काठमाडौँ भदौँ ६ गते । तराई मधेशमा आज धुमधामका साथ रक्षाबन्धन मनाई रहेका छन् । विहानैदेखि दिदी वहिनीहरु दाजु भाइको घरमा गएर राखी बाँध्ने र भाइ वहिनीबीचको प्रेम साटा साटा गरिरहेका छन् । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय देखिँदो छ ।
आज एकाबिहानैदेखि यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र किन्न बस्तीका चोकचोकमा मिथिलानीको भीड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारका जोहोमा लागेकाले मिठाइ पसल पनि भरिभराउ छन् ।
पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यस पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वका तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन् । स–साना नानीहरुका घरका अभिभावकले सहयोग गर्दछन् ।
मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू, मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरी बताउनुहुन्छ । सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्रमा आज बजारु चहलपहल ह्वात्तै बढेको छ । मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै यस पर्वको तयारी सुरु हुने गरेको छ ।
पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्ठान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभूषण र नगद दक्षिणा चेलीलाई दिने गर्दछन् । हिन्दू परम्पराको रक्षावन्धन पर्वकै एक अङ्गका रूपमा राखी स्थापित भएको यहाँका वुद्धिजीवी बताउँछन् । रक्षावन्धन पर्वमा गुरुपुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ ।
अघि सत्ययुगमा तीनै लोक ९स्वर्ग, मत्र्य र पाताल०को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा ९रक्षाकवच, रक्षासूत्र० बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ । त्यसैसँग जोडिएका अर्को प्रसङ्गमा बलिका बहिनी गङ्था र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षावन्धन बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको छ ।
फोटोः सुरेश शर्माको फेसबुकबाट


तपाईको प्रतिक्रिया