माओवादीको राष्ट्रिय सम्मेलनमा मधेशबाट क–कसले गर्दै प्रतिस्पर्धा ?

काठमाडौँ पुस ११ गते । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयनको कुरा भइरहेको छ । सबैले आआफ्नो दावी आन्तरिक रुपमा गरेपनि कोही पनि खुलेर आएका छैनन् । मधेशबाट पनि पदाधिकारीका लागि दावी गर्नेहरु थुप्रै देखिएका छन् । यसपटक केन्द्रमा मातृका यादव र रामेश्वर राय यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

मातृका यादव उपाध्यक्षका लागि भित्रैभित्रै तयारी गरिरहनु भएको छ भने उता रामेश्वर राय यादव पनि उपाध्यक्षको दावी गरिहनु भएको छ । उहाँलाई उपाध्यक्षमा नभए सचिवसम्ममा बस्ने तयारी रहेको बुझिएको छ । त्यस्तै विश्वनाथ साह पनि सचिवकै लागि तयारी गरिरहेका छन् तर उहाँ खुल्नु भएको छैन । गणेश साह पनि उपाध्यक्षकै उम्मेदवार हुनुहुन्छ तर उहाँ आफूले पार्टीमा कुनै पद नमाग्ने दावी गर्नुभयो ।

महेन्द्र पासवान पनि उपाध्यक्ष नभए सचिवको दावेदार। हुनुहुन्छ । उहाँहरु भित्रभित्रै पदाधिकारीमा दावी गरेपनि औपचारिक घोषणा गर्नुभएको छैन । चुनाव हुने सम्भावना कम देखिएको हुनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लिस्टमा को पर्छन् त्यसको फिराकमा नेताहर रहनु भएको छ । प्रचण्डले जसलाई चाहन्छ त्यो मधेशबाट पदाधिकारीमा आउने सम्भावना रहेका हुनाले अहिले मधेशी नेताहरु प्रचण्डका नजिक हुन चाहेका छन् । मधेश अर्थात प्रदेश २ मा नारायणकाजी श्रेष्ठ र मातृका यादवबीच प्रतिस्पर्धा रहेको छ । यी दुई गुटमा मधेशका माओवादी नेताहरु बाँडिएका छन् ।

यी दुवै गुटमा नरहेका नेताहरु सबै प्रचण्ड निकट रहनु भएको छ । त्यसमा रामकुमार शर्मा, अजय नायक, उमेश यादव, रामेश्वर राय यादवलगायतका छन् । माओवादीका लागि मधेस शक्तिको ठूलो केन्द्र हो । त्यसैले मधेसबाट माओवादी केन्द्रको केन्द्रिय समितिमा प्रतिनिधित्व चाहने आकांक्षी धेरै छन् । पदाधिकारीमा जानेबाहेक केन्द्रीय सदस्यमा जानेको सँख्या अझै धेरै छन् । यद्यपी प्रदेश २ माओवादीका लागि सधै विवादको केन्द्र विन्दु रह्यो ।

हालसम्म त्यहाँ अधिवेशन भएको छैन । राष्ट्रिय सम्मेलनपछि अधिवेशन गर्ने भएको छ । अहिले प्रत्येक जिल्लाबाट दिएको सँख्याका आधारमा १२६ जना केन्द्रीय प्रतिनिधि बनाउने कुरा भएको छ । तर को को प्रतिनिधि हुने अझै टुगों लागेको छैन ।

हालसम्म माओवादी केन्द्रको पदाधिकारीमा कोही पनि मधेसी पुग्न सकेका छैनन् । प्रदेश २ बाट गिरिराजमणि पोखरेल सचिवसम्म भए तर मधेसी अनुहार भएका कोही पनि मधेसी पदाधिकारीमा जान सकेनन् । यसपटक भने माओवादीमा रहेका मधेसका शीर्ष नेताहरूले उपाध्यक्षदेखि सचिवसम्मको अपेक्षा गरेका छन् ।

प्रदेश २ को प्रदेशसभामा आठ जना प्रदेशसभा सदस्य छन् भने प्रतिनिधिसभामा त्यहाँबाट मातृका यादव, सुरेशचन्द्र दास यादव, रामेश्वर राय यादव, बोधमाया यादव, इन्दु शर्मा, गिरिराजमणि पोखरेल र दिलकुमारी साह गरी सात जनाले प्रतिनिधित्व गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया