सिरहाका कम्युनिष्ट नेता हेमनारायण यादबको १७ औं स्मृति दिवस मनाएको छ । सिरहामा आयोजना गरेको स्मृतिसभाको सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।
३ वर्षदेखि प्रधानमन्त्री ओलीले हेमनारायणको स्मृतिसभामा उपस्थिति भइ विभिन्न आश्वासन र प्रतिवद्धता व्यक्त गर्दै आउनु भएको छ तर आजसम्म त्यो प्रतिवद्धता र आश्वासन पुरा भएको छैन । हेमनारायण यादवको हत्या भएको १७ वर्ष भइसक्यो तर हालसम्म दोषी फेला पार्न सकेको छैन ।
संसदीय समितिदेखि लिएर पार्टीबाट गठन भएको छानविन समिति र मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनले नेपाली सेनातिर इगिंत गरेको छ ।
तर हालसम्म दोषीमाथि कारवाही भएको छैन । सरकारी स्रोतका अनुसार माओवादी द्वन्दका मुद्दाहरु छिनोफानो गर्दा यो मुद्दालाई पनि त्यसैमा राखेर टुगों लगाउने तयारी भइरहेको छ । तर हेमनारायण यादवका परिवार अझै विश्वस्त हुन सकेको छैन ।
हेमनारायण यादवका छोरा डा.नविन यादवले भन्नुभयो, ‘अब त आशा नै मारिसके । बुवाको निधन भएपछि प्रत्येक प्राधनमन्त्रीसँग भेटेका छौं त्यसमा सबैले आश्वासन मात्र दिनुभयो । यो १७ वर्षको अवधिमा सबभन्दा बढी कम्युनिस्ट नेता नै प्रधानमन्त्री हुनुभयो ।’ तर भनिन्छ नि सांस रहेसम्म आस गर्न सकिन्छ, दोषीलाई कारवाही गर्न आफूहरुले दवाव दिइ रहने उहाँले बताउनुभयो ।
कसरी भयो हत्या ?
२०६० माघ १९ गते सोमवार आफैले बेचेका २ विगहा १५ कठ्ठा जग्गा रजिष्टेशन पास गर्ने क्रममा सिरहा मालपोत कार्यालयबाट आफ्नो काम सिध्याएर पार्टीको एउटा कार्यक्रममा सहभागीका लागि उहाँ हिड्नु भएको थियो । दिनको १२ बजेपछि आफ्नो छोरी ज्वाइको नाममा दर्ता रहेको स १ प २८३८ को मोटरसाइकल लिएर धनगढीमा तत्कालिन एमाले सिरहाको जिल्ला कमिटीका सचिव हीरा सुनवारको घरमा पार्टीको बैठकमा सहभागी हुनका लागि उहाँ गइराख्नु भएको थियो ।
तर महेन्द्र राजमार्गको चोहर्वाबाट पूर्व १० किलोमिटर दुरीको बिचमा गोलबजारको यूनिफाइड कमाण्ड पार गरेर गागन खोलाको १२८.४० मिटरको दुरीमा रहेको दोश्रो पुलमा पुगेपछि पुलको पूर्वीमुखमा उत्तरपट्टि रहेको फराकिलो भागमा उत्तर मुख फर्काएर राखिएको गाडीबाट दुइजनाले मोटरसाइकल रोक्न इसारा दिएका थिए । हेमनारायण यादवले बाइक रोक्नै खोज्दा उहाँलाई उनीहरुले धकेलेर मोटरसाइकल सहित खसाले पछि उहाँलाई गाडीमा हालेर त्यहाँबाट निस्केका थिए ।
अर्को दुईजनाले मोटरसाइकल लिएर कसहा तिर लागेका थिए । महेन्द्र राज्यमार्गको २७ नम्बर कल्भर्टबाट गाडी र मोटरसाइकल उत्तरतर्फको कच्ची बाटोमा लगेका र पछि मुसहरनिया चौकदेखि करिब एककिलोमिटर टाढा रहेको ढिस्कोसम्म देखेको त्यतिबेला गिट्टी मजदुरहरुले बताएका थिए ।
भोलिपल्ट माघ २० गते कमरेड यादवको मृत शरिर कमला नदीको पुलभन्दा पश्चिम धनुषा जिल्लाको लवटोली ५ मा फेला परेको थियो ।
घटनास्थलमा २० र ३० साइजको हसिया हथौडा इनामेलद्घारा अंकित झण्डा फेला परेको थियो । झण्डा राम्रो बनाउन पनि सकेको थिएन । त्यहाँ तत्कालिन माओवादीको पर्चा पनि भेटिएको थियो । साथै तीनवटा गोलीका खोका बरामद समेत भएको थियो । साथमा २०१ र ०५६ नम्बरका प्रतिनिधी सभासदस्यको परिचयपत्र पनि थियो । ११ र ७५३ नम्बरको २०५२ चैत ३० गते जारी गरिएको सवारी चालक अनुमतिपत्र तथा ३९०४८९ नम्बरको नागरिकता, नेकपा एमालेको संगठित सदस्यको रसिद, भिजिटीङ्ग कार्ड, टेलिफोन रसिद भेटाएको थियो । तत्कालिन सिरहा अस्पतालका मेसु डा. राजकुमार चौधरीको शव परीक्षण रिपोर्टमा टाउकोमा लागेको गोली दाहिने कनपट्टीमा छिरेर देबरेबाट निस्केको र अर्को गोली ढाडमा लागेर आरबी बाउण्ड भएकोले उहाँको मृत्यु भएको भनि प्रमाणित गर्नुभएको थियो ।
केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशाला महराजगञ्जले ढरज्ञढःक्ठछअ अंकित एक गोली, ढरज्ञढःक्डछ लेखिएको अर्को गोली र तेस्रो गोलीमध्ये दुईवटा सर्ट मेसिनगनबाट फाइर भएको उल्लेख गरेको थियो । हत्या भएको ठाउँमा तत्कालिन माओवादीको नारा लेखिएको पर्चा फेला परेपनि त्यतिबेला तत्कालै माओवादी नेता डा बाबुराम भट्टराइले हेमनारायण यादवको हत्यामा आाफ्नो संलग्नता नरहेको भनि खण्डन गर्नुभएको छ ।
तत्कालिन माओवादीका प्रवक्ता कृष्णबहादुर महाराले पनि विज्ञप्ति जारी गरेर शाही सेनाले गिरफ्तार गरी टाउकोमा गोली हानी हत्या गरेको दावी गर्नुभएको थियो । त्यस्तै हेमनारायण यादव हत्याकाण्ड छानबिन संसदिय समितिका संयोजक सांसद आनन्द ढुङ्गानाको प्रतिवेदनमा राजनीति इच्छा पूर्तिकोलागि हत्या भएको र संयत्रपुर्ण हत्याको जिम्मा तात्कालिन यूनिफाइड कमाण्डको मातहतमा रहेको शाही नेपाली सेनाले लिनुपर्छ भनि उल्लेख छ । सैनिक अधिकारीको संलग्नतामा हत्या भएको छ भनि त्यसमा प्रष्ट लेखिएको थियो ।
नेपाल मानवअधिकार संगठनले हत्यामा सिरहाका इन्द्रध्वज गंणका कर्णेल बाबुकृष्ण कार्की संलग्न रहेको प्रतिवेदन दिएको थियो । रक्षा मन्त्रालयले प्रहरी टोलीको निष्कर्षलाई नै नेपाली जंगी अड्डाले आधार बनाएको छ भने संसदीय छानविन समितिले दिएको प्रतिवेदनमा बुँदा १३ मा घटनाको मुख्य केन्द्रबिन्दुमा चोहर्वा ब्यारेकलाई राखेको थियो र सो हत्यामा इन्द्रध्वज गणका कर्णेल बाबुकृष्ण कार्कीकै संलग्नता रहेको भनेका थिए ।
तत्कालिन एमालेले पार्टीका महासचिव माधव कुमार नेपालले हेमनाराण यादवको श्रद्धाञ्जलीसभामा भन्नुभएको थियो, हेरी रहेकोछु हत्यारा एउटा पातलो पर्दाको पछाडि उभेका छन् । जबसम्म हत्यारालाई कठघेरामा उभाइदिन तबसम्म चयनको सांस लिन्न भनेको पनि १७ वर्ष भइसक्यो तर उहाँ प्रधानमन्त्री भइसक्दा पनि पर्दा पछाडी बसेकालाई बाहिर ल्याउन सक्नु भएन ।
पारिवारिक जीवन
पुलकित भिन्दवार यादवको छोरा हेमनारायण यादवको जन्म सिरहा नगरपालिका ७ महिसोथामा २०१२ जेठ ९ गते भएको थियो । हेमनारायण यादवको विवाह पारोदेवी यादवसँग २०३० सालमा भएको थियो । उहाँका दुईछोरा र चार छोरीहरु छन् । छोराहरु डा नविन कुमार यादव, छोरीहरु क्रमशः बबिता यादव, ममता यादव, निसा यादव, ऋषु यादव र कान्छा छोरा डा. प्रवीण कुमार यादव रहेका छन् ।
हेमनारायण यादवले सिरहा नगरपालिकाकै मानपुर गाउँमा निमावि तहसम्म शिक्षा प्राप्त गर्नुभएको थियो भने त्यसपछि देशकै दोश्रो चन्द्र माध्यमिक विद्यालयबाट उहाँले एसएलसी पास गर्नुभयो । उच्च शिक्षाका लागि उहाँले भारत विहारको जयनगरमा अध्ययन गर्नुभयो र त्यहाँबाट इन्टर पास गर्नुभयो । त्यसपछि उहाँले जनकपुरको राराब क्यापसबाट बीकम उतिर्ण गर्नुभयो ।
राजनीतिक यात्रा २०३६ सालको जनमतसंग्रहको घोषणासँगै विद्यार्थी आन्दोलनबाट उहाँको राजनीतिक यात्रा सुरु भएको थियो । २०४० सालमा पञ्चायती व्यवस्थाको जनवर्गिय संगठन नेपाल किसान संघ सिरहाका जिल्ला सभापतिमा निर्वाचित हुनुभएका उहाँ रामराजा प्रसाद सिंहको जनवादी मोर्चामा लागेर २०४० सालमा काठमाडौं र सिरहामा भएका बम विष्फोटनका काण्डमा मुछिएर छानबिनका लागि २०४२ सालमा एक महिना १७ दिनसम्म थुनामा पनि पर्नु भएको थियो ।
२०४४ सालमा सिरहा गाउँपञ्चायतको प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो । २०४६ सालको जनआन्दोलनबाट नेपालमा बहुदलीय व्यवस्थको पुनरवहाली भएपछि उहाँ नेपाल सदभावनापार्टीमा लागेर सिरहाको अध्यक्ष समेत बन्नुभएको थियो ।
२०४८ र २०५१ सालको आम निर्वाचनमा नेपाल सदभावनापार्टीबाट टिकट पाएर सिरहा क्षेत्र नं ४ बाट चुनाव लड्नु भएको थियो तर उहाँ जित्न सक्नु भएन । चुनाव नजितेपछि उहाँ २०५२ जेठ ४ गते तत्कालिन एमालेमा प्रवेश गर्नुभएको थियो । २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन एमालेबाट एमालेबाट स्थानीय निर्वाचनमा सिरहा नगरपालिकाको मेयर पदमा चुनाव लड्नु भएको थियो ।
तर उहाँ जित्नु भएन । २०५४ माघ १२ देखि १८ मा नेपालगञ्जमा आयोजित छैठो महाधिवेशनबाट एमाले विभाजित भएको थियो तर उहाँ मुल पार्टीमा नै रहनु भएको थियो । २०५६ को आमनिर्वाचनमा तत्कालिन एमालेबाट सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभासदस्यका लागि उहाँ चुनाव लड्नु भएको थियो । १९ हजार २३५ मतले उहाँ विजय हुनुभएको थियो ।



तपाईको प्रतिक्रिया