Khadya Bibhag

प्रदेश २ सत्तासमिकरणः जसपा र माओवादी केन्द्रबीच यस कारणले मिलिरहेको छैन कुरा

काठमाडौँ जेठ २६ गते । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस आउन तयार भएपनि अझै माओवादी केन्द्रसँग सहमति भएको छैन । काँग्रेसका तीनजना मन्त्री सपथग्रहणका लागि तयारी अवस्थामा रहेपनि माओवादी केन्द्रसँग कुरा मिलिरहेको छैन ।

जसपा (उपेन्द्र यादव) ले काँग्रेसलाई जति महत्व दिएको छ त्यति महत्व माओवादी केन्द्रलाई दिएको छैन । काँग्रेससँग लगातार पाँच दिनसम्म वार्ता गरेर सबै कुराको टुगों लगायो तर माओवादी केन्द्रसँग खासै कुराकानी गरेको छैन । काँग्रेससँग दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेको छ, र महत्वपूर्ण मन्त्रालयहरु समेत दिइसकेको तर माओवादी केन्द्रलाई सिधै सरकारमा सहभागी हुन भनिरहेको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री लालबाबु राउतले माओवादी केन्द्रलाई सरकारमा सहभागी भएपछि मात्र मन्त्रालय मिलाउने भनिरहनु भएको छ । यता, माओवादी केन्द्रले मन्त्रालयको टुगों नलागेसम्म सरकारमा सहभागी नहुने अडानमा छ ।

मधेश भवनमा माओवादी केन्द्रसँग वार्ता चलिरहेको छ ।

अर्कोतिर माओवादी केन्द्रबाट सरकारमा को को जाने विषयमा पनि टुगों लागेको छैन । हालसम्म भरत साह, जगत यादव, रामकुमार यादव, दिलिप साह, रुवी कर्ण उम्मेदवारको रुपमा अघि आएका छन् । दुईटा मन्त्रालय पाएका छन् त्यसमा नारायणकाजी श्रेष्ठको पक्षबाट एकजना र प्रचण्डको पक्षबाट एकजना सरकारमा जाने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

यदि आज कुरा मिलेन भने माओवादी केन्द्रको तर्फबाट सपथग्रहण नहुन सक्छ । जसपा नेपाललाई माओवादी केन्द्रको आवश्यकता पनि छैन । जसपा उपेन्द्र यादवसँग ३५ सांसद छन् भने काँग्रेससँग १९ सांसद छन् ।

दुवै मिलाएर ५४ साँसद हुन्छन् । सरकार बनाउनका लागि ५३ सांसद चाहिन्छ । तर जसपा, काँग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको हुनाले माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराउने सोचका साथ जसपाले माओवादी केन्द्रलाई लिने प्रयास गरिरहेको बुझिाएको छ । माओवादी केन्द्र धेरै भाव खाएमा जसपाले छाडेर हिड्न पनि सक्छ ।

तपाईको प्रतिक्रिया