जसपा विभाजन नभइ शुद्धिकरण भएको उपेन्द्र यादवको दावी

जनकपुर भदौ ११ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभई शुद्धिकरण भएको बताउनु भएको छ ।
जसपा केन्द्रीय कार्यालयले प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले केही व्यक्ति पार्टी छोड्दैमा विभाजन भएको भन्न नमिल्ने बताउनुभयो । बरु लोभी पापीहरुको झुण्ड गए पछि जसपाको शुद्धिकरण भएको टिप्पणी गर्दै उहाँले वर्षातमा चिप्लिएर केही नेता गएको टिप्पणी गर्नुभयो ।

पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोड्ने, स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेशको भलो गर्न नसक्ने तर्क गर्नु हुँदै अध्यक्ष यादवले ८० प्रतिशत नेता कार्यकर्ता जसपामै रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्दै मुलुकमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरु बाट जनताले हिसाव लिने चेतावनी पनि दिनुभयो । संविधानमा रहेका सकारात्मक पक्षहरुको रक्षा गर्दै संविधान संशोधनमार्फत नाकारात्मक पक्षलाई विस्थापन गर्नु नै जसपाको मुल कार्यभार रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यसका निम्त्ति मधेशी, आदिवासी , जनजाति, दलित महिला, मुश्लिम लगायतका शोषित वर्ग जसपाको झण्डामुनी गोलबद्ध हुने विश्वास व्यक्त गर्नु भयो ।

जसपानै समाजवादको केन्द्र रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादव भन्नु भयो,‘ समाजवादी भनेर कसैले नाम, नीति वा एजेण्डा बोके पनि समाजवादको केन्द्र जसपा नै हो ।’ कार्यक्रममा बरिष्ठ नेता अशोक राइले मुलुकको पुरानो पार्टीहरु समतामुलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको उल्लेख गर्नु भयो ।

मुलुकमा समाजिक आर्थिक मात्र नभई कानूनी विभेद समेत कायम रहेकाले जसपा ती सबै विभेद अन्त गर्दै समतामुलक समाज निर्माणमा अग्रसर भएको उहाँको तर्क थियो । छाता लिएर आएकाहरु वर्षातको मौसममा छाता समेत छोडेर गएको कटाक्ष गर्दै वरिष्ठ नेता राईले भन्नु भयो ,‘ उहाँहरु प्रति दया लागि रहेको छ । प्रतिगमको मतियार बन्नु पर्ने के बाध्यता थियो र ?’

मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादव, रेणु यादव, प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, राम नरेश राय, नवल किशोर साह, गजाधर यादव, मनिष सुमन , जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

जसपाले मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । सोही अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाएर सम्मान गर्नु भएको हो ।

सो अवसरमा अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझि उनिहरुको भरण पोषण तथा घाइतेहरुको उपचारको जिम्मा प्रदेश सरकारलाई लिन आग्रह गर्नुभएको हो । उहाँले भन्नु भयो,‘ सहिद परिवारलाई रोजगारी दिने क्रममा केही परिवार छुटेको छ । त्यसलाई अविलम्ब दिनु पर्दछ । यसमा प्रदेश सरकारले नाइनुकुर गर्न मिल्दैन ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कारणले केही सहिद परिवार रोजगारी पाउन नसकेको उल्लेख गर्नु हुँदै बाँकी रहेको शहीद परिवारलाई छिटै रोजगारी दिने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले सहिद परिवारको रोजगारी तथा घाइतेहरुको भरणपोषणाको लागि प्रदेश सरकारले बजेट विनियोजन गरि सकेको जानकारी समेत गराउनु भयो ।

तपाईको प्रतिक्रिया