Khadya Bibhag

सरकारबाट समर्थन फिर्ता लिन बीपी साहको सिके राउतलाई प्रस्ताव

श्री अध्यक्षज्यू,
जनमत पार्टी, केन्द्रीय समिति

विषयः सरकारलाई दिइएको समर्थन फिर्ता लिने सम्बन्धमा प्रस्ताव

महोदय,

देशको शासन व्यवस्था सुधार्न र आम नागरिक, विशेषतः युवाहरूको भविष्य सुनिश्चित गर्नका लागि ‘जेनजी आन्दोलन’ अन्तर्गत युवाहरूले देशभरि शान्तिपूर्ण रुपमा आवाज उठाइरहेका छन्। तर, दुःखद र निन्दनीय कुरा के हो भने, उक्त आन्दोलनका क्रममा एकै दिनमा राज्यशक्तिको दुरुपयोग गरी १९ जना युवाहरूको निर्मम हत्या गरिएको छ।

हाम्रो पार्टीद्वारा दिइएको समर्थनसमेतमा टेकेर वर्तमान सरकारले देखाएको तानाशाही प्रवृत्तिले लोकतान्त्रिक मूल्य र मान्यताको पूर्ण उपहास गरेको छ। यस्तो क्रूर र अलोकतान्त्रिक सरकारसँग हाम्रो कुनै सम्बन्ध रहनु नै सक्दैन। तसर्थ, म पार्टीबाट यस सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता लिनु पर्ने प्रस्ताव गर्दछु।

यससँगै, म निम्न बुँदाहरूमा समेत पार्टीको ध्यानाकर्षण गराउँछु:

१. वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यू विगतमा मधेश आन्दोलनका क्रममा मृतकहरूलाई ‘आप’ (आतङ्ककारी) को संज्ञा दिने व्यक्ति हुन्। अहिले फेरि उहाँकै नेतृत्वमा जनतामाथि दमन दोहोरिएको छ।

२. जनमत पार्टीले प्रस्तुत गरेको “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” सम्बन्धी राजनीतिक प्रस्तावमा व्यापक सुधारका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यस प्रस्तावमा

आन्दोलनकारीहरूको नेतृत्वमा अन्तरिम सरकार गठन,

भ्रष्टाचारविरुद्ध छानबिन गर्न शक्तिशाली आयोग गठन,

संवैधानिक निकायहरूमा प्रत्यक्ष निर्वाचित पदाधिकारीहरूको व्यवस्था
जस्ता बुँदाहरू समावेश छन्।

३. अहिले ‘जेनजी आन्दोलन’ले उठाएका मागहरू पनि यिनै प्रस्तावहरूसँग मेल खाने खालका छन्। तसर्थ, म यस आन्दोलनप्रति पूर्ण सहयोग र समर्थन गर्ने निर्णय पार्टीले गर्नुपर्ने आवश्यकता महसुस गर्दछु।

निष्कर्षस्वरूप,
– सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता लिइयोस्,
– जेनजी आन्दोलनप्रति जनमत पार्टीको समर्थन र ऐक्यबद्धता घोषणा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु।

धन्यवाद।

बीपी साह
केन्द्रीय सचिव
जनमत पार्टी
२०८२ भदौ २४

तपाईको प्रतिक्रिया