Khadya Bibhag

सांसद यादवद्वारा सिसिटीभी क्यामरा हस्तान्तरण

पर्सा साउन १ गते । जनता समाजवादी पार्टी नेपालका नेता एवंं प्रतिनिधीसभा सदस्य प्रदीप यादवले सेफर वीरगञ्जलाई सिसिटिभी क्यामेराहरु हस्तान्तरण गर्नुभएको छ । संसदीय विकास कोषको सहयोगबाट सांसद यादवले अत्याधुनिक प्रविधी जडित २१ थान क्यामेरा सेफर वीरगञ्जलाई हस्तान्तरण गर्नुभएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघ अन्तर्गतको ईकाईका रुपमा रहेको सेफर वीरगञ्जले नगरमा सुरक्षा र अपराध नियन्त्रणका लागि सिसिटिभी जडानमा पहल गर्दै आएको छ । शुक्रबार बीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सांसद यादवले बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्तालाई सिसिटिभी क्यामेराहरु हस्तान्तरण गर्नुभयो ।

बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नंम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, पर्साका प्रहरी प्रमुख बेल बहादुर पाण्डे, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोज कुमार दास, सचिव गोविन्द साह, सह सचिव प्रेमचन्द्र गोयल, सह सचिव अनुज रुंगटालगायतकाको उपस्थिति थियो ।

सिसिटिभी हस्तान्तरण गर्दै सांसद यादवले नगरका विभिन्न भागमा जडान हुने यस क्यामेराको प्रयोगबाट अपराध अनुसन्धान र नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । यस पूर्व पनि सिसिटिभीको सहायताले विभिन्न अपराधहरुको अनुसन्धानमा प्रहरीलाई सहज भएका दृष्टान्तहरु बारे सांसद यादवले चर्चा गर्नुभयो ।

वीरगञ्जलाई सुरक्षित बनाउन सेफर वीरगञ्जले सुरु गरेको अभियानमा सम्बन्धीत सबै सरोकारवालाहरुको समन्वय आवश्यक रहेकोमा सांसद यादवले जोड दिनुभयो । महानगर प्रत्येक चोकमा सिसिटिभी जडान गर्ने आफ्नो लक्ष्य रहेको भन्दै सांसद यादवले यसमा लाग्ने खर्च बारे जानकारी गराउन सेफर बीरगन्जलाई आग्रह गर्नुभएको थियो । उहाँका अनुसार सिसिटिभी क्यामेराको जडानबाट अपराध अनुसन्धानका साथै नियन्त्रणमा पनि टेको पुग्नेछ । साथै महानगर चोकहरुमा ट्राफिक लाईट जडानका लागि पनि आफुले पहल गरिरहेको उहाँले जानकारी गराउनुभयो । सवारीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि मुख्य सडक फराकिलो हुन नसक्दा ट्राफिक व्यवस्थापनमा हुने गरेको समस्याहरु बारे अवगत रहेको उहाँले बताउनुभयो ।

सिसिटिभी क्यामेरा ग्रहण गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले सांसद यादवप्रति धन्यवाद व्यक्त गर्नुभयो । सेफर वीरगञ्जको थालेको अभियानमा सांसद यादवको अमुल्य योगदान रहेको भन्दै अध्यक्ष गुप्ताले अभियान सफलताको लागि सबैको सहयोग आवश्यक रहेको जिकिर गर्नुभएको थियो । अत्याधुनिक प्रविधी जडित क्यामेराहरुको सहायताले प्रहरीलाई अपराध अनुसन्धानमा निकै सहज हुने अध्यक्ष गुप्ताले विश्वास व्यक्त गर्नुभयो । महानगरका विभिन्न स्थानमा जडान हुने क्यामेराहरुको निगरानी प्रहरीबाट हुने भएका कारण सूचना प्रविधीबारे विशेष जानकारी भएका प्रहरी अधिकारीहरुको आवश्यक्ता बारेमा उनले पर्साका प्रहरी उपरिक्षकको ध्यानाकर्षण गराएका थिए ।

बीरगन्जमा रहेका ८२ वटा क्यामेराहरु मध्ये हाल ३४ वटा सञ्चालनमा रहेको पर्साका प्रहरी प्रमुख बेल बहादुर पाण्डेले जानकारी गराउनुभयो । सांसद यादवद्धारा प्रदान गरिएका क्यामेराहरुको सञ्चालनका लागि चाहिने जनशक्तिका बारे आफु सचेत रहेको उहाँले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया