Khadya Bibhag

राउतलाई ओली र महतोको ‘ब्याकअप’

सिके राउत नेतृत्वको जनमत पार्टीले तराई मधेशमा आन्दोलन गरिरहेको छ । त्यो आन्दोलनको नाम किसान आन्दोलन दिएको छ । पुस ६ गते सिरहाको औरही गाउँपालिकामा गोदाममा राखिएको गहुँको बीउ त्यहाँका स्थानीय किसानले लुटेर लगेपछि विकास भएको घटनाक्रमका आधारमा जनमत पार्टीले आन्दोलन सुरु गरेको हो । गोदामबाट बीउ लुटेर लगेपछि गाउँपालिकाले केही व्यक्तिमाथि मुद्दा दायर गरेको थियो । त्यसको आधारमा एकजनालाई प्रहरीले पक्राउ पनि गरेको थियो । जनमत पार्टीले त्यसैको निहुँमा आन्दोलन सुरु गरेको थियो ।

यसअघि जनकपुरमा एकजना कर्मचारीलाई कालोमोसो दलेपछि विकसित घटनाक्रमको आधारमा सिके राउतले लामो समयसम्म आन्दोलन गर्नुभएको थियो । तर त्यो आन्दोलनले राम्रो नतिजा दिएन । आफै सेलाएर गएको थियो । त्यसपछि के विषयमा आन्दोलन चर्काउने भनि निहुँ खोजिरहेको जनमत पार्टीका लागि सबभन्दा राम्रो मसला प्राप्त भयो किसान । स्थानीय तहबाट सुरु भएको किसान आन्दोलनलाई त्यो पार्टीले राजमार्ग केन्द्रीत गर्यो । आन्दोलनलाई विभिन्न रुपमा चर्काउदै गयो । त्यसले धनजनमा क्षति पनि पुर्यायो । यो समाचार तयार पर्दासम्म आन्दोलन जारी नै छ । पुस ३० गते तराई मधेशमा गरेको किसान र्यालीले निकै सो महार्याली निकै प्रशंसा पायो । तर त्यही बीचमा जनमत पार्टीमाथि विभिन्न शंकाहरु उब्जाएका छन् ।

किसानको मुद्दालाई मुख्य मुद्दा बनाएर आन्दोलन गरिरहनु भएको जनमत पार्टीका अध्यक्ष सिके राउतलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको पनि साथ रहेको छ ।

लोसपाका वरिष्ठ नेता महतोले विज्ञप्ति जारी गरेर नै सिके राउतको आन्दोलनलाई समर्थन जनाइ सक्नु भएको छ । यता, एमालेले हालसम्म कुनै आधिकारिक कुरा बाहिर नल्याए पनि आन्तरिक रुपमा सो आन्दोलनलाई सहयोग गर्दै आइरहेको छ । तराई मधेशमा सिके राउतले गरिरहनु भएको किसान आन्दोलनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै प्रकारको सहयोग गरिरहेको सो पार्टीका एक नेताले बताउनुभयो । तराई मधेशमा सिके राउत नेतृत्वको जनमत पार्टी बलियो भएपछि आउँदो चुनावमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको मात्र भोट काट्छ । तराई मधेशमा सिके राउतको पार्टी जनमत बलियो हुनु भनेको जसपा र लोसपा कमजोर हुनु हो । जसपा र लोसपा जतिजति कमजोर हुन्छ । त्यसबाट काँग्रेस, एमाले र माओवादी केन्द्रलाई मात्र फाइदा हुन्छ । अहिले एमाले पार्टी मधेशमा निकै कमजोर छ । मधेशवादी दल कमजोर भएपछि त्यसको फाइदा एमालेलाई हुने बुझाई अध्यक्ष ओलीको रहेको छ ।

त्यही भएर उहाँले आन्तरिक रुपमा सिके राउतलाई साथ दिन थाल्नु भएको बताइएको छ । एमालेका अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेला अलग मधेशका लागि आन्दोलन गरिरहनु भएका सिके राउतलाई मुलधारको राजनीतिमा ल्याउनु भएको थियो । त्यो बेलादेखि उहाँ दुवैजनाको बीचमा राम्रो दोस्ती भएको छ । सम्भवतः अगामी चुनावमा तराई मधेशमा जनमत पार्टी र एमालेबीच गठबन्धन पनि हुनसक्ने जनमत पार्टीका एक पदाधिकारीले बताउनुभयो । त्यही भएर सिके राउतले आन्दोलनको क्रममा होस् वा आफ्नो भाषणको क्रममा होस् एमाले तथा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको कहिले विरोध गर्नुहुन्न ।

यता, एमाले अध्यक्ष अ‍ोली र लोसपाका वरिष्ठ नेता महतोबीच पुरानो दोस्ती छ । त्यही दोस्तीका कारण अहिले नेता महतोले सिके राउतले गरिरहनु भएको आन्दोलनलाई समर्थन गर्नुभएको छ । अगामी दिनमा तराई मधेशमा एमाले र लोसपाको गठबन्धन बन्ने सम्भावना पनि त्यतिकै रहेको छ । त्यसका लागि नेता महतोले प्रयास पनि गरिरहनु भएको छ । अगामी चुनावमा यी जनमत सहित नभए एमाले र लोसपाबीच चुनावी गठबन्धन बन्ने सम्भावना धेरै रहेको छ र अहिलेदेखि नै महतोले प्रयास थाल्नु भएको लोसपाका एक नेताले बताउनुभयो ।
-सहारा टाइम्स पत्रिकाबाट केही अपडेटसहित

तपाईको प्रतिक्रिया