काठमाडौँ भदौँ २४–लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पार्टीमा एक्लिदै गइरहनु भएको छ । राजसपा, जसपा हुँदै लोकतान्त्रिक समाजवादी पार्टीसम्म आउँदा उहाँका साथमा रहनु भएका पूर्व सद्भावना पार्टीका नेताहरु धमाधम उहाँलाई छाड्दै अन्यत्र गइरहनु भएको छ ।
जसको साथ लिएर राजेन्द्र महतोले राजपा र जसपामा महन्थ ठाकुरदेखि लिएर उपेन्द्र यादवसम्मसँग बार्गेनिङ् गर्नुभयो । आज त्यही शक्ति उहाँको साथमा छैन । पछिल्लो समय बारा जिल्लाबाट प्रदेशसभा सदस्यमा जित्नु भएका प्रदेश २ प्रदेश सभाका सभामुख सरोज यादव पनि उहाँको साथमा रहनु भएन । लोसपाको कार्यकारिणी सदस्य राजकुमार लेखिको पनि पद जाने लगभग निश्चित छ ।
यसअघि नै महतो पक्षका राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ सांसद समेत रहेका समाजिक विकास मन्त्री नवलकिशोर साह, संघीय सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, नरमाया ढकाल, प्रदेश २ का सांसद डा.रिना यादव, अञ्जु यादव, निरा साहले महतोको साथ छाडि सकेका छन् । उनीहरु सबैजना राजेन्द्र महतोका खेमाका थिए ।
सरोज यादव राजेन्द्र महतोका पुरानो सहयोगी अर्थात पार्टीका नेता हुनुहुन्छ । विगतमा सबैले उहाँका साथ छाड्दै अन्य पार्टी बनाउँदै हिडेपनि सरोज यादवले राजेन्द्र महतोको साथ छाड्नु भएको थिएन तर पछिल्लो समय सरोज यादव पनि उहाँको साथमा रहनु भएन त्यसले महतोलाई ठूलो झटका लागेको छ ।
त्यस्तै, नागरिक समाजवादी पार्टी लिएर तत्कालिन सद्भावना पार्टीसँग एकीकरण राजेन्द्र महतोको साथमा राजनीति सुरु गर्नुभएका राजकुमार लेखि पनि उहाँको साथमा नरहने लगभग निश्चित भएको छ । राजकुमार लेखि हाल लोसपाका कार्यकारिणी सदस्य हुनुहुन्छ । उहाँ महतोको पक्षधार नेता मानिनुहुन्छ ।
प्रदेश २ का प्रदेशसभाका सभामुख समेत रहेका यादवले लोसपामा सनाखत नगरेपछि उहाँ जनता समाजवादी पार्टीमै रहेको कुरा प्रष्ट भएको छ । सनाखत गर्ने समय भदौं २२ गतेसम्म थियो, बाराबाट प्रदेशसभामा चुनाव जितेका सभामुख यादवले लोसपामा सनाखत गर्नुभएन ।
उहाँ सनाखत नगरेपछि जसपामै रहेको प्रष्ट भयो । सभामुख भएपछि कुनै दलगत गतिविधि गर्न पाउँदैन भनि प्रावधान छ । त्यही भएर उहाँले सनाखत नगरेको भनिन्छ ।
तर निर्वाचन आयोगले उहाँ प्रदेशसभाबाट चुनाव जितेका कारणले उहाँलाई आयोगले प्रदेशसभा सदस्यको रुपमा मात्र चिन्दछ । आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमल प्रसाद धमलाले सभामुख भएपनि उहाँले सनाखत गर्नुपथ्र्यों तर सनाखत नगरेको कारण हाल उहाँ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीको प्रदेशसभा रही रहनु हुने बताउनुभयो ।
सद्भावना पार्टी र अन्य दलहरु मिलेर राजपा नेपाल बनेको थियो । राजपा नेपालबाट चुनाव जितेपछि उहाँ राजेन्द्र महतोको कोटामा प्रदेश २ प्रदेशसभाका सभामुख बन्नुभएको हो ।
तर अहिले राजेन्द्र महतोले लोसपा बनाइ सकेपछि सरोज यादव जसपामा नै रहने निश्चित भएको छ । । त्यस्तै, उहाँका साथमा बाँकी रहेका एकजना अर्को कार्यकारिणी सदस्य राजकुमार लेखी पनि अब लोसपामा नरहने भएको छ । हाल लोसपाका कार्यकारिणी सदस्य रहनु भएका राजकुमार लेखीले नागरिक समाजवादी पार्टी दर्ता गराउनु भएको थियो । समयमा लेखापरिक्षण नगराएको कारण उहाँको दल दर्ता खारेज भएको छ ।
निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार लेखापरिक्षण नगराएको कारण खोरेजीमा परेको दललाई जरिवाना गरिएको छ, जरिवाना नबुझाएसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु आयोगमा दर्ता रहेको अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने । राजकुमार लेखी नागरिक समाजवादी पार्टीका संयोजक हुनुहुन्छ ।
यद्यपी लेखि भन्नुहुन्छ, हामीले सद्भावना पार्टीसँग एकीकरण गरेका थियौं र त्यसको जानकारी निर्वाचन आयोगलाई पनि गराएका थियौं, तर अहिले आएर लेखा परीक्षण नगराएको भन्दै दल दर्ता खारेज गरेको छ यसको बारेमा बारेमा मलाई केही जानकारी छैन ।’ उपत्यका बाहिर रहेको कारण निर्वाचन आयोगले जारी गरेको सूचना बारे आफूलाई कुनै जानकारी छैन आएर विस्तृत बुझेर मात्र केही भन्न सकिने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया