दूध उत्पादनका लागि अमेरिकाबाट साँढे र भारतबाट राँगा

दुध उत्पादकत्व र उत्पादन वृद्धिका लागि अमेरिकाबाट उन्नतजातको सातवटा साँढे ल्याइसकेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट उन्नतजातको मुर्राजातको राँगा ल्याउने तयारी थालेको छ । दूधमा आत्मनिर्भर हुँदै निर्यात समेत गर्नका लागि त्यसको उत्पादनमा जोड दिनका लागि कृषि मन्त्रालयले उन्नतजातको गाई र भैसी विकास गर्ने अभियानमा लागेको छ ।

त्यसका लागि मुर्रा जातका राँगा ल्याउन लागेको मन्त्रालयले जनाएको छ । सो जातको राँगा खरिद गर्र्ने भनि भारतसमक्ष प्रस्ताव गरिसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा हालै सम्पन्न गर्नु भएको भारत भ्रमणको क्रममा नेपालको तर्फबाट सो प्रस्ताव गरिएको कृषि मन्त्री महिन्द्रराय यादवले बताउनुभयो । अनुवांशिक स्रोतका लागि सो मूर्रा जातको राँगा भारतसँग खरिदका लागि प्रस्ताव गरिएको हो । कति सँख्यामा र कति मूल्य पर्ने विषयमा अहिले केही कुरा भएको छैन, हामी अहिले प्रस्ताव मात्र गरेका छौं, उहाँले भन्नुभयो, भारतले राँगा दिनका लागि सकारात्मक भएको छ, त्यसका लागि हाम्रोतर्फबाट चाँडै कागजी प्रकृया पुरा गरेर ल्याउने तयारी हुन्छ ।’

मूर्रा जातकको राँगा किन्नका लागि प्रधानमन्त्री भ्रमणका क्रममा छलफल भएको कारण यो सफल हुनेमा आफू विश्वस्त रहेको मन्त्री यादवले बताउनुभयो । भारतसँग राँगा किनका लागि प्रकृया पनि अगाडि बढी सकेको छ । कृषि मन्त्रालयले ६–७ महिनाअघि नै पत्रकार गरेको छ । भारतबाट सकारात्मक प्रतिकृया आएको छ ।

कृषि मन्त्रालय स्रोतका अनुसार नेपालको तर्फबाट यसअघि नै कागजी प्रकृया सुरु भएको हो । नेपालले सिरहाका लहान, कास्कीको पोखरा, बाँकेको नेपालगञ्जका लागि गरी ३० वटा राँगा माग गरिएको छ । भारत पनि दिनका लागि सकारात्मक भएको थियो । कति मूल्य पर्छ, कुन फर्माबाट, कुन नाकाबाट, कसरी पठाउने लागायतका जिज्ञासासहितको पत्र नेपालको तर्फबाट पठाइएको थियो । उताबाट जवाफ आउन धेरै नै ढिला भयो । यही क्रममा प्रधानमन्त्री देउवाको भारत भ्रमण भयो । सो क्रममा नेपालको तर्फबाट त्यसको बारेमा पुनः प्रस्ताव राखेपछि यो प्रकृया अगाडि बढेको हो । भारत सकारात्मक भएको छ । मुर्रा जातका राँगा ल्याउने कुरामा सहमति भएको छ अब चााँडै आउने विश्वास मन्त्रालयले लिएको छ ।

नेपालका भैंसी एक बेंतमा लगभग १६ सयदेखि १७ सय लिटर मात्र दूध दिन्छ तर मुर्रा जातको भैंसीले एक बेंतमा चार हजार भन्दा बढी लिटर दूध दिन्छन् । त्यही भएर नेपालका लागि मुर्रा जातको राँगा आवश्यक रहेको मन्त्री यादवले बताउनुभयो । दूधको उत्पादकत्व र उत्पादन बढाउनकै लागि यसअघि कृषि मन्त्रालयले अमेरिकाबाट उन्नत जातका सातवटा साँढे किनेर ल्याइसकेका छन् । ती साढेलाई सम्बन्धित फर्ममा पठाई सकेका छन् ।

तपाईको प्रतिक्रिया