ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवासुविधा उपलब्ध गराउन मन्त्री चौधरीको आग्रह

काठमाडौँ असार १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनु भएको छ । १६ औं ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवसको अवसरमा मन्त्री चौधरीले शुभकामना व्यक्त गर्दै सो आग्रह गर्नु भएको हो ।

‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाँउमा सदुपयोग गर्दै उहाँहरुको जीवनलाई सहज बनाउने राज्यको प्रमुख दायित्व रहेको मन्त्री चौधरीले जिकिर गर्नुभयो ।

‘सरकारको सीमित स्रोत र साधनलाई अधिकतम् उपयोग गरी राज्यको हरेक तहमा ज्येष्ठ नागरिकलाई सहभागी गरेर ज्येष्ठ नागरिकलाई सुखी सम्मानीत एवं सुरक्षित रहने बातावरण तर्फ विभिन्न नीति नियमको तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गराउनेतर्फ मन्त्रालय क्रियाशील रहेको मन्त्री चौधरीले जानकारी दिनुभयो । ’

समय सापेक्ष ढङ्गले उपलब्ध सेवा सुविधाहरूलाई वृद्धि गरी सहजरुपमा प्रदान गर्नेतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सदैव तत्पर रहेको उहाँको कथन थियो । ज्येष्ठ नागरिकहरुलाई राजनीतिक, सामाजिक, आर्थिक लगायतका सुविधामा विशेष ध्यानु दिनु पर्नेमा उहाँले जोड दिनु भयो ।

मन्त्री चौधरीले ज्येष्ठ नागरिकहरुले कोरोना विरुद्धको पहिलो खोप लगाएतापनि दोश्रो खोप समयमा लगाउन नसकिएको प्रति चिन्ता जाहिर गर्दै दोश्रो खोप लगाउन बाँकी विशेष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । उहाँले हाल कोभिड–१९ को दोस्रो महामारीबाट विश्वनै आक्रान्त भएको अवस्थामा, यस रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरी स्वस्थ रहन सबै ज्येष्ठ नागरिक समक्ष अनुरोध समेत गर्नुभयो ।

संयुक्त राष्ट्र संघले पनि सन् २०१२ देखि निरन्तर रूपमा यो दिवसलाई औपचारिक रूपमा मनाउँदै आएको छ । सोही बमोजिम संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले सन् २०१२ देखि आजको दिनलाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवसको मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया