काठमाडौं, फागुन १९ गते ।
राजविराजका पूर्व मेयर शम्भु यादव का कारण रामजी यादव लाई चुनावमा मत क्षति भइरहेको चर्चा सप्तरीको राजविराज क्षेत्रमा बढ्दै गएको छ।
राजविराज नगरपालिकाका पूर्वमेयर शम्भु यादवले पटक–पटक पार्टी परिवर्तन गरेका कारण स्थानीय स्तरमा उहाँको जनाधार घट्दै गएको बताइन्छ। यही कारण अहिले उहाँले बोकेको उम्मेदवार रामजी यादवलाई पनि त्यसको असर परेको स्थानीय मतदाताहरूको भनाइ छ।
रामजी यादव नातामा शम्भु यादवका ज्वाइँ पर्नुहुन्छ। ज्वाइँलाई लिएर चुनावी अभियानमा हिँड्दा मतदाताले शम्भुलाई “दलबदलु नेता” भनेर टिप्पणी गर्ने गरेका छन्। राजविराजका एक मतदाताका अनुसार, “शम्भुजीको पहिले राम्रो जनाधार थियो, तर बारम्बार पार्टी परिवर्तन गरेपछि उहाँमाथि विश्वास घट्दै गएको छ। त्यसको असर रामजी यादवको मतमा पनि परेको देखिन्छ।”
स्थानीयका अनुसार शम्भु यादव जुन नयाँ पार्टी चर्चामा आउँछ, त्यही पार्टीमा प्रवेश गर्ने र व्यक्तिगत लाभ खोज्ने गरेको आरोप लाग्ने गरेको छ। यसपटक पनि उहाँले जनता समाजवादी पार्टी नेपाल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नुभएको छ र रामजी यादवको पक्षमा सक्रिय रूपमा चुनावी अभियान चलाइरहनु भएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार अहिले देशभर राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आकर्षण देखिए पनि राजविराज क्षेत्रमा भने शम्भु यादवको छवि कारण उम्मेदवार रामजी यादवलाई अपेक्षित समर्थन नपुग्ने सम्भावना रहेको चर्चा भइरहेको छ।
शम्भु यादव यसअघि जनता समाजवादी पार्टी नेपाल (तत्कालीन फोरम) बाट राजविराज नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो । मेयर पदबाट बाहिरिएपछि उहाँ नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको थियो। त्यहाँबाट चुनाव हारेपछि पुनः लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मा आबद्ध हुनुभएको थियो।
हालै बालेन शाह लगायतका कारण नयाँ राजनीतिक शक्तिहरूको चर्चा बढेसँगै शम्भु यादवले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको बताइन्छ। तर रास्वपाकै केही नेताहरूले पनि “भोलि अर्को पार्टी चर्चामा आएपछि फेरि त्यतै नजाने के ग्यारेन्टी ?” भन्ने टिप्पणी गर्दै आएका छन्।


तपाईको प्रतिक्रिया