Khadya Bibhag

कृष्ण सेनको गिरफ्तारी र यातना

पत्रकार केष्ण सेनलाई ६ जेठ २०५९ मा राजधानीको नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउअघि जनदिशा दैनिकका तत्कालीन कार्यकारी सम्पादक शिव तिवारीले सेनलाई फोन गरि भेट्न बोलाएका थिए । श्रोतका अनुसार भाडाको ट्याक्सीमा गएका तत्कालीन प्रहरी नायव निरीक्षक (सई) विजयप्रताप शाहले सेनलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लब लगेका थिए । सेनलाई गिरफ्तार गरेबापत तत्कालै उनी इन्सपेक्टरमा बढुवा भएका थिए । हाल प्रहरी हेडक्वाटरमा रहेका शाह शान्ति सेनाको कोसोभो मिसनबाट ६ महिनाअघि काठमाडौं फर्केका हुन् ।
सेन पक्राउअघि प्रहरीले महेन्द्र पुलिस क्लबमा ठुलै योजना बनाएको थियो । सेनलाई खोजी गरिरहेको प्रहरीले ५ जेठ राति १२ बजे जनदिशाका पत्रकारहरु प्रभात चलाउने, अतीन्द्र न्यौपाने, भरत न्यौपाने र भरत सिग्देललाई गौशालाबाट पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेका सिग्देलका अनुसार प्रहरीले उनीहरुसित सेनको कोठाका बारेमा सूचना मागेको थियो । अतीन्द्रमार्फत त्यसै दिन पत्रकार शिव तिवारीलाई प्रहरीले समातेको र शिवको योजनाअनुसार सेन समातिएको सिग्देल बताउँछन् । ‘महेन्द्र पुलिस क्लबमा ल्याइएका शिवले गद्दारी गरेका कारण सेन दाई समातिएका हुन् । नत्र गिरफ्तार हुने कुनै सम्भावना थिएन’, सिग्देलले ठोकुवा गरेरै भने, ‘क्लबको हलभित्रै शिवले कृष्ण सेनको कोठा देखाउन मलाई पुलिसकै भाषामा दबाब दिइरहेका थिए । मबाट सम्भव नभएपछि शिवले कृष्ण सेनलाई समातिदिने प्रस्ताव राखे । उनका अनुसार शिवले आफु पक्राउबारे सार्वजनिक नगर्ने सर्तमा प्रहरीकै अगाडिबाट फोन गरी सेनलाई बानेश्वरमा भेट्न बोलाएका थिए । सेन ह्वाइट हाउस कलेजमा सेल्टर लिएर बसेका थिए । सिग्देल भन्छन्, ‘शिवकै आइडिया अनुसार बानेश्वर चोकबाट घेरा हालेर सेनलाई प्रहरीले ५ जेठमा गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा पुर्‍याएको थियो ।’
जनादेशकै अर्का पत्रकार संगीतालाई प्रहरीले टेकुको भन्सार कार्यालय अगाडिबाट पक्राउ गरी साढे ५ बजे महेन्द्र पुलिस क्लबभित्रको हलमा ल्याई पुर्‍याउँदा सेनलाई प्रहरीले ल्याइसकेको थियो । आँखाको पट्टी खुकुलो पारेर हलमा हेर्दा सेनलाई देखेको र सामान्य कुराकानी भएको संगीता बताउँछिन् । त्यतिबेला सेन घाइते अवस्थामा थिए ।
पक्राउ परेको दिन क्लबको बागबजार साइडतिरको मेसमा खाना खुवाएर प्रहरीले सेनलाई ९ बजेदेखि हलभित्रै यातना दिन थालेको थियो । त्यसदिन सेनसहित संगीता, शिव तिवारी, भरत सिग्देल, ह्वाइट हाउस कलेजका प्रिन्सिपल नवराज ढुंगाना र उनका आफन्त समातिएका थिए ।
रातभर ८ घण्टासम्म निरन्तर यातना दिएर उनलाई ७ जेठ बिहान ५ बजे यातनामुक्त गरिएको थियो । त्यसदिन प्रहरीले सेनलाई माओवादी नेता बादलको सम्पर्क देखाउन दबाब दिएको थियो । सेनले भनेका थिए, ‘मसँग बादलको सम्पर्क छैन । माओवादी नेताहरु मुमाराम खनाल र कृष्णध्वज खड्कामार्फत मेरो सम्पर्क हुन्थ्यो । उहाँहरु समातिएपछि अहिले मेरो कसैसँग पनि सम्पर्क छैन ।’ पक्राउपछि प्रहरीका फरकफरक समूह आएर सेनलाई कुट्ने गरेको संगीता बताउँछिन् ।
त्यसदिन अर्धचेत भएकी संगीता भन्छिन्, ‘सेनदाई पनि त्यतिबेला होसमा हुनुहुन्थेन जस्तो लाग्छ ।’ ७ जेठ बिहान ५ बजेदेखि १० बजेसम्म बन्दीहरुलाई यातनामुक्त अवस्थामा राखियो । १० बजेपछि फेरी सुरु भयो यातनाको वर्षा । प्रहरी यातनाले सेनका खुट्टा भाँचिइसकेका थिए । डिएसपी विक्रम थापाले दुई प्रहरीलाई आदेश दिए, ‘यस् (कृष्ण सेन) लाई भित्तामा अड्याएर उभ्याउनू ।’ संगीताका अनुसार त्यसपछि प्रहरीले सकिनसकी भित्तामा अड्यायो । डिएसपी थापाले हातको लठ्ठी सेनको निधारमा बजारे । ‘डिएसपी थापाले बादलको कोठा कहाँ छ भनेर कुट्दै सोध्यो’, संगीता भन्छिन्, ‘तर उहाँले मान्नुभएन । तीन बजेसम्म चरम यातना दियो ।’
संगीतालाई त्यतिबेला कृष्ण सेनलाई यातना दिएको हलमा राखिएको थियो । उनले आँखामा लगाइएको पट्टी खुकुलो पार्दै यातनाको दृश्य हेर्ने प्रयास गरेपनि असफल भएको बताइन् । ‘सेनलाई डिएसपीले पिटेको आवाज कानसम्म आइरहेको थियो । प्रहरीले मर्न हिँड् भन्दा सेनले ‘म हिँड्न सक्दिन तानेर लानूस्’ भनेका थिए । प्रहरीले त्यतिबेला भनेका थिए, ‘यो कस्तो ज्याद्रो मान्छे हो । मर्न हिँड् भन्दा पनि तान्नुस् भन्छ ।’
यातना दिने क्रममा थापाले सेनलाई भनेका थिए, ‘तँलाई समातेपछि ज्ञानेन्द्र सरकार खुसी हाइबक्सेको छ ।’ सिग्देलका अनुसार त्यतिबेला सेनलाई चोभारको बनमा लैजान डिएसपी थापाले प्रहरीलाई आदेश दिएका थिए । ‘त्यसको केही छिनपछि क्वारक्वार गाडीको आवाज आयो । त्यसपछि हामीले सेनदाईको आवाज सुन्न पाएनौँ’, सिग्देलले भने, ‘मैले त उहाँलाई मार्न लगे भन्ने सोचेको थिएँ । १५ मिनेटपछि गाडीको आवाज आयो र सेनदाईको आवाज पनि सुनियो । त्यसपछि सेनदाईले पेनकिलर माग्नुभो । हामीलाई पनि पुलिसले पेन किलर दिए ।’ पिटाइले अर्धबेहोस् सेनले साँझ खाना खान सकेनन् । ‘हामीलाई घिसारेर खाना खाने ठाउँमा लगियो । त्यहाँ सेनदाई र मैले हातले खाना टिप्न सकेनौँ’, सिग्देलले थपे, ‘मलाई भात खुवाइदिनुस् भन्नुभो सेनदाईले । म पनि त्यस्तै हालतमा थिएँ । पछि भुईँमा भात राखेर मुख जोतेरै खायौँ । दुई गासपनि नखाँदै दाईले बान्ता गर्नुभो । त्यसपछि उहाँले प्रहरीलाई पानी तताइदिन भन्नुभो । एउटा प्रहरी कड्कियो, ‘खालास् तातोपानी, पानी उम्लिँदै छ । त्यसमै हालेपछि पानी खान्छस् एकपछिपछि ।’ त्यसपछि कुटाइको वर्षाले सेनको बोली बन्द भएको सिग्देल बताउँछन् । ‘हुँ… मरेनी आमा… भन्ने आवाज आउँथ्यो’, सिग्देलले भने, ‘तर अत्यधिक कुटाइले उहाँ बेहोस् भैसकेजस्तो अनुभूति हामीले गर्‍यौँ ।’
संगीताका अनुसार पिटाइबाट गलिसकेका कृष्ण सेनले बान्ता गर्न थालिसकेका थिए । पिट्दापिट्दै बान्ता गरेपछि डिएसपी थापा आत्तिएका थिए । पेनकिलर दिएको बेला डिएसपी विक्रम नरम भएको बताउँछिन् संगीता । विक्रमले त्यहाँ रहेका प्रहरीलाई आदेश दिँदै भने, ‘अब यिनीहरु कसैलाई पनि नपिट्ने ।’ उनले सेनलाई ग्लुकोज पानी दिन आदेश दिए । यातना दिएका सबैलाई एकएकवटा पेनकिलर दिए । त्यस दिन राति १२ बजे संगीता र सेनबाहेक बाँकी बन्दीदाई प्रहरीले बाहिर निकालेको थियो । सोही राति साढे दुईबजे संगीतालाई त्यहाँबाट बानेश्वर पठाइयो भने सेनलाई क्लबमा एक्लै राखियो । सेनको कमजोर स्वास्थ्यको पोल खुल्ने त्रासले अन्य बन्दीलाई त्यहाँबाट हटाइएको थियो । पाँच दिनसम्म एक्लै राखेर करेन्ट लगाउने, पानीमा डुबाउने र खाल्डोमा हाल्नेसम्म यातना दिएर महेन्द्र पुलिस क्लबको स्विमिङ पुलछेउ घरको माथिल्लो तल्लाको भिआपी कोठामा उनको हत्या गरिएको थियो । तर, ७ जेठदेखि नै सेनको होस् उडिसकेको सिग्देल बताउँछन् । ‘उहाँ पुरै गलिसक्नुभएको थियो’, उनले भने, ‘उहाँको पिटाइबाटै शहादत भएजस्तो लाग्छ ।’
२०१३ सालमा भारतको देहरादुनमा जन्मेका सेन जनदिशा दैनिक र जनादेश साप्ताहिकका सम्पादक थिए । उनका शोकाञ्जलि, इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरि नामक कविता संग्रह प्रकाशित छन् । सेन नेपाल पत्रकार महाससंघका केन्द्रीय पार्षद समेत थिए ।

तपाईको प्रतिक्रिया