प्रशोधित दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ

राष्ट्रिय दुग्ध विकास बोर्डले सरकारलाई दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरेको छ । यसअघि प्रशोधित दूधको मूल्य प्रतिलिटर ७६ रुपियाँ थियो । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार त्यसमा १० रुपियाँ वृद्धि गरी प्रतिलिटर ८६ रुपियाँ बनाएको हो । १० रुपियाँमध्ये प्रतिलिटर सात रुपियाँ किसानलाई र तीन रुपियाँ उद्योगीलाई जान्छ । ८६ रुपियाँ प्रतिलिटरमा दुई रुपियाँ मुनाफा राखिएको छ ।
किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ देखाएको छ । त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपियाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरिएको छ । त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपियाँ कायम गरिएको छ ।
विगत दुई वर्षमा गाई भैंसी खरीद मूल्यमा करिव ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैंकको व्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फिती करीव १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि गरेको सिफारिस समितिले जनाएको छ । आर्थिक वर्ष २०६७÷०६८ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपियाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपियाँ कायम गरिएको थियो । २०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपियाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपियाँ, २०७४ भदौं १ गते प्रतिलिटर ७० रुपियाँ र २०७६ भदौं २१ गते ७६ रुपियाँ कायम गरिएको थियो भने अहिले प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरेको छ । पाँच वर्षको अवधिमा यसपाली नै सबैभन्दा बढी मूल्य वृद्धि सिफारिस गरिएको छ ।
विगतमा दूधको मूल्य निर्धारण गर्दा कच्चा दूधको मूल्य ४ प्रतिशत चिल्लो र ८ प्रतिशत एसएनएफको आधारमा र उपभोक्ता मूल्य ३ प्रतिशत चिल्लो र ८ प्रतिशत एसएनएफको आधारमा निर्धारण गर्ने गरेको अभ्यास रही आएको छ । दूधको गुणस्तर सुधार गर्न ६८ प्रतिशत अल्कोहलले परीक्षण गरी दूध खरीद विक्री गर्ने गरीएको छ । नेपालमा वार्षिक कूल दूध उत्पादन २३ लाख एक हजार मेट्रिकटन पुगेको छ । कूल दूध उत्पादनको ४० प्रतिशत गाईबाट र ६० प्रतिशत भैसीबाट भएको देखिन्छ । गाईले औषतमा प्रतिवेत ७८९ लिटर र भैंसीले ८४४ लिटर दूध दिने गरेको देखिन्छ । जुन अन्य मुलुकको तुलनामा उत्पादकत्व अत्यन्तै न्युन हो ।

तपाईको प्रतिक्रिया