Khadya Bibhag

गौर घटना पिडित परिवारलाई प्रचण्डले बोलाउनुभयो वार्तामा

काठमाडौँ साउन १९ गते । गौर घटनालाई लिएर रौटहटमा आन्दोलन गर्दै आएको गौर हत्याकाण्ड पीडित संर्घर्ष समितिलाई सरकारले वार्तामा बोलाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सह सचिव अर्जुन भण्डारीले समितिका संयोजक रुपसागर उपाध्यायलाई पत्र पठाएर वार्तामा बोलाएको हो । संघर्ष समितिको मागसहित आन्दोलन गर्ने जानकारीप्रति प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण भएको भन्दै संघर्ष समितिका मागहरु वार्ताका माध्यमबाट तत्काल समाधान गर्न वार्तामा आउन आग्रह गरेको छ ।
भोली ८ बजे बालुवाटारमा वार्ता हुने बताइएको छ । १७ वर्षअघि माओवादी र तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच झडप हुँदा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको ज्यान गएको थियो । मृतक परिवारका सदस्यहरुले दोषीमाथि कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
सोही आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले वार्ताका लागि बोलाउनु भएको हो ।

तपाईको प्रतिक्रिया