Khadya Bibhag

भारतीय राष्ट्रपति द्रौपदी: नगरपञ्चायतको पार्षददेखि राष्ट्रपतिसम्म

साउन ९ गते भारतको संसदीय भवनामा ६४ वर्षीय द्रौपदी मुर्मुरले १५ औं राष्ट्रपतिको रुपमा सपथ खाँदै भन्नुभयो, ‘मेरो लागि निकै खुशीको कुरा हो कि जो शताब्दीयौंदेखि वञ्चित थिए, जो विकासको लाभ भन्दा टाढा थिए, ती गरिब, दलित, पिछडा वर्ग तथा आदिवासीमा म आफ्नो प्रतिबिम्व देख्छु । मेरो यस चुनावमा देशका हरेक गरिबको आशिर्वाद सामेल छ, देशका करोडौं महिला तथा छोरीको सपना र समाथ्र्यको झलक हो ।’ उहाँलाई भारतका मुख्य न्यायधिश एनवी रमनाले सपथग्रहण गराउनुभयो ।

सपथपछि यो कुरा भनेर देशका सम्पूर्ण आदिवासी, जनजाति, महिला, दलित र पिछडा वर्गको मन जित्नुभयो । उहाँलाई भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । भारतको यो दोस्रो महिला राष्ट्रपति हुनुहुन्छ । तर आदिवासीबाट उहाँ पहिलो महिला हुनुुहुन्छ । र उहाँ अहिलेसम्मका सबभन्दा कम उमेरका राष्ट्रपति पनि हुनुहुन्छ । भारत जस्तो देश जहाँ धर्म र उच्च जातप्रति सधै सहानुभूति राख्छ त्यहाँ आदिवासीबाट राष्ट्रपति बनाइएको छ । यसले विश्वमै एउटा सन्देश दिएको छ । द्रौपदी मुर्मुले राष्ट्रपतिमा चुनाव जितेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, ‘द्रौपदी मुर्मु एक असाधारण विधायक र मन्त्री रही सक्नु भएको छ । झारखण्डको राज्यपालको रुपमा उहाँको कार्यकाल सफल रह्यो । मलाई थाह छ कि उहाँ उत्कृष्ट राष्ट्रपति हुनुहुनेछ र अगाडी बढेर नेतृत्व गर्नुहुन्छ र भारतको विकास यात्रालाई बलियो बनाउनु हुनेछ ।’

राष्ट्रपतिका लागि भएको चुनावमा मुर्मुले छलाख ७६ हजार ८०३ अर्थात ६४.०३ प्रतिशत मल ल्याउनु भएको थियो भने त्यही उहाँका प्रतिद्वन्दी यशवंत सिन्हाले तीन लाख ८० हजार १७७ अर्थात ३५.९७ प्रतिशत मत ल्याउनु भएको थियो । द्रौपदीले यहाँसम्मको यात्रा सहज थिएन । झारखण्ड राज्यको मयुरभञ्ज जिल्लाको एक पिछडिएको गाउँ जहाँबाट उहाँको संघर्ष सुरु भएको थियो । उहाँको मध्यम परिवार थियो । उहाँका हजुरबुवा गाउँको मुखिया तथा समाजसेवी हुनुहुन्थ्यो । पछि उहाँको बुवा पनि आफ्नो गाउँ समाजको सेवामा रहनु भयो, मुखियासम्म बन्नुभएको थियो ।

आदिवासी परिवारका भएका कारणले समाजमा एक प्रकारको अवहेल्ना छँदै थियो त्यसबीचमा पनि उहाँले आफ्नो पहिचान बनाउनुभयो । पिछडिएका गाउँका एक महिला, त्यसमा पनि आदिवासी (सन्थाल) । त्यसले गर्दा उहाँलाई राजनीतिमा कति संघर्ष गर्नु परेको होला सहजै अनुमान गर्न सकिन्छ । एक प्रकारले उहाँ समाजबाट विद्रोह गरेर नै अध्ययनका लागि बाहिर जानु भएका थियो, जहाँ महिलालाई पढ्न एक प्रकार बन्देज नै थियो । गाउँमै प्रारम्भिक शिक्षा लिएर शहरमा गएर उच्चा शिक्षा लिनुभएका द्रौपदी सबभन्दा कनिष्टबाट आफ्नो जागिर सुरु गर्नुभएको थियो । राजनीतिमा पनि उहाँ गाउँको समान्य पार्षदबाट आफ्नो राजनीति यात्रा तय गर्नुभएको थियो । र, आज उहाँ भारत जस्तो विशाल देखको राष्ट्रपति जस्तो गरिमामय पदमा जानुभयो ।

जीवनमा उहाँले जे जे दुख झेल्नु भयो, सायद त्यस्तो दुख अरुको जीवनमा नआएको होला । तैपनि उहाँले आफूलाई सुरुदेखि नै सम्हाल्नुभयो । उहाँका परिवार भरिभराउ थियो । आमा बुवा, भाइ, श्रीमान, छोरा छोरी सबै थिए उहाँसँग तर एकएक गरि सबैले उहाँलाई छाडेर गए । एकपटक त उहाँ डिप्रेशनमा पनि जानु भएको थियो । डिप्रेशबाट बच्नका लागि उहाँ ब्रहमयोग संस्थानमा गएर अध्यात्मतिर लाग्नुभयो । आमा, बुवा, श्रीमान, भाइ, दुईजना छोराको लगातार निधनले उहाँ विक्षिप्त भइसक्नु भएको थियो । तैपनि उहाँले आफूलाई सम्हाल्नुभयो । उहाँले औपचारिक शिक्षामा मात्र होइन, आफ्नो आन्तरिक तथा बाह्य जीवनमा पनि ठूलो परीक्षा दिनुभयो तर सबैमा उहाँ उच्च अंकले पास गर्नुभयो ।

र आज राष्ट्रपति पदमा आसिन हुनुभएको छ । भरिभराउ परिवारमा विस्तारै उहाँ एक्लै हुनुभएको थियो । साथमा छोरी भएपनि उहाँको विहे भइसकेको थियो । पटक पटक विधायक, राज्यमन्त्री राज्यपाल बनिसक्नु भएका द्रौपदीले राजनीतिबाट सन्यास लिने मनस्थिथीमा पुगि सक्नु भएको थियो । उहाँ राजनीतिक तथा अन्य सार्वजनिक जीवनमा निकै कडा मानिनु हुन्थ्यो । उहाँलाई चित्त नबुझेको कुरा गर्नु हुन्थेन । त्यसको तत्कालै विरोध गर्नुहुन्थ्यो । गलत कामका लागि उहाँमाथि जस्तोसुकै दवाव आएपनि गर्नुहुन्थेन । त्यसले गर्दा उहाँ बेलाबेला चर्चामा आउनु हुन्थ्यो । उहाँ कल्र्कको कर्मचारी होस् या शिक्षिका अथवा मन्त्री अथवा विधायक र कभर्नर किन नहोस्, अनुशासन र सुशासनमा निकै कडा हुनुहुुन्थ्यो सायद त्यही कारणले आदिवासीबाट उहाँ पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभयो ।

मुर्मुको जन्म भारतको उडिसा राज्यको मयुरभन्ज जिल्लाको बेदापोसी गाउँमा सन १९५८ जुन २० तारेखका दिन आदिवासी सन्थाल परिवारमा भएको हो । मुर्मुको बुवाको नाम विरांची नारायण टुडुको हो भने उहाँको आमाको नाम किनगो टुडु हो ।

उहाँका हजुर बुवा र बुवा पनि गाउँको मुखिया हुनुहुन्थ्यो । त्यहीबाट उहाँलाई राजनीतिक ज्ञान प्राप्त भएको हो । उहाँको प्रारम्भिक शिक्षा उहाँकै गाउँ उपरबेडामा भएको थियो । त्यहाँ उहाँले सात कक्षासम्म पढ्नु भयो तर उहाँ कुन स्कूलमा प्रारम्भिक शिक्षा लिनुभयो त्यसको नाम बाहिर आएको छैन । त्यसपछि उहाँले भुवनेश्वरको युनिट टु स्थित आदिवासी बालिका आवासीयबाट मैट्रिक पास गर्नुभयो ।

त्यसपछि त्यहीबाट इन्टरमेडियट पनि गर्नुभयो । त्यो गाउँको उहाँ एक्लो त्यस्तो महिला हुनुुहुन्थ्यो जो पढ्नका लागि गाउँ छाडेर भुवनेश्वर शहर जानु भएको थियो । त्यतिबेला उहाँका निकै टिकाटिप्पणी भएको थियो तर उहाँले त्यसको केही प्रवाह गर्नु भएको थिएन । उहाँले रमा देवी महिला युनिवर्सिटी भुवनेश्वरबाट सन् १९७९ मा कलामा ग्रेजुएशन (स्नातक) गर्नुभएको थियो । आफ्नो गाउँमा स्नातक पास गर्ने पहिलो महिला बन्नुभयो । त्यसपछि उहाँ अगाडि पढ्नु भएन । राजनीति, घरपरिवारमा नै उहाँ व्यस्त हुनुभयो ।

कलेजको पढाई सकाएपछि उहाँले सन् १९८३ उडिसा सरकारको सिँचाई विभागको कलर्कको जागिर गर्नुभयो । यद्यपी घरको अवस्थाको कारण उहाँले त्यो जागिर छाड्नु भयो । भनिन्छ, उहाँले आफ्नो छोराछोरीको देखभालका लागि जागिर छाड्नु भएको थियो । त्यसपछि उहाँ आफ्नो ससुराल जानुभयो । उहाँ घरमा बसेपनि अध्ययनलाई कायम नै राख्नुभयो । पछि उहाँले सन् १९९४ देखि १९९७ सम्म अरविन्दो इन्टोग्राल एजुकेशन सेन्टर रायरांगपुर शिक्षिकाको रुपमा पनि काम गर्नुभयो । तर भनिन्छ, त्यहाँबाट उहाँले कुनै तलब, सुविधा लिनुभएन । समाज सेवाको नाममा त्यहाँ पढाउनु भएको थियो ।

राजनीतिक यात्रा
सन् १९९७ मा उहाँले भारतीय जनता पार्टीको साथमा राजनीतिमा पाइला चाल्नुभयो । उहाँ रायरंगपुर नगरपंचायतको पार्षदबाट राजनीतिक यात्रा सुरु गर्नुभयो । सन् २००० को विधानसभा चुनावमा जितेपछि उहाँ २००२ देखि २००४ सम्म उडिसाको यातायात, वाणिज्य, मत्स्य पालन, पशुपालन राज्यमन्त्री भएर काम गर्नुभयो । सन् २००४ मा पुनः रायरंगपुर क्षेत्रको एमएलए बन्नुभयो ।

भाजपा अनुसूचित जनजाति मोर्चाको उपाध्यक्ष पछि उहाँ मयुरभंजमा भाजपाको जिल्ला अध्यक्ष पनि हुनुुभयो । सन् २००६ देखि २००९ सम्म भाजपा अनुसूचित जनजाति मोर्चाको प्रदेश अधयक्ष भएर पनि काम गर्नुभयो । सन् २००७ मा उहाँलाई उडिसा विधानसभाद्वारा सर्वश्रेष्ठ विधायकका लािग ‘निलकण्ठ पुरस्कार’ बाट सम्मानित गरियो । उहाँले सक्रिय राजनीतिक त्यागेर सन् २०१५ देखि २०२१ सम्म झारखण्डको पहिलो महिला गभर्नर हुनु भएको थियो । सन् २०२२ मा भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपतिको लागि उहाँले उम्मेदवारी दिनुभयो र उहाँ विजय पनि हुनुभयो ।

द्रौपदीको विवाह श्यामचरण मुर्मुसँग भएको थियो । उहाँ बैंकको म्यानेजर हुनुहुन्थ्यो । जसको स्वर्गवास भइसकेको छ । द्रोपतीको तीनजना छोराछोरी थिए । जसमध्ये दुईजना छोराको छुट्टा छुट्टै दुर्घटनामा निधन भइसकेको छ । उहाँसँग उहाँका छोरी इतिश्री मुर्मु हुनुहुन्छ । इतिश्री पनि बैंकका कर्मचारी हुनुहुन्छ ।

मुर्मुको प्रेम कहानी
रामदेवी महिला कलेज भुवनेश्वर उडिसामा उहाँ अध्ययन गर्ने बेला उहाँको भेट श्यामचरण मुर्मुसँग भयो । चिनजानको क्रम कतिबेला प्रेममा परिवर्तन भयो उहाँहरुलाई थाहै भएन । श्यामचरणले द्रौपदीलाई विवाहका लागि प्रस्ताव गर्नुभएको थियो । द्रौपदीलाई पनि श्यामचरणसँग विवाह गर्न चाहनु भएको थियो । तर द्रोपदीले यसको बारेमा आमा बुवाको इजाजत चाहिन्छ भन्नुभएको थियो । त्यसपछि श्यामचरण मुर्मु द्रौपदीको घरमा विवाहको प्रस्ताव लिएर जानुभएको थियो ।

यो थाह पाएपछि द्रौपतीका बुवा बिरंची नारायण छोरीप्रति निकै रिसाउनुभयो । दुवैजना एउटै जातका भएपनि उहाँको बुवाले उहाँहरुको विवाहलाई स्विकार गर्ने पक्षमा हुनु हुन्थेन । द्रौपदीले आफ्नो बुवालाई कन्भिन्स गर्ने प्रयास गरिरहनु भएको थियो । तर उहाँको बुवाले मानिरहनु भएको थिएन । त्यसपछि श्यामचरण आफ्नो काका र दुईजना आफन्तलाई लिएर द्रौपतीको घरमा पुग्नुभयो । तीन चार दिनसम्म द्रौपदीको गाउँमा रहनुभयो । श्यामचरणले त्यो गाउँमा निकै संघर्ष गर्नुभयो । त्यसपछि मात्र द्रौपदीका बुवाले उहाँलाई विवाह गराउन तयार हुनुभएको थियो ।

दुवैजनाको बीचमा विवाह तय भएपछि दहेजको कुरा पनि भएको थियो । त्यतिबेला त्यो समुदायमा दहेज प्रथा थियो । द्रौपतीको बुवाले श्यामचरणको परिवारलाई एउटा गाई, गोरु र १६ जोर जुगा दहेजको रुपमा दिनुभएको थियो । सन् १९८० मा श्याचरण र द्रौपतीको विवाह सम्पन्न भएको थियो । त्यसपछि मात्र द्रौपती टुडुको नाम द्रौपदी मुर्मुमा परिणत भयो । विवाह धुमधामका साथ सम्पन्न भएको थियो । केही समय उहाँहरुको दामत्य जीवन सुखमय बितेको थियो । उहाँहरुले दुईजना छोरा र एकजना छोरी प्राप्त गर्नुभएको थियो । तर संयोग सन् २०१० मा जेठो छोरा लक्ष्मण मुर्मुको असमायिक निधन भयो । त्यसले द्रौपतीलाई निकै पिडा भयो । त्यसबाट बाहिर आउन उहाँले त्यतिबेला ब्रहमकुमारी संस्था ज्वाइन गर्नु भएको थियो । सबै मोहमाया त्याग्ने अवस्थामा पुग्नु भएको थियो अर्थात उहाँ डिप्रेशनमा पुग्नु भएको थियो । तर त्यो संस्थामा गएपछि उहाँले आफूलाई सम्हाल्न सफल हुनुभएको थियो।

त्यसको तीन वर्षपछि अर्थात सन् २०१३ मा कान्छो छोरा सिपुन मुर्मुको सडक दुर्घटनामा निधन भयो । त्यसको केही दिनमै उहाँका भाइ र आमाको पनि निधन भयो । सन् २०१६ मा द्रौपदीका श्रीमान श्यामचरणको हर्ट अट्याकका कारण निधन भएको थियो । दुईजना छोराको निधनका कारण उहाँ मर्माहत हुनु भएको थियो । एक मात्र सहारा श्रीमान रामचरणको निधनले मुर्मु पुरै टुट्नुभयो । उहाँ विल्कुल एक्लै महसुस गरिरहनु भएको थियो । उहाँलाई आफूलाई सम्हाल्न निकै गाह्रो भइरहेको थियो । तर उहाँले राजनीतिमा लिनु भएको उचाईका कारण समाजको दायित्व बुझेर उहाँले समाज र देशका लागि आफूलाई सम्हाल्नुभयो ।

उहाँले आफ्नो घरलाई ट्रस्ट बनाएर स्कूलमा परिणत गर्नुभयो । स्कूलको नाम आफ्नो श्रीमान छोराहरुको नामबाट श्याम, लक्ष्मण, सिपुन उच्च विद्यालय राख्नुभयो । स्कूलमा आफनो श्रीमान र छोराहरुको सालिक राख्नु भएको छ । द्रौपदी आफ्नो छोराहरु र श्रीमानको हरेक पुण्यतिथीमा त्यो विद्यालयमा गइरहनु हुन्थ्यो र त्यो क्रम अझै कायम छ ।

तपाईको प्रतिक्रिया