किड्नी फेल भएको मान्छेलाई सहयोग गर्दा पनि मत नदिएको सिके राउतको गुनासो

काठमाडौँ फागुन १६ गते । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले किड्नी फेल भएको मान्छेलाई सहयोग गरेपनि आफूलाई मत नदिएको गुनासो गर्नुभएको छ । उहाँले आज आफ्नो पार्टीको सचिवालयको फेसबुक पेजमा लेख्नु भएको छ, ‘काम गरिदिए पछि पो पार्टीमा बस्छन्, आउँछन् र लाग्छन् भन्ने भ्रम नपाल्नु हुन जनमत पार्टीका नेता कार्यकर्तामा अनुरोध । हामीले कतारको अस्पतालबाट किड्नी फेल भएका मान्छेको उपचार गराएर, ज्यान जोगाइदिएर, टिकट कटाएर, नेपाल सकुशल फर्काउँदा त हाम्रो कट्टर विरोध गरे र अरू पार्टीको मत मागे अरूको के कुरा गर्नु ।’
जनताको काम गरि दिए पनि पार्टीमा नबसेको, पार्टीलाई सहयोग नगरेको गनुासो उहाँको रहेको छ । उहाँले यतिसम्म भन्नुभएको छ, ‘हामीले नै छात्रवृत्तिमा पढ्न पठाएको वा विदेश काम गर्न पठाएको मान्छे त अरू पार्टीको मत माग्छन् ।’ आफ्नै परिवारका दुई भाइ त दुई फरक पार्टीबाट उठेका हुन्छन् भन्दै उहाँले आफ्नै क्लासमेट र रूममेट अरू पार्टीका प्रचार गर्दै हिडेको गुनासो गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘हामीले कसैको घर बनाइदिँदैमा, उसले चुनावको एक दिन अगाडि पैसा लिएर अरूलाई नै मत हाल्छन् ।’ कार्यालय सहायक वा निजी सचिवमै राखेको मान्छेको जागिर गए पछि सबभन्दा विरोधी भइदिएको गुनासो पनि उहाँले पोख्नु भएको छ ।
जुनसुकै पार्टीका मेयर आए, सबैको काम तुरन्त गरि दिउ भनेर काम गराइ दिएँ , के कसैले राष्ट्रियसभाको निर्वाचनमा गोप्य(मतदान हुँदा पनि मत हाले ? उहाँले गुनासो गर्दै भन्नुभयो, ‘अरू पार्टीका मेयरहरूले धन्यवाद पनि दिए कि आफ्नै पार्टीको हुँदा पनि यति सजिलो गरी काम भएको थिएन, तपाईंकै पार्टी प्रवेश गर्छु भनेर तर ।’
कति नेताहरू त आए ४–४ वटा सरूवा गराउन। चारवाट मध्ये ३ वटा भयो, अनि एउटा नहुँदा भन्छ अब पार्टीमा बस्दिन । यस्ता नेताहरू राखेर पार्टी नचल्ने उहाँले उल्लेख गर्नुभएको छ ।
जसपाको ूलाभग्राही संरचनाू जनमत भन्दा १००औं गुणा पनि बढी रहेको उल्लेख गर्दै उहाँले १६–१७ वर्षदेखि निरन्तर सत्तामा बस्दा हरेक कार्यालय, हरेक मन्त्रालयमा तलदेखि माथिसम्म जसपाको मान्छे खचाखच रहेको उल्लेख गर्नुभएको छ ।
वडादेखि राष्ट्रियस्तरसम्म, पियनदेखि उपप्रधानमन्त्रीसम्म सबै ठाउँमा जसपाले आफ्नो लाखौं मान्छे खचाखच राखेको छन । तैपनि जसपाको मत मधेश प्रदेशमा जनमत पार्टीभन्दा कम छ, जबकि हाम्रो एउटा पियनसम्म कतै थिएन, उहाँले भन्नुभएको छ, ‘त्यसैले धेरैलाई लाभ दिँदैमा, जागिर लगाइदिँदैमा, कसैको सरूवा बढुवा गरिदिँदैमा, कसैलाई राजनीतिक नियुक्ति दिँदैमा, कसैलाई ठेक्कापट्टा पार्दिँदैमा वा योजना दिँदैमा, सांसद् र मन्त्री बनाउँदैमा पार्टी ठूलो हुने होइन, हेक्का राखौं।’

तपाईको प्रतिक्रिया