काठमाडौं पुस १४ गते । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तिब्र पारेको छ ।
आइतबार जनता प्रगतिशिल पार्टीका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवसँग छलफल गरेको छ ।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जनता प्रगतिशिल पार्टीका नेता मिश्रले जानकारी दिनुभयो ।
जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार जसपा नेपाल पनि मधेशी दलहरु बिच सहकार्यका लागि तयार रहेको छ ।
जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगामी दिनमा फेरि छलफल हुने बताउनुभयो । अध्यक्ष त्रिपाठीले यसअघि जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, आमजनता पार्टी, लोसपा नेपालसँग वार्ता गरिसक्नु भएको छ ।
अन्य दलहरुसँग वार्ताका लागि वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीको सदस्यमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहनु भएको छ ।
तपाईको प्रतिक्रिया