Khadya Bibhag

गोलभेँडाको लागत उठाउनै मुस्किल

सर्लाहीका किसानलाई गोलभेडाले उचित मूल्य नपाउँदा लागत उठाउन समेत मुस्किल परेको छ । यहाँका किसानले अहिले गोलभेडा प्रतिकिलो १२ देखि १५ रुपियाँमा बिक्री गरिरहेका छन् । लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान बद्री बरालले गोलभेडा एक क्रेटको ३०० देखि ३५० रुपियाँमा बिक्री गर्नुपर्दा लागत उठाउन समेत मुस्किल परेको गुनासो गर्नुभयो । एक क्रेटमा २५ किलो गोलभेडा हुन्छ । बरालले अहिलेको बजार मूल्यमा गोलभेडा बिक्री गर्दा आफ्नो हैरानी, मलखाद र विषादीको खर्च उठाउनै मुस्किल रहेको बताउनुभयो ।
“यो मूल्यमा गोलभेडा बेच्दा लागत उठाउनै धौधौ पर्छ,” बरालले भन्नुभयो, “खेती नलगाए बाँच्ने अर्को आधार हुँदैन, फेरि यो मूल्यमा गोलभेँडा बेच्दा लागत उठाउन नै मुस्किल छ ।” किसानले लगाएको गोलभेँडा अहिले पाकेर खेत राताम्मे छ । पाकेको गोलभेँडा तत्काल नटिपे नष्ट भएर जाने भएकाले सस्तो मूल्यमै बिक्री गर्नुपरेको गुनासो किसानले गरेका छन् । हरिवन नगरपालिका–४, सासापुरका किसान कामेश्वरप्रसाद साहले गोलभेँडाको भाउ नपाएर किसान मर्कामा परिरहेका बताउनुभयो ।
उहाँले सबैथोक मङ्गो भएको तर किसानले फलाएको कृषि उपज सस्तिँदै गएको दुःखेसो पोख्नुभयो । टनेलभित्र व्यावसायिक तरकारी खेती गर्नुभएका साहले किसानलाई फाइदा बस्नका लागि गोलभेँडा क्रेटको कम्तीमा पनि ५०० रुपियाँसम्म हुनुपर्ने बताउनुभयो । “५०० रुपियाँसम्मको क्रेट पायौँ भने हामी किसानलाई केही फाइदा बस्छ तर अहिले मुस्किलले क्रेटको ३०० देखि ३५० रुपियाँमा बिक्री गर्नुपरेको छ”, साहले भन्नुभयो । उहाँले एक क्रेट गोलभेँडा फलाउनै खर्च मात्रै ३०० रुपियाँ भेट्न जाने जानकारी दिनुभयो ।
सर्लाहीको उत्तरी भेगका लालबन्दी, हरिवन र ईश्वरपुर नगरपालिकामा गोलभेँडाको व्यावसायिक खेती हुने गरेको छ । व्यावसायिक रुपमा उन्नत जातको गोलभेँडा खेती गर्दै आउनुभएका लालबन्दी नगरपालिका ११, हीरापुरकी किसान पवित्रा कुमारी दङ्गालले गएको वर्ष यो याममा गोलभेँडा प्रतिक्रेट एक हजारदेखि एक हजार २०० रुपियाँमा बिक्री भएपनि यो वर्ष अहिले प्रतिक्रेट ३००÷४०० रुपियाँमा बिक्री गर्नुपरेको बताउनुभयो ।
उहाँले सिंचाइ अभावमा उन्नत जातको गोलभेँडा फलाउनै मुस्किल परिरहेको अवस्थामा भाउ नपाएको गुनासो ब्यक्त गर्नुभयो । सासापुरस्थित लच्कामा लाग्ने गोलभेँडा बजारका व्यापारी रामगणेश चौधरीले अन्य पहाडी जिल्लामा समेत गोलभेँडा उत्पादन भएर काठमाडौँसहितका प्रमुख बजारमा ती ठाउँका गोलभेँडा पुग्न थालेको र भारतीय गोलभेँडा समेत भित्रिरहेकाले यहाँको उत्पादनमा राम्रो मूल्य पाउन नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया