कुनौलीसँग जोडिएको सडक मर्मत नहुँदा समस्या

काठमाडौँ भदौ २३ गते । भारतीय बजार कुनौलीसँग जोड्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालयदेखि पूर्वको सडक बाटो मर्मत नहुँदा अवागमनमा समस्या भएको छ ।

खाँडो र जिता नदीमा आएको बाढीले साढे एक महिनाअघि भत्काएको सडक मर्मत नहुँदा आवतजावतमा समस्या भएको स्थानीय बताउँछन् । राजविराज हुँदै तिलाठी कोइलाडीस्थित बेल्ही भन्सारलाई भारतीय बजार कुनौलीसँग जोड्ने एकमात्र सडक मर्मत नहुँदा समस्या भएको स्थानीय अजित झाले बताउनुभयो । बाढीले भन्सारभन्दा करिब दुई सय मिटर पूर्वमा सडक भत्काएको छ ।

यसै सडकले तिलाठी कोइलाडी गाउँपालिकालाई पूर्वमा रहेको हनुमाननगर कङ्कालिनी नगरपालिकासँग समेत जोड्ने गर्दछ । सरकारी स्रोतबाट ह्युम पाइप दिएपछि स्थानीयले माटोको बोरा राखेर पैदल हिँड्ने बाटो बनाएका छन् । सामान्य मर्मतपश्चात पैदलयात्री, मोटरसाइकल चले पनि पूर्ववत सडक सञ्चालन हुनसकेको छैन । ठोसरूपमा मर्मत नगरिएकाले चारपाङ्ग्रे गाडी गुडाउन जोखिमपूर्ण रहेको स्थानीय राधेश्याम यादवले बताउनुभयो ।

दशगजा क्षेत्रमा रहेको जिता नदीले राजविराज भन्सार कार्यालय र भारतको कुनौली बजार छुट्याएको छ । भन्सारलाई कुनौली बजारसँग जोड्ने पक्की पुल नभएका कारण भन्सार कटाउन आउने मालवाहक गाडीहरू करिब तीन किलोमिटरको दूरी तय गरी हनुमाननगर कङ्कालिनी नगरपालिकाको मल्हनियाँ हुँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको यादवले बताउनुभयो ।

भत्किएको सडक मर्मत नहुँदा मालवाहक गाडीलाई भन्सारसम्म पुग्न मल्हनियाँ गाउँको भित्री सडक भएर जानुपर्ने बाध्यता छ । हनुमाननगर बजार हुँदै सकरपुराको बाटो भएर जाने बाटोको दूरी १०÷१२ किलोमिटरको रहेको छ । बाटोको कठिनाइले भन्सारको राजस्व सङ्कलनसमेत प्रभावित भएको र राजस्व छलीलाई बढावा मिलेको स्थानीयवासीको भनाइ छ ।

दैनिक किनमेल र व्यापार गर्नुपर्ने तथा पारिवारिक सम्बन्धका कारण आवतजावत गर्नुपर्ने मानिसका लागि सडक अवरुद्धले समस्या भएको तिलाठी कोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्रले बताउनुभयो ।

तपाईको प्रतिक्रिया