पार्टीमा एक्लिदै सिद्धार्थ यादव, चुनाव जित्नलाई छ चुनौती

सिरहा, वैशाख १७ गते । नेकपा माओवादी केन्द्रका औरही गाउँपालिका अध्यक्ष उम्मेदवार सिद्धार्थ यादव पार्टीमा एक्लिदै जानु भएको छ ।
गत चुनावमा जनता समाजवादी पार्टी नेपालबाट ६ मत बढी ल्याएर चुनाव जित्नु भएका सिद्धार्थ यादवले ठूलो मेहनतले यसपटक पनि पार्टीबाट टिकट पाउनु भएको छ । तर उहाँले टिकट पाएपनि गाउँपालिकामा उहाँकै पार्टीका कार्यकर्ता तथा नेताहरुले साथ छाडेका छन् । कोही घोषित रुपमा साथ छाडेका छन् भने कोही ओघोषित रुपमा उहाँको साथ छाडेका छन् ।

जमिन्दार परिवारका सिद्धार्थ यादव औरही गाउँपालिकामा बस्दैनन् । उहाँको घर सो गाउँपालिकामा भएपनि उहाँको बसाई सिरहाको लहानमा छ । उहाँको जन्म, लालन पालन, शिक्षा सबै लहानमा नै भयो । उहाँ गत निर्वाचनमा केही दिन पहिले मात्र माओवादी केन्द्रबाट टिकट लिएर चुनाव लड्नु भएको थियो । ६ मतले उहाँले चुनाव जित्नुभयो । चुनाव जितेर फेरि उहाँ गाउँपालिका भन्दा २५–३० किलोमिटर टाढा रहेको लहानमा नै बस्न थाल्नुभयो ।

उहाँले त्यहाँ गाउँपालिकाको अस्थायी कार्यालय पनि सञ्चालन गर्न थाल्नुभयो । औरही गाउँपालिका आकल झुकल मात्र आउनु हुन्थ्यो । त्यसले गर्दा माओवादी पार्टीका कार्यकर्ता तथा नेताहरुदेखि लिएर अन्य स्थानीय जनता उहाँप्रति निकै रुष्ट थिए ।

पाँच वर्षसम्म उहाँले गाउँमा जनताले अनुभूति गर्ने गरी कुनै पनि काम नगरेको गुनासो सुन्न पाइन्छ । फेरि त्यही व्यक्तिलाई पार्टीले पुनः टिकट दिएकोमा पार्टीका नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएको माओवादी केन्द्रका स्थानीय नेता भोला यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिद्धार्थ यादव काँग्रेसबाट आएर माओवादीबाट टिकट लिएर चुनाव जित्नु भयो, उहाँ धनीमनी जमिन्दार परिवारका छोरा हुनुहुन्छ उहाँ भ्रष्टाचार गर्नुहुन्न जनताका लागि मात्र काम गर्नुहुन्छ जस्तो लागेको थियो तर ती सबै उल्टो भयो ।’

सिद्धार्थ यादव विकास निर्माणक कार्य गर्दा आफ्नै परिवारका सदस्यहरुलाई उपभोक्ता समिति बनाएर कमिशन खाएको धेरै उदाहरणहरु पाइन्छ । आफ्नै नातागोता तथा परिवारका सदस्यलाई उपभोक्ता समितिमा राखेर भ्रष्टाचार गर्नुको साथै गाउँपालिकामा समेत आफ्ना परिवारका सदस्यहरुको मात्र हालीमुहाली राख्नु भएको थियो । उहाँ आफै लहान बसेपनि औरही गाउँपालिकाको कार्यालयमा उहाँका परिवारका कोही सदस्य बस्नु हुन्थ्यो ।


पाँच वर्ष अवधिमा उहाँले पार्टीका कुनै पनि कार्यकर्ता तथा नेतासँग कुनै पनि प्रकारको सल्लाह सुझाव तथा छलफल नगरेको माओवादी केन्द्रका स्थानीय नेता रामकुमार यादव बताउँनुहुन्छ । उहाँ माओवादी केन्द्रका नेता भएपनि अहिले निस्कृय हुनुभएको छ । उहाँलाई सिद्धार्थ यादवले अहिले पनि कुनै सोधखोज गर्नुभएको छैन । त्यस्तै, स्थानीय नेता रामपृत यादव पनि उहाँको पार्टी छाड्नु भएको हो । उहाँ गाउँपालिका अध्यक्ष हुँदा कहिले पनि कुनै सल्लाह वा छलफल गर्नुभएको थिएन । पार्टीमा पनि कुने वास्ता गर्नुभएन अनि बाध्य भएर रामपृत यादव, नथुनी यादवलगायतका थुप्रै नेताहरु माओवादी छाडेर जसपामा गइसक्नु भएको छ ।

सिद्धार्थ यादवसँग अहिले उहाँका परिवारका सदस्य र केही युवाहरुलाई आफ्नो कार्यकालमा जागिर दिनुभएको थिए । उनीहरु सिद्धार्थको साथमा देखिएको छ । त्यसबाहेक नेता तथा कार्यकर्ताहरु देखिएको छैन । उहाँकै नजिकका नेता तथा कार्यकर्ताहरुले भन्ने गरेको छ, सिद्धार्थ यादव पैसाको बलमा चुनाव जित्छ ।’

गाउँपालिका अध्यक्षका लागि माओवादी केन्द्रका नेता जीवछ यादव दावेदार हुनुहुन्थ्यो । माओवादी केन्द्रमा स्वच्छ छवी र इमान्दार नेताको रुपमा चिनिएका जीवछ यादवले टिकटका लागि निकै प्रयास गर्नुभएको थियो । सिद्धार्थको शक्ति र समाथ्र्यको अगाडि उहाँको केही चलेन । अहिले जीवछ यादव पनि असन्तुष्ट छन् । जीवछ यादवले टिकट नपाएपछि उहाँका आमाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जीवछ यादवको आमाले स्वतन्त्र उम्मेदवारी दिएपछि सिद्धार्थ यादवलाई झन भारी परेको छ ।

औरही गाउँपालिका वडा नम्बर पाँचका लागि काँग्रेसका नेता विरेन्द्र यादवलाई टिकट दिनुभएको छ । विरेन्द्र यादव हालसम्म नकाँग्रेस पार्टी परित्याग गर्नुभएको छ न माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँले विरेन्द्र यादवलाई जवर्जस्ती टिकट दिन लगाएका कारणले पनि पार्टीका नेता तथा कार्यकर्ताहरु असन्तुष्ट छन् । माओवादी केन्द्रका एक नेताले भने, सिद्धार्थ यादवले आफै पुरानो काँग्रेस हुनुहुन्छ, उहाँका काका सुरेशचन्द्र दास यादव पनि काँग्रेसबाट आएर टिकट लिएर सांसदमा चुनाव जित्नु भएको छ । अहिले काँग्रेसका विरेन्द्र यादवलाई माओवादीबाट वडा अध्यक्षको टिकट दिनुभएको छ, यसबाट प्रष्ट हुन्छ कि सिद्धार्थ यादवको मिसन के हो ।’

गाउँपालिकामा माओवादी केन्द्रका थुप्रै नेता तथा कार्यकर्ता छन् जो जनयुद्धकालदेखि पार्टीमा लागेका छन् तर सिद्धार्थ यादवले विस्तारै सबैलाई किनारा लगाउँदै काँग्रेसीहरुको बर्चस्व बनाउँदै जानु भएको छ । त्यसले गर्दा माओवादी केन्द्रका नेताहरुले पार्टीको भविष्यप्रति चिन्तित देखिएका छन् ।

सिद्धार्थ यादवकै क्रियाकलापका कारण चुनाव नजित्ने हो कि चिन्ता पार्टीका नेताहरुमा देखिएको छ । त्यहाँ जनता समाजावादी पार्टीका शिवजी यादव, काँग्रेसका सुवाष यादव, एमालेका विरेन्द्र यादवले अध्यक्ष पदमा उम्मेदवारी दिनुएको छ ।

प्रतिस्पर्धा जसपा र माओवादी केन्द्रको बीचमा देखिएको छ । माओवादी केन्द्रका धेरै नेताहरु जसपामा प्रवेश गरेको कारण जसपा चुनाव जित्ने हो कि धेरैतिर आँकलन भइरहेको छ । जसपा गत चुनावमा ६ मतले चुनाव हारेको थियो । यसपटक सो पार्टीले निकै मेहनत गरेको छ । तर माओवादी पार्टीभित्रै अन्तरद्वन्द सुरु भएको छ । पार्टीभित्रकै नेता तथा कार्यकर्ताहरु सिद्धार्थ यादवको विरुद्ध प्रचार प्रसार गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया