त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा रहेका दुर्गानन्द झालाई ६२ वर्षअघि अर्थात २०२० माघ १५ गते राज्यको तर्फबाट फाँसी दिएको थियो । जनकपुर भ्रमणमा गएको बेला तत्कालिन राजा महेन्द्र शाहमाथि बम प्रहार गरेको आरोपमा पक्राउ परेका दुर्गानन्द झाले राज्यले फाँसी दिएको थियो । गणतन्त्रका लागि हाँसी हाँसी फाँसी चढेका दुर्गानन्द झाले सहिदको सम्मान पाउनका लागि ५२ वर्ष कुर्नु पर्यो । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ मा दुर्गानन्द झालाई सहिद घोषणा गरेको थियो ।
दुर्गानन्द झा आफ्नो पार्टीका रहेको दावी काँग्रेसले गर्र्दै आइरहेको छ तर त्यो पार्टी पटक पटक शासन सत्ता सम्हाल्यो तर झालाई सहिद घोषणा गर्न सकिरहेको थिएन । फागुन २१ गते हुने चुनावका लागि विभिन्न दलका नेताहरु उम्मेदवार भएर चुनावमा होमिइ सक्नु भएको छ । काँग्रेसदेखि रास्वपासम्म, एमालेदेखि जसपा नेपालसम्मकाले दुर्गानन्द झालाई सम्झि रहेका छन् । आआफ्नो नेता दाबी गरिरहेका छन् । चुनाव सम्पन्न भइसकेपछि कसैले चासो पनि लिने छैनन् । गणतन्त्रका लागि हाँसी हाँसी फाँसीमा चढ्न तयार दुर्गानन्द झाकै कारण नेपालमा गणतन्त्र आएको हो । यसमा दुर्गानन्द झाको मात्र होइन उहाँको परिवारको पनि योगदान रहेको छ ।
आमासँग गणतन्त्रको कुरा
‘नरुनु होस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्ने छन् । गणतन्त्र अब आउँछ–आउँछ ।’ २०२० माघ १४ गते आफूलाई जेलमा भेट्न आउनु भएको आफ्नी आमालाई दुर्गानन्द झाले भन्नुभएको थियो । त्यही दिन उहाँले आफ्ना श्रीमती काशीदेवी झालाई भन्नुभएको थियो, ‘यो हाम्रो अन्तिम भेट हो, मेरा कारणले तिमीहरुको नाम देशभर चल्छ ।’ दुर्गानन्द झाले यो कुरा भनेको ४५ वर्षपछि मात्र देशमा गणतन्त्रको घोषणा भएको थियो । २०६५ जेठ १४ गते बसेको सविधान सभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो ।
फाँसी दिँदाको दिनसम्म दुर्गानन्द झा र काशीदेवी झाको बिहे भएको झण्डै ३ वर्ष मात्र पुगेको थियो । एउटा नव दुलही जसको श्रीमानको मृत्यु तय भइसकेको छ र उनलाई भेट्न जेलमा गएकी थिइन् । यो कम वियोगान्त थिएन । काशीदेव झालाई दुर्गानन्द झाले ‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ विरहको गीत सुनाउनु भएको थियो ।
को हुन दुर्गानन्द झा ?
सहिद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकमारीदेवी झाको एक मात्र सन्तानको रुपमा वि.सं. १९९९ वैशाख १४ गते भएको थियो । घरको एक्लो सन्तान भएकाले मेट्रिकमा पढ्दा पढ्दै २०१७ साल १४ वर्षीया काशीदेवी झासित उहाँको विवाह भएको थियो । दुर्गानन्द झाको बुवाको निधन भएपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँव स्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो । एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा लागेकाले घरमा एक्लै श्रीमती र बुद्धा आमा हुँदा आवश्यक हेरचाह नभएर बच्चा मृत जन्मेको थियो । हाइस्कूलमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबासमा बसेर र राजनीतिमा बित्ने हुनाले काशीदेवीसित उहाँको भेट महिनामा एक आध चोटीभन्दा बढी हुन सकिरहेको थिएन ।
महेन्द्रमाथि बम
२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरकुँश कदमको विरुद्धमा काँग्रेसले आन्दोलन शुरु गरेको थियो । आफ्ना आमाबाबुका एक मात्र सन्तान र नवविवाहित दुर्गानन्द झाले प्रजातन्त्रलाई हत्या गर्नेलाई न छाड्ने भनि मनमा ठानिसक्नुभएको थियो । भारतको जयनगरमा निर्वासित जीवन बिताइरहनु भएका काँग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी राजामाथि बम प्रहार गर्ने योजना उहाँले बनाउनु भएको थियो । २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाउनु भएको थियो ।
र, त्यसलाई सफल पार्न उहाँले आँट गर्नुभएको थियो । कडा सुरक्षाबीचमा रहेका महेन्द्रमाथि जनकी मान्दिरमा बम प्रहार गर्नुभएको थियो । तर बम पड्केन, महेन्द्र चढेको गाडीको सीशामा लाग्यो । बम प्रहार गरेर त्यत्रो सुरक्षा बीचबाट उहाँ भाग्न सफल हुनुभएको थियो । उहाँ भागेर जनकपुरकै एक मन्दिरमा डेरा गरी बसेका हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा लुकेर बस्नुभयो । भोलिपल्ट हातमा लोटा लिएर (खुल्ला ठाउँमा दिसा गर्नका लागि) विहानै विहानै निस्किनुभयो र त्यहाँबाट भागेर उहाँ भारतको उभगाँव पुग्नुभएको थियो ।
यता बम कण्डका नाममा विभिन्न व्यक्तिलाई धडपकड गरिरहेको थियो । देशैभरि हलीखली भएको थियो । बमकण्डको आरोपमा पक्राउ परेकालाई तत्कालिन सरकारले थुनामा राखेर यातना दिइरहेका थिए । दिनहुँ कुटपिट गर्थे । तर बम फाल्ने को थिए भनि पत्ता लगाउन सकेका थिएन । बम प्रहार गरी सीमापारी काँग्रेसको छतौनी क्याम्पमा बस्नु भएका दुर्गानन्द झालाई निर्दोषलाई कुटपिट गरी यातना दिएको कुराले सहय भएन । अनि उनी जयनगरबाट रेल चढेर जनकपुरका लागि हिड्नु भएको थियो । जनकपुर नपुग्दै उहाँ तत्कालिन एसपी मानबहादुर राईको नतृत्वमा गएका टोलीबाट उहाँ पक्राउ पर्नुभएको थियो ।
पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकप्टरबाट काठमाडौंको केन्द्रीय कारागारमा ल्याएको थियो । गिरफतारीपछि उहाँमाथि राजद्रोहको मुद्दा चलाइएका थियो ।
फाँसी दिन कानुन संशोधन
सरकारले बमकाण्डको अध्ययन गर्नका विशेष अदालतका तत्कालिन न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानविन आयोग गठन गरेको थियो । त्यो आयोगले २०१९ भदौ १९ मा बुझाएको प्रतिवेदनमा दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दिएको थियो । तर, ब्राह्मणलाई मृत्युदण्ड दिनु हुँदैन भने कुरा त्यतिबेलाको कानुनमा उल्लेख थियो । कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाह पाएर परिवारका सदस्यहरुले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएको थियो । सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरी कर्तालाई झिकाउने आदेश दिएको थियो । त्यही सालको फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गर्नुभयो । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो ।
२०२० माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्ड्याउँदै उतार्दै गरिएको थियो । त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो, तर उहाँ मृत्युदण्डलाई नै स्विकार गर्नुभयो । उहाँलाई फाँसी दिएपछि श्रीमति काशीदेवी र उहाँको आमालाई जानकारी दिएको थियो । दुर्गानन्दकी आमाले लाश मागे पनि दिइएन । पछि कुशको लाश बनाएर उहाँकी आमाले भारतको गयामा दुर्गानन्दको अन्तिम संस्कार गर्नुभएको थियो ।
शब्द चित्रमा दुर्गानन्द झा
१९९९ वैशाख १४
जनकपुरबाट १४ किलोमिटर दक्षिण नेपाल–भारत सीमानासँग जोडिएको जटही गाउँमा शुक्ल एकादशीका दिन सहिद दुर्गानन्दको जन्म भएको थियो । देवनारायण र सुकमारी देवीको एकमात्र सन्तान हुनुहुन्थ्यो उहाँ । वाल्यकालमै रहँदा उहाँको पिताको निधन भएको थियो । उहाँ पण्डित भोलानाथ झाका तीनभाई छोरामध्येका एकमात्र उत्तराधिकारी हुनुहुन्थ्यो ।
२०१७ पुस १ ः
संसद र संसदीय व्यवस्थाको विघटन भएको थियो । त्यसपछि तत्कालिन राजा महेन्द्रको तानाशाहीको विरोध भएको थियो । त्यसैक्रममा सहिद दुर्गानन्द सक्रिय हुनुभएको थियो ।
२०१८ माघ ९ ः
महेन्द्र पूर्वी तराई भ्रमणका क्रममा जनकपुर पुग्नुभएको थियो । उहाँले माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गर्नुभएको थियो । उहाँका साथी अरविन्द ठाकुर माघ ९ नै गते विशेष विमानबाट राजा महेन्द्र जनकपुर पुग्नुअघि नै विमानस्थलबाट बमसहित पक्राउ पर्नुभएको थियो । बम हानेपनि महेन्द्रलाई लागेन उहाँ भाग्न सफल हुनुभयो । बमकाण्डका नाममा निर्दोषहरुलाई प्रहरी र प्रशासनले दुःख दिन थालेपनि उहाँ नेपाल फर्किनुभएको थियो ।
२०२० भदौ १ः
शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई राणाहरुले मृत्युदण्ड दिएको २३ वर्षपछि दुर्गानन्दलाई मृत्युदण्ड दिनुअघि प्रचलित मुलुकी ऐनमा संशोधन गरी एक शताब्दी भन्दा बढी अवधिसम्म दोषी बाहुनलाई मृत्युदण्ड नदिने मुलुक ऐनको व्यवस्थामा संशोधन । उहाँ नेपालका प्रथम गणतान्त्रिक सहिद बन्नुभयो ।
२०१९ भदौ १९ ः
नेपालको तत्कालिन विशेष अदालतले कुनै सुनुवाई नै नगरी दुर्गानन्दा झालगायत अरविन्द ठाकुर, दलसिं थापालाई मृत्युदण्ड दिने निर्णय । निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिए पनि विशेष अदालतकै निर्णय सदर गरियो ।
२०२० पुस १० ः
राजदरबारको पत्र प्रेषित । उक्त पत्र अनुसार दुर्गानन्दलाई प्रचालित कानुन अनुसार भन्दै अन्य दुईको मृत्युदण्डलाई जन्मकैदमा परिणत ।
२०२० माघ १४ः
श्रीमती काशी देवी झा र आमा सुकमारी देवी दुर्गानन्द झालाई भेट्न काठमाडौ आउनु भएको थियो । त्रिपुरेश्वरमा बसेका उहाँहरुलाई महिला प्रहरीहरुले सादा कागजमा जवर्जस्ती औठा छाप लिएको थियो ।
२०२० माघ १५ ः
काठमाडौंस्थित केन्द्रिय कारागारमा मध्यरातमा दुर्गानन्द झालाई फाँसी दिएको थियो ।
२०६५
सहिद दुर्गानन्द झाका पत्नि काशीदेवीलाई तत्कालिन तमलोपाले समानुपातिक तर्फबाट सभासद बनायो ।
२०६६ असारः
सरकारले प्रस्तुत गरेको बजेटमा प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाको नाममा उनको जन्मस्थल जटहीमा १० शैयाको अस्पताल बनाउने घोषणा ।
२०७२ फागुन १९ ः
तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुर्गानन्द झालाई सहिद घोषणा गरेको थियो ।


तपाईको प्रतिक्रिया