राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

विराटनगर कात्तिक १४ गते । प्रदेश १ का विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आज बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।

नेकां संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताउनुभयो । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डालगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।

बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा ९एमाले०सँग सभामुखसहित ४१ सांसद छन् ।

विपक्षी गठबन्धन नेकाँको २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया