Khadya Bibhag

थाइल्याण्डका राजदुत सवापोङले भेट्नुभयो उपराष्ट्रपति यादवलाई

काठमाडौँ मंसिर १५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि थाईल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उक्त अवसरमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध र सहकार्य तथा पर्यटन र व्यापार क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र थाईल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहँदै आएको उल्लेख गर्दै दुवै मुलुक साझा संस्कृति र धर्मले बाँधिएको बताउनु भयो ।
‘बुद्ध धर्मले दुई देश र जनताबीच मित्रता र सहयोगको बलियो बन्धन बनाएको छ’ उहाँले भन्नुभयो, ‘विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरुमा दुई देशबीच घनिष्ठ सहयोग र समान विचारहरु रहेकोप्रति खुशी व्यक्त गर्दछु ।’ थाइल्याण्ड इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी अन्तर्गत नेपालको मानव संसाधन विकासको क्षेत्रमा थाइल्याण्ड सरकारको सहयोग र विभिन्न विषयमा स्नातकोत्तर छात्रवृत्तिको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति र सरकारी अधिकारीहरूलाई नियमित रूपमा तालिमको अवसर प्रदान गरेकोमा थाई सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
उपराष्ट्रपति यादवले सांस्कृतिक आदानप्रदान, पर्यटन र खेलकुद, कृषि र पशुपालन विकास, विश्वविद्यालयहरू, व्यवसायी समुदायहरूबीचको सहकार्य आदि सम्बन्धी विभिन्न द्विपक्षीय सम्झौताहरूमा मार्च २०२५ मा हुने ‘बिमस्टेक’ शिखर सम्मेलनमा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको बताउनु भयो । ‘यसले हामीलाई नयाँ क्षेत्रहरूमा सहकार्य गर्ने थप अवसर प्राप्त हुनेछ ’ उहाँले भन्नुभयो, ‘ नेपालमा ऊर्जा, पूर्वाधार, उत्पादन, स्वास्थ्य, आईसीटी र कृषि लगायतका क्षेत्रमा सहयोगका लागि उपलब्ध अपार अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिन चाहन्छु ।’
उपराष्ट्रपति यादवले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्रको सूचिबाट स्तरोन्नति हुनुको साथै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गरी मध्यम आय भएको मुलुक बन्ने नेपालको मुख्य प्राथमिकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अतः नेपालको यस विकास र समृद्धिको यात्रामा थाइल्याण्डको सहयोग निरन्तर प्राप्त हुनेछ भन्नेमा विश्वस्त छु ।’ उहाँले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र सहयोगका नयाँ आयामहरूमा सहकार्य गर्ने नेपाल सरकारको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेपालका लागि थाईल्याण्डका महामहिम राजदूत सवापोङ्ग सिरिसोर्नले दुई देशबीच जनस्तरमा प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध धर्मलाई केन्द्रमा राखेर हेर्दा धेरै कुरा दुवै देशमा साझा रहेको बताउनुभयो । ‘नेपालमा थाईल्याण्डको व्यापारिक सम्भावना धेरै छ ’ उहाँले भन्नुभयो, ‘ नेपाल बिजनेस फोरम र थाई बिजनेस फोरम संगै बसेर व्यापारको क्षेत्रमा थप के गर्न सकिन्छ भन्ने प्रयास भईरहेको छ । ’

तपाईको प्रतिक्रिया