Khadya Bibhag

विवाह पञ्चमी महोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर

धनुषा, मंसिर २१ गते ।  त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ।

यस अवसरमा अयोध्याबाट बाराती जनकपुरधाम आउने परम्परा रहेको छ।

यसै अवसरमा नेपाल–भारत खुला सिमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा नि:शुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था, र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन्।

शिविरको दोश्रो दिन  सम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झा ले जानकारी दिनुभयो।

शिविर बिहान बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र त्यसपछि यात्री विश्राम स्थलमा परिवर्तन गरिनेछ। शिविरमा डा. अजय मिश्र, डा. उदय झा, सिअहेव दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादव लगायतका स्वास्थ्यकर्मीहरूले नि:शुल्क सेवा प्रदान गरिरहेका छन्।

जसपा नेता तथा प्रदेश सभा सदस्य माननीय मनिष सुमन,जिसस प्रमुख राम नन्दन मंडलले संस्थाको प्रयासको प्रशंसा गर्दै समाजसेवाको यो पहललाई प्रेरणादायी बताउनुभयो।

शुभकामना दिनेहरुमा प्रमोद चौधरी,डा बिरेन्द्र लाल कर्ण,प्रध्यापक देबेन्द्र झा लगायतका रहेका थिए। शिविरमा नेपाल–भारत खुला सिमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, धनेश्वर ठाकुर, मनिष ठाकुर, कृष्ण कुमार साह र क्लोथ बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनिष श्रीओम, कार्यक्रम संयोजक रञ्जित झा, खुशबु साह, नन्दकुमार झालगायतको उपस्थिति रहेको जानकारी प्रवक्ता प्रमोद साह रङ्गीले दिनुभएको छ।
यो शिविरले विवाह पञ्चमी महोत्सवमा सहभागी तीर्थयात्रीहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ।

तपाईको प्रतिक्रिया