क्षतिपूर्तिको माग गर्दै पीडित परिवारद्वारा पोस्टमार्टम गर्न अस्वीकार

काठमाडौँ, कात्तिक २७ गते । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकातर्फ आउँदै गरेको विद्युतीय सवारी साधन कात्तिक २६ गते बिहान मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा चक्रघट्टा–४, सुन्दरपुरका एकै गाउँका १३ जनाको दुःखद निधन भएको छ ।

पोस्टमार्टमका लागि शव हेटौँडास्थित अस्पतालमा राखिएको भए तापनि मृतकका परिवारजनले पोस्टमार्टम गराउन अस्वीकार गर्नुभएको छ । सरकारले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध नगराएसम्म र घटनाको छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म पोस्टमार्टम हुन नदिने उहाँहरूको अडान छ ।

हेटौँडामा रहनुभएका मधेश प्रदेश सभा सदस्य सञ्जय यादवले राज्यले पीडित परिवारलाई बेवास्ता गरेको बताउनुभयो । दुर्घटनामा एकै परिवारका ६ जनाको निधन भएको र तीन जना बालबालिका अभिभावकविहीन बनेको उल्लेख गर्दै उहाँले ती बालबालिकाको लालनपालनको जिम्मा राज्यले लिनुपर्ने माग पीडित पक्षको रहेको जानकारी दिनुभयो ।

सरकारी अधिकारीहरूले बिमाबाहेक अन्य क्षतिपूर्ति दिन नसकिने बताउँदै पोस्टमार्टमका लागि अनावश्यक दबाब दिइरहेको प्रदेश सभा सदस्य यादवले बताउनुभयो । चाडपर्वको मुखमा सिङ्गो गाउँ शोकमग्न बनिरहँदा तीन तहकै सरकारको अनुभूति पीडितले गर्न नपाएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया