यो चिसो मौसममा राजनीतिक गर्मी बढेको छ । जताततै राजनीतिक कार्यक्रमम, सभा, जुलस् भइरहेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक दल, नागरिक समाजहरु आन्दोलित भएका छन् । जसले कार्यक्रम गरेपनि सबैमा भिड उत्तिकै देखिन्छ । अनुहार त्यही देखिन्छ । समाजिक संघ संगठनले गर्ने कार्यक्रममा एउटै खालको व्यक्ति आउनु ठिक्कै हो तर राजनीतिक पार्टीको कार्यक्रममा पनि एउटै अनुहार एउटै भिड हुनु सोचनीय विषय बनेको छ ।
यो आन्दोलन कार्यक्रमका कारण गाउँघरतिर कसैका लागि व्यपार बनेको छ भने कसैका लागि बध्यता त कसैका लागि समाजसेवा । अहिले अधिकाँश मजदुरहरुले आआफ्ना काम छाडेर राजनीतिक कार्यक्रमहरुमा जान रुचाउन थालेका छन् । त्यसको एउटै कारणले हो, त्यहाँ गएपछि खान पाइन्छ, घुम्न पाइन्छ, गाडी चढ्न पाइन्छ त्यो भन्दा महत्वपूर्ण कुरा पैसा पनि पाइन्छ ।
घर बनाउने कामको ठेकेदारी गर्दै आउनु भएका सप्तरीका देवानन्द चौधरीले भन्नुभयो, अहिले मजदुर पाउन गाह्रो भइरहेको छ, आफ्नो साइटमा काम गरिरहेका मजदुरहरु पनि एकाएक गायब हुन थालेका छन्, बुझ्दै जाँदा त उनीहरु राजनीतिक दलको कार्यक्रममा सहभागी पो हुन थालेका छन् । उनीहरुको झण्डा बोकेर नारा लगाउँदा भिड जम्मा गर्दा दिनको एक दुई हजार रुपियाँ पाइन्छ र खानपिन छुट्टै रामाइलो छुट्टै । त्यसले गर्दा अहिले धेरैको आकर्षण उतैतिर बढेको छ ।’
जसरी कुनै खेतमा वा अन्य ठाउँमा काम गराउनका लागि ठेकेदारहरु गाउँगाउँ गएर मजदुर खोजेर लान्थे । अहिले त्यसरी नै राजनीतिकका ठेकेदारहरु गाउँगाउँ गएर यही दलित तथा पिछडिएका समुदायलाई विभिन्न प्रलोभन दिएर सभा सम्मेलनमा लैजाने गरेका छन् । अहिले दिनहुँ जस्तो सदरमुकाम तथा शहरबजारमा सभासम्मेलनहरु भइरहेका हुन्छन् ।
ती सभा सम्मेलनमा भिड देखाउनका लागि गाउँ गाउँबाट दलित तथा पिछडिएका समुदायलाई विभिन्न प्रलोभन देखाएर जनसभामा लैजानु अहिले समान्य भइसकेको छ । त्यो पार्टिसँग आवद्ध होस् या नहोस् मतलब छैन । अहिले जुनसुकै पार्टीले वा संगठनले सभा सम्मेलन गरेको होस् सबैमा उतिकै भिड हुन्छन् । चाहे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (दुवै पक्ष) को सम्मेलन होस् या नेपाली काँग्रेस अथाव जनता समाजवादी पार्टी नेपालको किन नहोस् । यहाँसम्म कि राजतन्त्र र हिन्दुराष्ट्रका आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य संघ संगठनले आयोजना गरेको कार्यक्रम किन नहोस् त्यहाँ त्यतिकै भिड हुन्छ । भिडको अनुहार एउटै हुन्छ । त्यहाँ भएको भिडलाई ती पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो झण्डा बोकाएर नारा लगाउन लगाएका हुन्छन् ।
न पार्टी थाह छ न नेता
त्यहाँ नारा लगाउने अधिकाँशलाई कुन पार्टीमा आएको र किन नारा लगाएको पनि थाह हुँदैनन् । उनीहरुमध्ये कोही पैसा लिएका कारण आएका हुन्छन्, कोही खाने लोभमा आएका हुन्छन् भने कोही अन्य लोभमा आएका हुन्छन् । माघ २३ गते काठमाडौंको दरवारमार्गमा जनसभाको आयोजना गरेका नेकपा ओली समूहको कार्यक्रममा आएका एक साह थर (नाम उल्लेख नगर्न आग्रह गरेको) ले भन्नुभयो, तराई मधेशबाट आएका ५० प्रतिशतलाई प्रधानमन्त्रीका नाम पनि थाह छैन, कसको कार्यक्रममा आएको भन्नु धेरै टाढाको कुरा । उनीहरुलाई सित्तैमा काठमाडौं घुमाउने भनेर ल्याएको छ, अकिाँश काठमाडौं घुम्नका लागि गाडि चढेर काठमाडौं आएका छन् । बाटोमा भात खुवाएका छन् काठमाडौंमा आएपछि अहिलेसम्म खाएको छैन ।’
कोही पनि पैसा लिएर नआएको दावी गर्दै साहले भने, नेताहरुले विभिन्न नाममा पिछडिएका जनतालाई झुक्याएर काठमाडौंसम्म ल्याएका छन् ।’ सप्तरीका दलित अभियानी भोला पासवान फोनमा कुरा गर्दै भन्नुभयो, वास्तवमा भन्ने हो भने अहिले गाउँघरतिर जनता विक्रिमा छन् भन्दा फरक पर्दैन, खरिद विक्रि नै हुन्छ दामासाही नै हुन्छ, बिचौलियाले बार्गेनिङ गरेर दलित तथा पिछडिएकालाई कार्यक्रममा उतारेका हुन्छन् ।’
अहिले त यस्तो अवस्था भएको छ कि दलित तथा पिछडिएको वस्तीका जनताहरु प्रतिक्षामा बसेका हुन्छन् कि आज कसैको जनसभा होस् र आफूहरुलाई लिन आओस् । जनसभामा जाँदा फाइदा नै हुन्छ घाटा हुँदैन । मेहनत गर्नुपर्दैन । उल्टै प्रति परिवार दुई हजारदेखि पाँच हजार रुपियाँसम्म पनि पाउँछन् र बस वा गाडि चढेर नयाँ नयाँ ठाउँ पनि घुम्न पाउँछन् । मिठो खान पनि पाइन्छ ।
सधै यस्तै भइ दियो भनि चाहना उनीहरुको हुन्छ । मुसहर समुदायको विकास तथा चेतनाका लागि अभियानमा लागेका अभियानी राजकुमार महतोले राजनीतिक दलका नेताहरुले विभिन्न लोभ लालच दिएर दलित तथा पिछडिएका समुदायको आदत विगारिसकेका छन्, ती समुदाय अहिले प्रतिक्षा गर्न थालेका छन् कि आएर कसैले केही दियोस् र कार्यक्रममा लैजओस् । जुनदिन उनीहरु कार्यक्रम जाँदैन त्यो दिन उनीहरुको दिन खराब जस्तै हुन्छ ।’
विभिन्न प्रलोभन
दलित तथा मुसहर वस्तीमा गएर राजनीतिक दलका ठेकेदारहरु जमिनको लालपूर्जा दिलाई दिने, मोहियानी हक दिलाई दिने, सबैलाई एउटा एउटा घर बनाई दिने, घरघरमा ग्यास चुल्हो दिने जस्ता प्रलोभन दिएका हुन्छन्, सबैको नाम पनि टिपेका हुन्छन् र त्यसैका लागि भन्दै सबैलाई गाडिमा ओसार्दै जनसभाहरुमा भिडका हिस्सा बनाएका हुन्छन् । प्रधानमन्त्रीले आज सबैलाई जमिनको लालपूर्जा वितरण गर्दै छन् जो जान्छन् उ पाउँछन् जो जाँदैन उसले पाउँदैन भनि वस्तीमा गएर राजनीति दलका अगुवाहरुले भ्रम फैलाएका हुन्छन् ।
सबैलाई एउटा घर दिने, फलानो मन्त्री कार्यक्रममा आएका छन् । आज नाम नै एलाउन्स गर्ने जो जान्छ उसको नाम एलाउन्स हुन्छ जो जाँदैन उसको नाम एलाउन्स हुँदैन भन्दै सबैलाई दीग्भ्रमित गरेका हुन्छन् र घर नपाउने हो कि जमिनको लालपूर्जा नपाउने हो कि भन्ने डरले सबै घरघरबाट निस्केका हुन्छन् । पहिलाको जमिन्दारी प्रथा अहिलेका राजनीति प्रथामा परिवर्तन भएको छ । पहिलाका जमिन्दाहरु जसरी गाउँघरका दलित तथा पिछडिएकालाई शोषण गरेर खेत तथा घरमा काम गर्न लगाउँथे आज तिनै जमिन्दार राजनीतिक ठेकेदार भएको बताउँछन् सिरहाका दलित अभियानी राकेश विद्रोही । उनै जमिन्दाहरु आज आफ्नो बर्चस्व देखाउन, राजनीति दलमा पक्कड बनाउन ती दलित, पिछडिएका गरिब निमुखालाई प्रयोग गरिरहेको छन् ।
दलित तथा मुसहर वस्तीमा शिक्षा तथा चेतनाको कमी छ । वेरोजगार छन् । आर्थिक अवस्था राम्रो छैन । राती खाएपछि दिनमा के खाने भनि चिन्ता हुन्छ । र, त्यस अवस्थामा ल तिमीलाई आज दुई हजार रुपियाँ दिन्छु, एकछिनका लागि कार्यक्रममा गइदिनुपर्छ, त्यहाँ खाना पनि फ्रिमा खुवाइन्छ भनेपछि किन आफूलाई बेच्न तयार हुँदैन, खुशी खुशी जान्छन् । र देशका शासकहरुले ती समुदाय यसरी नै पिछडिएको होस्, अशिक्षित र गरिब रही रहा्ेस् जसलाई यस्तै दिनका लागि प्रयोग गर्न सकियोस् भनेका चाहेका हुन्छन् ।
नेताका मान्छे जाँदैनन्
जो पार्टीको लाभको पदमा हुन्छन्, पार्टीबाट सांसद, मन्त्री भएका हुन्छन् तर त्यस्तो जनसभाहरुमा उनकै परिवारका मान्छेहरु आएका हुँदैनन् । उनकै छरछिमेक आएका हुँदैनन् । उनकै छोराछोरी, आमा बुवा, दाजु भाउजु, भाइ, वहिनी आएका हुँदैनन् । जो टाठा, बाँठा र अलिकति पढे लेखेका छन्, त्यस्ता व्यक्तिहरु जनसभामा जँदैनन् । जुन नेताले गाउँ गाउँ गएर पिछडिएका समुदायलाई गाडीमा हालेर काठमाडौंसम्म ल्याउँछन् त्यही नेताले आफ्ना आमा, बुवा, छोराछोरी, श्रीमतीलाई काठमाडौंसम्म ल्याएका हुँदैनन्, पत्रकार अनन्त अनुरागले भन्नुभयो, जो सांसद छन् उ थुप्रैलाई रक्सी मासु, यहाँसम्म कि पैसा दिएर शहर शहर जनसभाहरुमा लगिरहेका हुन्छन् तर त्यही उहाँका छोराछोरीहरु घरमै हुन्छन् तर साथमा कसैलाई ल्याएका हुँदैन यसैबाट स्पष्ट हुन्छ निमुखालाई मात्र भिडभाडका लागि प्रयोग गर्छ ।’
त्यहाँ जानेहरु सबै निमुखा, गरिब, वेरोजगार र खान नपाएकाहरु हुन्छन् जसको खुट्टामा चप्पल समेत हुँदैन । त्यसलाई राजनीतिक चेतना पनि हुँदैन र एउटा भिडको हिस्सा बन्न मात्र गएका हुन्छन् । विभिन्न समयका आन्दोलनमा भएका सहिदको लिस्ट हेर्दा सबै कुरा स्पष्ट हुन्छ कि आन्दोलन तथा सभाहरुमा यस्तै गरिब तथा पिछडिएका समुदायहरु सहभागी भएका हुन्छन् ।
माघ १९ गते सिरहामा हेमनारायण स्मृतिसभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली गएका थिए । त्यहाँ भिड देखाउनका लागि गाउँ गाउँबाट दलित समुदायलाई ल्याएको दलित अभियान राकेश वद्रोही (राम) ले दावी गर्नुभयो । उहाँले भन्नुभयो, सिरहा लहाननगरपालिकाको १ नम्बर वडा र ५ नम्बर वडामा चारवटा गाडि लिएर पुगेका थिए नेकपा ओली समूहका कार्यकर्ताहरु । उनीहरुमध्ये कसैलाई पैसाको प्रलोभन दिए भने कसैलाई जग्गाको लालपूर्जा दिलाई दिने प्रलोभन दिए भने कसैलाई खाना खुवाउने प्रलोभन दिएर सबैलाई गाडिमा हालेर सिरहा सदरमुकाम पुर्याएका थिए ।’
राजनीतिक ठेकेदारहरुको ‘ब्ल्याकमेलिङ’
–राकेश विद्रोही, समाजिक अभियन्ता
तपाई गाउँघरतिर बढी घुमघाम गर्नुहुन्छ, भनिन्छ, अहिलेको जनसभाहरुमा भाडाका मान्छेहरु लगिन्छ यो कुरामा कतिको सत्यता छ ?
–कुरा सत्य हो । तर सबैले पैसा नै लिएका हुँदैन । उनीहरुलाई विभिन्न प्रलोभनहरु दिएका हुन्छन् । कोही कुनै प्रलोभनमा परेन भने त्यसलाई रकम दिएर भए पनि जनसभाहरुमा लगेका हुन्छन् ।
कस्ता कस्ता प्रलोभन हुन्छ ?
–गाउँघरको गरिबवस्तीमा गएर जहाँ जे आवश्यकता हुन्छ त्यहाँ प्रलोभन दिएका हुन्छन् । कही जमिनको आवश्यकता हुन्छ भने जमिन दिने कार्यक्रम भइरहेको छ । त्यहाँ फलानो नेता आउनु भएको छ आज जमिन दिने घोषणा गर्नेछ भन्छन् । कतिपय ठाउँमा मुसहर तथा दलितहरु ऐलानी जग्गामा बसेका हुन्छन् त्यो थाह पाएर राजनीति ठेकेदारहरुले लालपूर्जा वितरण गर्ने कार्यक्रम छ । आज फलानो मन्त्री, फलानो नेता आउँदैनछन् त्यहाँ लालपूर्जा वितरण हुन्छ भनेर लान्छन् । कतिपय ठाउँमा घरको आवश्यकता छ भने सबै परिवारलाई एक एकवटा घर बनाई दिने विषयमा आज फलानो ठाउँमा कार्यक्रम छ जाउँ भन्छन्, त्यहाँ सबैले देख्ने गरि नाम पनि टिप्न थाल्छन् अनि अशिक्षित ती समुदायलाई लाग्छ वास्तवमा दिन्छ कि अनि जे भन्छन् त्यही गर्न उनीहरु तयार हुन्छन् । यदि कुनै प्रलोभन दिन सकेन भने पैसाको लोभ दिएर पनि लान्छन् ।
जे प्रलोभन दिएर लगेका हुन्छन् वास्तवमा ती कुराहरु उनीहरु पाउँछन् कि पाउँदैन त ?
–कहाँबाट पाउनु । कसैले केही पाउँदैनन् । गाडी चढेर कार्यक्रममा जान्छन् । बडो ध्यानपूर्वक नेताहरुको भाषण सुन्छन् । तर आफूलाई जे कुराको आश्वासन दिएर आएका हुन्छन् ती मध्ये केही सम्बोधन भएको हुँदैन अनि निराश भएर फर्केका हुन्छन् ।
त्यसपछि त अर्को कार्यक्रममा नजानु पर्ने हो होइन र ?
–त्यो त हो तर त्यस्तो हुँदैन । ती राजनीतिकका ठेकेदारहरु यस्तो मजवुर बनाई दिन्छन् कि जान बाध्य हुन्छन् । गाउँघरमा पहिलाका जमिन्दारहरु नै अहिले राजनीतिकका ठेकेदार भएका छन् । ती ठेकेदारहरुको घर खेतमा काम गरिरहेका हुन्छन् । पहिलादेखि शोषण गरेर राखेका थिए त्यसको निरन्तरता दिइरहेको छ । यस्तो ब्ल्याकमेलिङ गरेका हुन्छन् कि बाध्य पारि दिन्छन् ।
कस्ता कस्ता बाध्यता हुन्छन् ?
–उनीहरुले कसैबाट ऋण लिएका हुन्छन् त्यसको पनि धम्की दिएका हुन्छन् । कसैको घरमा काम गरिरहेका हुन्छन् । त्यसको धम्की दिएका हुन्छन् । कसैको छोराछोरीलाई जागिर लगाई दिएका हुन्छन् त्यसको धम्की दिन्छन् । कसैलाई नागरिकता बनाई दिएका हुन्छन्, कसैको झगडा मिलाइ दिएका हुन्छन् यस्ता थुपै्र कुराहरु हुन्छन् जसको ब्ल्याकमेलिङ् गरिरहेका हुन्छन् ।
यतिले मात्र त्यत्रो भिड जम्मा हुन्छ त ?
–होइन, मैले त यो विकल्पका कुरा मात्र भनेको हुँ । मुख्य कुरा विभिन्न प्रलोभन तथा रकमहरु दिएर नै लगेका हुन्छन् । शहर घुमाई दिने भनेर लगेका हुन्छन् । अहिले गाउँघरमा त्यति काम पनि हुँदैन फुर्सदमा छन् अनि जाँदा राम्रै हुन्छ । गाडी चढ्न पाइन्छ, शहर बजार घुम्न पाइन्छ रमाइलो गर्न पाइन्छ भन्दै गइरहेका हुन्छन् ।
एउटा कुरा, उनीहरुमध्ये कोही पनि राजनीतिक दलमा आवद्ध वा प्रतिवद्ध हुँदैन त ?
–धेरै कम हुन्छ । एक प्रतिशत मुस्किल हुन्छ । दलित, मुसहर तथा पिछडिएकाहरु भोटर मात्र हुन् । उनीहरुमा राजनीतिक चेतना हुँदैन । जसलाई भोट हाल्न भन्छन् त्यसैलाई हालि दिन्छन् । एउटा एउटा वस्ती, टोल, समुदाय राजनीतिक ठेकेदारको हातमा हुन्छन् । उनीहरुले जे भन्छन् त्यही मान्छन् ।
उनीहरुको आफ्नो संगठन हुँदैन ?
–संगठन किन नहुनु । हरेक पार्टीमा भातृ संगठनको रुपमा दलित संगठन, थारु संगठन, पिछडा वर्ग संगठन, मजदुर संगठन, मुस्लिम संगठन, आदिवासी जनजाति लगायतका संगठनहरु हुन्छन् तर ती सबै चुनावका लागि मात्र प्रयोग हुन्छन् । भिड जम्मा गर्नका लागि मात्र प्रयोग हुन्छन् । जब चुनाव आउँछ अनि ती संगठनहरु सक्रिय हुन्छ । त्यसका नेताहरु संक्रिय हुन्छन् । यी संगठनका नेताहरु अरु बेला कहिले सोध खोज गर्दैनन् तर जब चुनाव आउँछन्, सभाहरु हुन्छन् अनि गाउँगाउँ गएर आफ्ना समुदायको कुरा गर्न थाल्छन् । तपाई कुनै पनि सभाजुलुमा प्रध्यापक, शिक्षक, बुद्धिजिवी, पत्रकारहरुको ब्यानर देख्नु भएको छ, छैन होला । त्यहाँ मजदुर, दलित, मुस्लिम, नाई, महिला, आदीवासी जनजातिको ब्यानर मात्र पाउन पाउनुहुन्छ यसबाट पुष्टि हुन्छ कि गरिब र पिछडिएकाहरु कसरी प्रयोग भइरहेका छन् ।
तपाई दलित अभियानी पनि हुनुहुन्छ यसका लागि केही गरिरहनु भएको छ कि छैन ?
–हामी आफ्नो तरिकाले चेतना दिने काम गरिरहेका छौं तर जहाँ राज्य नै नकारात्मक भएपछि त्यहाँ अरु कसैको केही लाग्दैन । हाम्रो सानो टिम हुन्छ, साधन स्रोतको कमी हुन्छ । भ्याएसम्म गरिरहेका छौं । तर यसका लागि राज्यले काम गर्नुपर्ने देखिन्छ । यसका लागि राज्यले नै लगानी गर्नुपर्छ । राज्य सञ्चालकहरु नै चाहिन्छ गरिब सधै गरिब नै रहोस् । झुपडीमा कहिले पक्की घर नबनोस् । गरिबका छोराछोरीले नपढोस् भनि उनीहरुको चाहना हुन्छ । सरकारले अवास कार्यक्रमको घोषणा गर्छ तर गएर हेर्नुस् त कतिजनाको घर बनेका छन् । जमिनको लालपूर्जा दिने घोषणा गरेका हुन्छन् गएर अनुसन्धान गर्नुस् कतिजना परिवारले त्यो पाएका छन् । ती सबै घोषणा गरिब तथा पिछडिएकाहरुलाई आकर्षण गर्नका लागि मात्र घोषणा गरेका हुन्छन् तर वास्तवमा दिएका हुँदैन ।






तपाईको प्रतिक्रिया