Khadya Bibhag

युएइमा रहेका मधेशीले मन्त्री साहलाई यसरी सुनाए आफ्नो पिडा

काठमाडौँ मंसिर २२ गते । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारमा आएकाहरुको पिडाबाट आफू प्रत्यक्ष अवगत भएको र यो विषय मन्त्रीपरिषद्मा उठाउने प्रतिवद्धता जनाउनुभयो ।
मधेसी मधेशी एकता समाज युएईले युएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूतावासको सभाहलको आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो प्रतिवद्धता जनाउनु भएको हो । अन्तरक्रिया कार्यक्रममा युएईका मधेशी बुद्धिजीवी र श्रमिकहरुले वैदेशिक रोजगारमा आएकाहरुको पिडा प्रस्तुत गरेका थिए ।
मधेशका श्रमिकहरूको समस्या र उनीहरुका समस्यालाई समाधान कसरी गर्ने त्यसको पनि चर्चा भएको थियो । नेपाली श्रमिकको लागी कस्ता योजनाहरू ल्याउन सकिन्छ र ती योजना नेपाल सरकारसम्म मन्त्रीमार्फत पुर्याउनु रहेको आयोजकको भनाई थियो ।
कार्यक्रममा केही पीडित पक्षसँग पनि अन्तरक्रिया भएको थियो । पीडितका अनुसार नेपालमा दलालहरूले ठूलो प्रलोभनमा पारी मोटो रकम असुलेर विदेश पठाएको र यहाँ आउदा भने जस्तो काम नमिलेको, कम्पनीको अत्याचार सहन नसकि कम्पनी छोड्न बाध्य भएको र आफुलाई नेपाल पठाई दिन मन्त्री साहसँग आग्रह गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजिविहरूले नेपाल सरकारले गाउँगाउँमा गएर जनचेतनामुलक कार्यक्रम गरी जनचेतना जगाउन र कानुन विपरित सिधासाधा जनतालाई झुक्याई मोटो रकम असुली गर्ने दलाल र मेनपावर कम्पनीलाई कार्वाही गर्न पनि मन्त्री साहलाई आग्रह गरे ।
मन्त्री साहले पीडितको कुरा सुनिसकेपछि पिडितको समस्या सुनेर आफूलाई पनि पिडा भएको बताउनु भएको थियो । यहाँ उठेका सबै आफूले नेपाल सरकार समक्ष राखिने प्रतिवद्धता जनाउँदै उहाँले रातपछि दिन आएझैं दुःखपछि सुख आउने र असफलतापछि सफल पनि हुने गरेको बताउनुभयो ।
यूएईका विभिन्न क्षेत्रमा काम गरेर सफल बनेका मधेशी व्यवसायी, श्रमिक र बुद्धिजीवीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मधेशी एकता समाजका अन्तर्राष्ट्रिय संयोजक डाक्टर रविन्द्रकुमार यादवले गर्नुभएको थियो ।
कार्यक्रममा मधेशी एकता समाज, युएईका अध्यक्ष धर्मेन्द्र गोहिवार यादव, महासचिव रोशन देव, न्यूयोर्क युनिभर्सिटी आबुधाबीबाट कम्प्युटर ईन्जिनियरिङ् गरेका उत्तम मिश्रा, मधेशी उद्योगी व्यवसायी विनेश यादव, चार्टर्ड एकाउन्टेन्ट्सको पेशाबाट रेस्टुरेन्ट चेन मोमचा शुरू गर्ने जीबछ साह, बैंकिङ क्षेत्रका मधेशी महिला शवनम नाजलगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।
त्यस्तै, दुई हप्तादेखि दूतावासको बाहिर भुइँमै रात बिताइ रहनु भएका श्रमिकहरु मनोज साह, सरोज शर्मा, कासिन्दर रामले पनि आफूले भोगेको पिडा त्यहाँ राख्नुएको थियो । त्यहाँस्थित नेपाली दुतावासका श्रम काउन्सेलर तथा एनआरएनका महासचिव भुवन वाग्लेले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया