‘स्ट्रिट फुड’लाई स्वस्थ्यकर बनाउने

सरकारले स्ट्रिट फुड (सडक छाउका खानेकुरा) र परम्परागत रुपमा चलिरहेका कृषि बजारलाई सुधार गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तरर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विभागका अनुसार कुल एक लाख ६१ हजार ३५६ अमेरिकी डलर बजेटको सो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ । यो कार्यक्रमको बारेमा जानकारी गराउनका लागि विभागले मंगलवार एक गोष्ठीको आयोजना गरिएको थियो । परम्परागत रुपमा चलिरहेका कृषि बजार तथा सडकछेउमा सञ्चालनमा रहेका स्ट्रिट फूड स्टलहरुले उपलब्ध गराउने खाद्य वस्तुको गुणस्तरको अवस्था विश्लेषण गर्दै खाद्य स्वच्छतालाई वृद्धि गर्ने उद्देश्य यस कार्यक्रमको रहेको विभागका महानिर्देशक मतिना जोशी बैद्यले जानकारी दिनुभयो ।

जोखिम व्यवस्थापन तथा त्यसमा देखिएको समस्या सुधारका लागि सचेतना बढाउने लगायतका विषयमा आवश्यक नीतिगत सुधारलगायतका कार्यक्रम गरिने उहाँले बताउनुभयो । स्ट्रीट फुड प्रणालीलाई आधुनिकीकरण गर्नको लागि विभागले पालिकाहरुसँग सहकार्य गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘यो कार्यक्रमको मुख्य उद्देश्य उपभोक्तालाई स्वच्छ खाद्य वस्तु सेवन गराउनु नै हो ।’


कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सरकारले सडकमा बेच्न राखेको तरकारी तथा अन्य वस्तुहरु नगरिकहरुले उपयोग गर्न कतिको सुरक्षित छन्, त्यसको बारेमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया