सहारा टाइम्स
काठमाडौँ असोज ५ गते
उपराष्ट्रपति रामसहाय प्रसाद यादव नेपालका लागि चीनका महामहिम राजदूत चाङ माओमिङले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायतका विषयमा विचार–विमर्श भएको थियो ।
उपराष्ट्रपति यादवले भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु, सम्पत्ति र पूर्वाधारमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालस्थित चीनका राजदूत चाङ माओमिङमार्फत महामहिम उपराष्ट्रपति हान झेङलाई गहिरो समवेदना प्रकट गर्नुभयो । भेटमा उपराष्ट्रपति यादवले जनवादी गणतन्त्र चीनको ७७औं स्थापना दिवसमा महामहिम उपराष्ट्रपति झेङलाई हार्दिक बधाई दिँदै उहाँको सुख, सुस्वास्थ्य तथा मित्रवत् चिनियाँ जनताको शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भोटेकोशी बाढीले जीवन, सम्पत्ति मात्र नभई हजारौं परिवारको सपना, संस्कृति तथा प्राकृतिक सम्पदालाई समेत प्रभावित बनाएको छ । पूर्वाधार पुनर्निर्माण सम्भव भए पनि प्रभावितहरूको विश्वास पुनःस्थापित गर्न दशकौं लाग्न सक्छ ।’ उहाँले यस विपत्तिले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदाहुँदै पनि नेपाल अत्यन्त प्रभावित मुलुक भएको तथ्यलाई पुनः पुष्टि गरेको उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले नेपाल–चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, परम्परागत मित्रता तथा आपसी सम्मानमा आधारित रहेको स्मरण गर्दै नेपाल ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।
उहाँले आकस्मिक विपत्तिपछि चीनबाट पाँच चरणमा प्राप्त मानवीय राहत सहयोग, उद्धारमा संलग्न नौ सदस्यीय सुरुङ उद्धार टोली तथा मृतकहरूको पहिचानका लागि सहयोग पुर्याइरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति आभार व्यक्त गर्नुभयो । साथै, चीन सरकारद्वारा उपलब्ध गराइएको २० लाख अमेरिकी डलर सहयोग तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थप दुई लाख अमेरिकी डलर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवले हिमनदी, जलविज्ञान तथा मौसमसम्बन्धी वास्तविक समयको तथ्याङ्क उपलब्ध गराएकोमा चीन सरकारप्रति घन्यवाद व्यक्त गर्दै यस किसिमको आदान–प्रदान भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
चीनका महामहिम राजदूत चाङ माओमिङले बाढी पहिरोले गरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै प्राकृतिक विपत्ति नेपाल र चीनको साझा विषय भएको बताउनु भयो । ‘नेपाललाई यस संकटको घडीमा चीनले आर्थिक, स्वास्थ्य र मानवीय सहयोग गरेको छ ’ उहाँले भन्नुभयो, ‘ नेपालमा पुननिर्माणमा चीनको ठूलो सहयोग र समर्थन रहने छ । नेपालबाट सहयोग सूची प्राप्त भए बमोजिम सहयोग गर्न चीन तयार छ । यस संकटको घडीबाट नेपाल छिट्टै बाहिर निस्किने छ ।’राजदूत माओमिङले बाढी पहिरोबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुका लागि एक करोड तीस लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा चीन सरकारले गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया