Khadya Bibhag

तीन वर्षसम्म नवीकरण नहुने संस्था खारेज हुने–मन्त्री चौधरी

काठमाडौँ असार २ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न निर्देशन दिनु भएको छ । मन्त्री चौधरीले परिषद अध्यक्षको पदभार ग्रहण गर्दै सो निर्देशन दिनुभएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री समाज कल्याण परिषद्को अध्यक्ष हुने व्यवस्था छ ।

समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो निर्देशन दिनु भएको हो ।

मन्त्री चौधरीले परिषद्बाट मन्त्रालय फाइल पठाउँदा आवश्यक फाइल मात्र पठाउन निर्देशन दिनु भएको हो । उहाँले नवीकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिएर नवीकरण हुन नआएको खण्डमा संस्था खारेज गर्नुपर्ने बताउनु भयो । तीन वर्षसम्म नवीकरण नहुने संघ संस्था खारेज हुने नीति नियम बनाउन परिषद्लाई निर्देशन समेत दिनुभयो ।

मन्त्री चौधरीले परिषद्लाई काम गर्न सहज वतावरण बनाउन मन्त्रालय पूर्ण तयार रहेको बताउँदै परिषद् पनि सोही अनुसार तदारुकताका साथ काम गर्नु पर्ने बताउनुभयो ।

कोभिड १९ महामारीको बेला संघ संस्थामार्फत राहत सामाग्री वितरणको तथ्यांक व्यवस्थापन राम्ररी हुन नसकेको भन्दै तथ्यांक अपडेट गरी प्राथमिकिकरण गर्न परिषद्का पदाधिकारीहरुलाई मन्त्री चौधरीले निर्देशन दिनुभयो ।

उहाँले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि मन्त्रालय अन्तर्गत कम्तीमा ५ वटा नमुना काम गर्नमा आफ्नो जोड रहेको बताउनुभयो ।

सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राज्यमन्त्री रेनुका गुरुङ, मन्त्रालयका सचिवको समेत उपस्थितिमा परिषद्का सदस्य सचिवले बिस्तृत प्रस्तुतिकरण गर्नुभएको थियो ।

परिषद अन्तर्गत करिब ५२ हजार राष्ट्रिय सामाजिक संस्था आबद्ध रहेका छन् भने करिव २ सय अन्तर्राष्ट्रिय संस्थाहरुको आवद्धता रहेका छन् । वर्षेनि करिव ४० अर्व रुपैयाँ बराबरको वैदेशिक सहयोगको रुपमा भित्रिने गरेको परिषदले जनाएको छ ।

परिषदले राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाको नवीकरणसँगै अनुगमन तथा मुल्यांकन गर्ने काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया