य मनोनीत गरियो । दुई वर्ष केन्द्रीय राजनीतिमा बिताएपछि २०३३ सालमा उहाँ पुनः बाँके फर्किनुभयो र दोस्रो पटक जिल्ला पञ्चायतको सभापति चुनिनुभयो । त्यसपछि उहाँ राष्ट्रिय पञ्चायतको सदस्यको चुनाव लड्ने तयारीमा लाग्नुभयो । तर, त्यतिबेला पञ्चायतको चुनाव लड्न गाउँफर्क राष्ट्रिय अभियानको पूर्व–अनुमोदन लिनुपर्ने नियम थियो । फत्तेह सिंह राष्ट्रिय पञ्चायतमा नपुगून् भन्ने विरोधी समूहले षड्यन्त्र गरी उहाँलाई अनुमोदन नदिने निर्णय ग¥यो र उहाँको सट्टा बाँकेको रनियाँपुरका सफि अहमद खाँलाई राष्ट्रिय पञ्चायत सदस्य बनाइयो ।
यति मात्र होइन, गाउँफर्क राष्ट्रिय अभियानको केन्द्रीय समितिले उहाँमाथि अनुशासन भङ्ग गरेको अभियोग लगाएर कारबाही ग¥यो । तर फत्तेह सिंह डराउने मान्छे हुनुहुन्थेन । उहाँ तुरुन्त काठमाडौँ पुगेर गाउँफर्क अभियानका शक्तिशाली अध्यक्ष विश्वबन्धु थापाको कार्यकक्षमा छिरेर औँला ठड्याउँदै भन्नुभएको थियो, ‘थापाजी आज त कारबाही गरिहाल्नुभो, म एकदिन तपाइँकै कुर्सीमा पुग्न सक्छु यो नबिर्सिनुहोला ।’ आफूमाथि भएको अन्याय बारे उहाँले रानीपोखरीस्थित पनोरमा होटेलमा पत्रकार सम्मेलन गरेर पञ्चायती बेथितिको भण्डाफोर गर्नुभएको थियो । पञ्चायतकालमा यसरी पत्रकार सम्मेलन गरेर व्यवस्थाकै निकाय विरुद्ध बोल्नु निकै ठूलो साहसको कुरा थियो । र त्यो साहस फत्तेसिंह थारुले देखाउनु भएको थियो । त्यो घटनाको व्यापक चर्चा भयो र तत्कालिन राजा विरेन्द्र शाहको कानसम्म कुरा पुगेपछि केही समयमै उहाँको निलम्बन फुकुवा गरियो ।
२०३८ सालपछि नेपालको राजनीतिमा भएका हरेकजसो निर्वाचनमा फत्तेह सिंह थारुको प्रत्यक्ष र सक्रिय सहभागिता रह्यो । उहाँको निर्वाचन यात्रा जित र हारको रोचक सङ्गम थियो । उहाँ आफ्नो सम्पूर्ण जीवनमा पाँच पटक पराजित हुनुभयो भने तीन पटक विजयी हुनुभयो । उहाँ २०३८ र २०४३ सालको निर्वाचनमा बाँकेबाट राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित हुनुभयो भने बहुदल आएपछि २०५१ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।
उहाँले पञ्चायत काल र बहुदलीय प्रजातान्त्रिक काल गरी जम्मा सात पटक देशका महत्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हाल्नुभयो । उहाँ २०३८ सालमा सञ्चार राज्यमन्त्री, २०४४ सालमा शिक्षा तथा संस्कृति राज्यमन्त्री र २०४६ सालमा कृषिमन्त्री हुनुभयो । बहुदल आएपछि उहाँ २०५४ साल असोजमा उद्योगमन्त्री र २०५४ मंसिरमा रक्षामन्त्री हुनुभयो । उहाँले वाणिज्य लगायतका अन्य मन्त्रालयहरूको कार्यभार पनि कुशलतापूर्वक चलाउनुभयो । २०५४ सालमा रक्षामन्त्री बनेर उहाँले तराईका मूलवासी एवं रैथाने थारु समुदायबाट नेपालको रक्षामन्त्री बन्ने पहिलो व्यक्तिको रूपमा इतिहास रचना गर्नुभयो ।
राजकाज मुद्दा र कालो मोसो
फत्तेह सिंह थारुको जीवन सहज रेखामा कहिले हिँडेन । उहाँ सधैँ प्रशासनको विरोध गर्ने र जनताको पक्ष लिने स्वभावका हुनुहुन्थ्यो । यही कारणले पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य हुँदा २०४४ सालमा उहाँलाई भेरी अञ्चलाधीश नवराज गुरुङ्ले राजकाज मुद्दा लगाएर थुन्नुभएका थियो । तर राजकाज मुद्दामा जेल परेका उहाँ छोटो समयमा रिहा भएको थियो । त्यो मुद्दा लगाएको दुई वर्षभित्रै तत्कालीन राजा वीरेन्द्रले उहाँलाई कृषिमन्त्री नियुक्त गर्नुभएको थियो । त्यो घटनाले पनि त्यतिबेला निकै चर्चा पाएको थियो । फत्तेसिंह थारुमा के त्यस्तो जादु छ कि पटकपटक उहाँले पञ्चायतको विरोध गर्नुहुन्थ्यो तर तत्कालिन राजा विरेन्द्रले उहाँलाई पटक पटक पुरस्कृत गरेको देखिन्छ । यो कुरा देशैभर चर्चाको विषय बनेको थियो ।
२०४६ सालको परिवर्तनपछि २०४७ साल बैशाखमा उहाँलाई ‘मण्डले’ भनेर आन्दोलनकारीले कालो मोसो दलेर र जुत्ताको माला लगाएर नेपालगञ्जको बजार घुमाएका थिए । कुनै पनि नेताका लागि यो अत्यन्तै मर्मघाती क्षण हुन सक्थ्यो, तर उहाँ अलिकति पनि विचलित हुनुभएन । उहाँले त्यही दिन त्यहाँको त्रिभुवनचोकमा कालो मोसो दलेको अनुहार नपखालिकनै भाषण गर्दै भन्नुभएको थियो, ‘म छिटै फूलमाला लगाएर यही ठाउँमा आइपुग्ने छु ।’ नभन्दै त्यसको ठीक चार वर्षपछि २०५१ सालको प्रतिनिधि सभा चुनाव जितेर उहाँ विजयको फूलमाला पहिरिएर पुनः त्यही चोकमा भाषण गर्न पुग्नुभएको थियो । २०५१ सालमा बाँकेका तीनै क्षेत्रमा उहाँको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेर नयाँ कीर्तिमान कोरेको थियो ।
२०४६ सालको परिवर्तनपछि उहाँ निरन्तर रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहनुभयो । उहाँले पार्टीको सङ्गठन निर्माण र सिद्धान्तप्रति कहिल्यै सम्झौता गर्नुभएन । फत्तेह सिंह थारु ती विरलै नेताहरूमध्ये पर्नुहुन्छ, जसले राजनीतिबाट केही कमाएका होइनन्, उल्टै आफ्नो घर–जग्गा र सम्पूर्ण पैतृक सम्पत्ति राजनीतिमै सिद्ध्याउनु भएको छ । देशमा चलेको सशस्त्र माओवादी द्वन्द्वका क्रममा थपुवा गाउँमा रहेको उहाँको पैतृक घर माओवादीले भत्काइदिएपछि उहाँ नेपालगञ्जको घरबारी टोलस्थित निवासमा सामान्य र सादगी जीवन बिताउँदै आउनुभएको थियो ।
व्यक्तित्व, सिद्धान्त र योगदानको मूल्याङ्कन
पहिले पञ्चायती व्यवस्था र पछि राप्रपामा लागेर राजनीति गर्नुभएका फत्तेह सिंह थारु आफ्नो राजनीतिक जीवनमा सधैँ विद्रोही नै रहनुभयो । तर उहाँले आफ्नो सैद्धान्तिक धरातल र राष्ट्रवादी कित्तालाई कहिल्यै पनि छाड्नु भएन । २०४७ सालको जनआन्दोलनका क्रममा सार्वजनिक अपमानसमेत सहनुपरे पनि उहाँ राजनीतिबाट विचलित हुनुभएको थिएन । राजनीतिमा लागेर आफ्नो सबै सम्पत्ति सक्ने स्वच्छ चरित्रको नेताका रूपमा उहाँलाई सबैले उत्तिकै श्रद्धा र आदर गर्नुहुन्थ्यो । उहाँको स्पष्ट अभिव्यक्ति, स्वाभिमानी व्यक्तित्व, विद्रोही चेत र बाँकेको विकासमा पु¥याउनुभएको अतुलनीय योगदानका कारण उहाँ नेपाली राजनीतिमा सदैव स्मरणीय व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ ।
निधन र श्रद्धाञ्जली
जीवनभरि अनेकौँ राजनीतिक उतारचढाव, निलम्बन, जेलनेल, जनआन्दोलनको अपमान र द्वन्द्वको क्षतिलाई डटेर सामना गर्नुभएका बाँकेका प्रतिष्ठित सामाजिक तथा राजनीतिक व्यक्तित्व फत्तेह सिंह थारुको ८८ वर्षको उमेरमा असार ३२ गते निधन भयो । नेपालगन्जको घरबारी टोलस्थित निवासमा हृदयघात भएपछि उहाँलाई उपचारका लागि वेस्टर्न अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको हो । उहाँको निधनप्रति राजनीतिक तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । त्याग, निष्ठा र स्वाभिमानले भरिएको उहाँको जीवन यात्रा नेपाली राजनीतिका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ ।
(सहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया