Khadya Bibhag

ससदसम्म रेखा यादवको संघर्षमै यात्रा

रेखा यादव १५ वर्षको हुँदा काठमाडौँ आएर गजेन्द्रनारायण सिंहको साथमा आन्दोलनमा भाग लिनुभएको थियो । त्यतिबेला त्यतिबेला उहाँ विराटनगर जतुवाको आदर्श बालिका माविमा नौ कक्षामा पढ्दै हुनुहुन्थ्यो ।

‘बस्यौ भने निदाउँछौं, दौडियौ भने लक्ष्यमा पुग्छौं’ यो कुरा नेपाल सद्भावना पार्टीका पुरानो नेता स्व. रामनारायण यादवले आफ्नो छोरी रेखा यादवलाई भन्नु हुन्थ्यो । ३४ वर्षदेखि निरन्तर राजनीतिमा रहनु भएका रेखा यादवका बुवाले मात्र होइन, श्रीमान् राजकुमार थापाले पनि यही कुरा रेखा यादवलाई भन्नुहुन्छ ।

 

त्यही भएर रेखा यादव आफ्नो अहिलेसम्मको यात्रामा कहिले विश्राम लिनु भएन र आफ्नो लक्ष्यको एक खुड्किला पार गर्नुभएको छ । लामो संघर्षपछि उहाँ जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधि सभामा समानुपातिक सदस्य बन्नुभएको छ ।

४८ वर्षिय रेखा यादव स्व.गजेन्द्रनारायण सिंहले स्थापना गर्नुभएको नेपाल सद्भावना परिषद्देखि नै राजनीतिमा लाग्नु भएको हो । त्यो बेलादेखि हालसम्म निरन्तर राजनीतिमै रहनु भएको छ । रेखा यादवको नाम गणतन्त्र आएपछि भएको हरेक चुनावमा समानुपातिकतर्फ उम्मेदवारमा आउथ्यो । तर कुनै न कुनै बाहानामा उहाँलाई समानुपातिक सांसद हुनबाट बन्चित गरिन्थ्यो । तर उहाँले कहिले हार मान्नु भएन । बुवाको त्यो मन्त्र उहाँले जहिले याद गर्नुहुन्छ, ‘सुस्ताउनु हुँदैन, निरन्तर हिड्दै गर्नुपर्छ ।’

नेपाल सद्भावना पार्टीमा हुँदा २०६४ मा भएको संविधान सभा चुनावमा उहाँको नाम समानुपातिकको बन्द सूचीमा राखेको थियो । रेखा यादवलाई संविधान सभा सदस्य बनाउने भनि पार्टीमा निर्णय पनि भएको थियो । तर निर्वाचन आयोग जाँदा जाँदै बाटोबाट नै रेखा यादवको नाम गायब भयो । रेखा यादव भन्नुहुन्छ, ‘त्यतिबेला मलाई शीर्ष नेताहरुले पनि बधाई दिनुभएको थियो । सबैतिर चर्चा पनि भयो तर निर्वाचन आयोग नपुग्दै बाटैबाट मेरो नाम गायब भएको थियो त्यसबेला मलाई लाग्यो कि जहाँ पार्टीको निर्णय गायब हुन्छ त्यहाँ राजनीतिक भविष्य सुरक्षित हुँदैन ।’

उहाँले तत्कालै नेपाल सद्भावना पार्टी त्याग्नु भयो र तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गर्नुभयो । २०७० मा भएको दोस्रो संविधान सभा चुनावमा उहाँलाई मोरगंबाट चुनाव लड्ने इच्छा थियो तर पार्टीका अध्यक्ष उपेन्द्र यादव आफै चुनाव लड्ने भएपछि उहाँ पछाडि हट्नु भयो । त्यतिबेला पनि उहाँको नाम समानुपातिकमा राखिएको थियो । त्यसमा पनि उहाँलाई पार्टीले चयन गरेन ।

२०७४ मा पनि त्यस्तै भयो । मोरङ्बाट चुनाव लड्ने सोच बनाउनुभयो । तर त्यहाँ राजनीतिक समिकरणमा पार्टीबाट राजकुमार यादवलाई टिकट दियो । रेखा यादवलाई भनियो, यसपटक राजकुमार यादवलाई चुनाव लड्न दिनुस् तपाई समानुपातिकबाट उम्मदवार बन्नुस् ।’ रेखा यादवको नाम मधेशी महिला कोटाको दुई नम्बरमा राखेको थियो । एक नम्बरमा रेणु यादवको नाम थियो । त्यतिबेला पनि रेखा यादवको नाम समानुपातिक सदस्यमा आएन ।

तैपनि उहाँ हरेश खानु भएन । राजनीति यात्रालाई निरन्तरता दिनुभयो । पाँच वर्ष पार्टीको संगठनमा काम गर्नुभयो । २०७९ मंसिर ४ मा सम्पन्न चुनावमा उहाँको नाम समानुपातिक बन्द सूचीमा राखियो । उहाँ यसपटक बल्ल समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । उहाँले भन्नुभयो, ‘मैले राजनीतिमा जति अपहेलित भए, जति किनारा पारिए यदि मैले कुनै ठाउँमा सुस्ताएको भए आज यो लक्ष्य प्राप्त गर्न सक्दैन्थे । यो मेरो राजनीतिक संघर्षको देन हो ।’

रेखा यादवको नाम मधेशी महिला कोटाको दुई नम्बरमा राखेको थियो । एक नम्बरमा रेणु यादवको नाम थियो । त्यतिबेला पनि रेखा यादवको नाम समानुपातिक सदस्यमा आएन

बुवाको प्रेरणा
बुवा राजनीतिमा सक्रिय भएको बेला रेखा यादवलाई पनि विभिन्न राजनीतिक कार्यक्रम तथा आन्दोलनमा लग्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘मलाई याद भएसम्म म पाँच कक्षा पढी रहँदादेखि नै आफ्नो बुवाको साथमा विभिन्न राजनीतिक कार्यक्रमहरुमा जाने गर्थे , विभिन्न आन्दोलनहरुमा भाग लिन्थे ।’

बाल्यकालदेखि नै रेखा यादवलाई कथा, कविता, गीतहरु लेख्न रुची थियो । घरमा कोही आउँदा रेखा यादवले आफूले लेखेका कुराहरु सुनाउनु हुन्थ्यो । त्यो देखेर उहाँका बुवा रामनारायण यादव भन्नुहुन्थ्यो, ‘यो नेता बन्छ कि क्या हो ।’ पढाई लेखाई, कविता तथा अन्य बाहिर विषयवस्तुमा रेखा यादवको रुची देखेर रामनारायण यादवले उहाँलाई लिएर कार्यक्रमहरुमा जानुहुन्थ्यो । राजनीतिक विषयवस्तुहरु छोरीलाई सुनाउनु हुन्थ्यो । घरमा नेताहरुको आउजाउ हुँदा रेखा यादवले त्यहाँ हुने कुराहरु ध्यानपूर्वक सुन्नुहुन्थ्यो । र, त्यहीबाट उहाँमा राजनीतिक चेतना आएको हो ।

गजेन्द्रका साथ आन्दोलन
रेखा यादव १५ वर्षको हुँदा काठमाडौँ आएर गजेन्द्रनारायण सिंहको साथमा आन्दोलनमा भाग लिनुभएको थियो । त्यतिबेला त्यतिबेला उहाँ विराटनगर जतुवाको आदर्श बालिका माविमा नौ कक्षामा पढ्दै हुनुहुन्थ्यो । २०४७ मा स्कूल छाडेर उहाँ विराटनगरबाट काठमाडौँको आन्दोलनमा सहभागी हुन आउनु भएको थियो ।

तत्कालिन नेपाल सद्भावना पार्टीले सिंहदरवार घेराउ कार्यक्रम राखेको थियो । त्यो आन्दोलनमा पश्चिमबाट महिलामा अमृता आग्रहरी र पूर्वबाट महिलामा एकजना रेखा यादव मात्र हुनुहुन्थ्यो । अरु सबै पुरुष थिए । उहाँ आन्दोलनमा भाग लिएर भोलीपल्ट विराटनगर फर्किनु भएको थियो ।

रेखा यादवको यो गतिविधिबाट बुवा रामनारायण यादव निकै खुशी हुनुहुुन्थ्यो तर आमा रत्नादेवी यादव दुखी हुनुहुन्थ्यो । यसरी आन्दोलन तथा कार्यक्रममा हिडेपछि विहे गर्नमा गाह्रो हुन्छ भन्दै उहाँका आमाले चिन्ता लिनुहुन्थ्यो ।

आन्दोलनका कार्यक्रमहरुमा भाग लिन जानबाट रोक्नुहुन्थ्यो तैपनि रेखा कुनै नकुनै बहानामा निस्किनु हुन्थ्यो । २०४९ मा एसएलसी पास गर्नुभएका रेखा यादव आइए पढ्नका लागि महेन्द्र मोरगंमा नाम लेखाउनु भएको थियो । कलेजमा पढ्न थालेपछि उहाँ नेपाल सद्भावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध भएर विद्यार्थी राजनीति औपचारिक रुपमा सुरु गर्नुभएको थियो ।

२०५३ मा उहाँ आइए पास गर्नुभयो । तर, राजनीतिमा सक्रिय भएको कारणले उहाँले पढाईलाई निरन्तरता दिनसक्नु भएन । त्यही बीचमा उहाँको विहे पनि भयो । गजेन्द्रनारायण सिंहको निधनपछि पार्टी विभाजन भयो । पार्टीमा निकै उथल पुथल भयो । त्यसले गर्दा रेखा यादवको पढाईमा डिस्टर्व भएको थियो ।

पछि उहाँले बीए पढ्न थाल्नुभयो । २०६० मा उहाँ बीए पास गर्नुभयो । नेपाल विद्यार्थी मञ्चमा पाँच वर्ष भन्दा बढी समयसम्म काम गर्नुभयो र उहाँ उपाध्यक्षसम्म पुग्नुभयो । त्यसपछि उहाँ नेपाल सद्भावना पार्टीको युवा मञ्चमा काम गर्न थाल्नुभयो । केन्द्रीय सदस्य भएर करिब ६ महिना त्यहाँ काम गरेपछि उहाँ सोही पार्टीको महिला मञ्चमा महासचिव हुनुभयो । २०६४ को पहिलो संविधान सभामा समानुपातिक सदस्य बनाउनका लागि धोका दिएपछि उहाँ फोरममा जानुभयो । त्यहाँ उहाँलाई महिला फोरममा केन्द्रीय सदस्यका जिम्मेवारी दिएको थियो ।

पछि महिला विभागको सदस्य पनि बनाएको थियो । पाँच वर्षसम्म महिला फोरममा रहेर काम गर्नुभयो । विजय कुमार गच्छदार पार्टी विभाजन गरेर गएपछि उपेन्द्र यादवले फोरमको केन्द्रीय समिति पुर्नगठन गर्दा रेखा यादवलाई केन्द्रीय सदस्य बनाइएको थियो ।

त्यसको एक वर्षपछि उहाँलाई राजनीतिक समितिको सदस्य बनाइयो । २०७५ मा उहाँलाई गैर भुगोल विशेष प्रदेशको इन्चार्ज पनि बनाइयो । उहाँले सो जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिरहनु भएको छ । अहिलेको जसपामा पनि उहा राजनीतिक समितिमा पनि हुनुहुन्छ ।

मधेश आन्दोलन
पहिलो मधेश आन्दोलन हुँदा उहाँ नेपाल सद्भावना पार्टीमा नै हुनुहुन्थ्यो । उहाँको विहे भइसकेको कारणले उहाँ त्यतिबेला काठमाडौँमै हुनुहुन्थ्यो । उहाँ मैतिघर मण्डलमा हुने आन्दोलनको नेतृत्व गर्नुको साथै कहिले काहीं विराटनगरसम्म पनि पुग्नुहुन्थ्यो । दोस्रो मधेश आन्दोलनमा उहाँ फोरममा गइसक्नु भएको थियो ।

उहाँ त्यसमा पनि सक्रिय भएर लाग्नुभएको थियो । काठमाडौँदेखि मधेशका विभिन्न ठाउँमा गएर आन्दोलनमा भाग लिनुहुन्थ्यो ।

फोरमले काठमाडौँ केन्द्रीत आन्दोलन गर्दा रेखा यादव यहाँ सक्रिय भएर लाग्नु भएको थियो । टुडिखेलमा भएको अनसन कार्यक्रमको नेतृत्व पनि गर्नुभएको थियो । संविधान संशोधनको मागका लागि भएको आन्दोलन होस् या नागरिकता लागि भएको आन्दोलन होस् । हरेक आन्दोलनको अग्रिम मोर्चामा रेखा यादव हुन्थ्यो ।

साहित्य
भारत भागलपुरको विद्यापीठबाट विद्यावाचस्पत्तीको उपाधी प्राप्त गर्नुएका रेख २०७६ मा हिन्दी साहित्यमा एमए पास गर्नुभएको छ । उहाँ हाल पीएचडीमा अध्ययनरत हुनुहुन्छ । उहाँले साहित्यमा पनि कलम चलाई रहनु भएको छ । बुवाको प्रेरणाबाट साहित्यमा संलग्न हुनुभएका रेखा यादवको एउटा उपन्यास ‘आत्मजा’ (नेपाली) प्रकाशित छ । त्यस्तै उहाँले कविता संग्रह ‘तुम विन’ (हिन्दी), धिरे से (हिन्दी), ‘सुस्तरी’ (नेपाली) प्रकाशित गर्नुभएको छ ।

मैथिली भाषाको कविता संग्रह ‘धिरे स’ तयारी अवस्थामा छ । चाँडै नै विमोचन हुने बताइएको छ । उहाको नेपाली भाषाको ‘बन्धन’ हिन्दी भाषाको ‘पैगाम’ उपन्यास र कविता संग्रह ‘नारी एवं आँसु’ प्रकाशन्मुख रहेको छ । उहाँ राजनीतिमा सक्रिय रहे पनि राती १० वजेदेखि १ वजेसम्म लेख्ने समय छुट्याउनु भएको छ । दिनभर उहाँ राजनीतिमा सक्रिय रहनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘यी सब काममा मेरो श्रीमान राजकुमार थापाको ठूलो सहयोग रहेको छ, यदि उहाँको सहयोग नरहेको भए म यहाँसम्म पुग्न सक्दैन्थे ।’

विवाह
२०५६ सालमा उहाँको विवाह राजकुमार थापासँग मागी विवाह भएको हो । उहाँका बुवा रामनारायण यादव भारतको वनारसमा अध्ययन गरिरहँदा त्यहाँ भक्तपुरका गणेशराज थापासँग चिनजान भएको थियो । त्यो चिनजानपछि गणेशराज थापाले आफ्नो छोरा राजकुमार थापाको विवाह रामनारायणका छोरी रेखा यादवसँग गराउनु भएको थियो ।

रेखा यादवको दुई छोरी छन् । जेठी छोरी रितिका थापा चीनमा एमबीबीएस अध्ययन गरिरहेकी छिन् । कान्छी छोरी डिएभीमा कक्षा नौमा अध्ययन गरिरहेकी छिन् । उहाँका श्रीमान ल्याब टेक्नेसियन हुनुहुन्छ तर भक्तपुरमा खेती किसानी गर्नुहुन्छ । रेखा यादवको ललितपुरमा पनि घर छ ।

जागिर
रेखा यादव पीएचडी अध्ययनमा हुनुहुन्छ तर उहाँमा जागिर गर्ने इच्छा कहिले जागृत भएन । जागिरका लागि उहाँलाई अफर नआएको होइन । तर उहाँ जागिरका लागि कहिले तयार हुनुभएन । बरु उहाँ एसएलसी पास गरेपछि पूर्वाञ्चल सेकेण्डरी स्कुलमा तीन वर्ष फ्रिमा पढाउनुभयो । गाउँघरमा हुने विकृति विसंगीको बारेमा बोल्दा, त्यसको विषयमा आवाज उठाउँदा सो स्कूलका प्रिन्सिपलले स्कूलमा पढाउनका लागि आग्रह गर्नुभएको थियो । उहाँ स्कूलमा पढाउन त जानुभयो तर बेतलबी ।

उहाँ त्यो स्कूलमा पढाउन थालेपछि जतुवालगायत त्यस वरिपरीका छोरी चेलीबेटीहरु पनि पढ्नका लागि स्कूल जान थाले । रेखाले पनि गाउँमा गएर छोरीहरुलाई पढाउनु पर्छ भनि कन्भिन्स गर्नुहुन्थ्यो । उहाँले नै कन्भिन्स गरेर स्कूल पठाएका कतिपय छोरीहरु कोही डाक्टर भएका छन्, कोही मास्टर भएका छन् । रेखा यादव भन्नुहुन्छ, ‘यो मेरो लागि तलबभन्दा धेरै ठूलो कमाई हो ।’ उहाँले मृत्युपछि शिक्षण अस्पताललाई आफ्नो शरीर दान गर्न पनि चाहनु भएको छ ।

सम्मान
१०० हिरो ओफ मधेश नेपाल, अन्तर्राष्ट्रिय समरचता मञ्च भारत, मुलधार महिला केन्द्र नेपाल, अजरबैजान विमन्स आइकेप अजरबैजान, अन्तराष्ट्रिय तथा गत सिर्जन भारत, नारी उत्थान केन्द्र नेपाल, वोमेन डेभलपमेन्ट कार्पोरेसन बंगाल, मिथिला संस्कृत समाज, कादम्बनी सरचता मञ्च भारत, उर्दु एकेडेमी नेपाल, अन्तराष्ट्रिय ओमेन आफ एक्सीलेंट अवार्ड क्यालिफोरणीया युएसए, महिला सञ्जाल नेपाल, एलिट पोएट्री क्लब भारत, हाफे मोताबर भारतद्वारा विभिन्न समयमा रेखा यादव सम्मानित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया