
काठमाडौं कात्तिक २४ गते । दशैं तिहारपछि मनाइने सबभन्दा ठूलो पर्व हो छठ हो । तराई मधेशका हिन्दू धर्मालम्बीले मात्र मनाउने यो छठ पर्व अहिले हरेक समुदाय, हरेक जात, हरेक धर्मका मान्छेले मनाउन थालेका छन् यहाँसम्म कि भारत नेपालमा मात्र विशेष रुपमा मनाउने यो पर्व अन्तराष्ट्रिय रुपमा पनि फैलिएको छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले यो पर्व मनाउन थालेका छन् ।
नेपाल र भारतका विभिन्न प्रदेशलगायत मरिसस, फिजी, अमेरिका, न्युजील्यान्ड, बेलायत, दक्षिण अफ्रिका, ट्रिनिडाड, टोबागो, गुएना, जापान, सुरिनाम, जमैका, आयरल्यान्ड, अस्ट्रेलिया, मलेसिया, मकाउ, इन्डोनेसियालगायतका देशमा पनि छठ पर्व मनाउने गरिएको छ । मिथिला क्षेत्रबाट शुरु भएको छठ पर्व विश्वभर फैलिनुमा त्यसको लोकप्रियता रहेको सँस्कृति विज्ञ रामदयाल राकेशले बताउनु हुन्छ ।
यो पर्वमा सूर्यको पूजा हुन्छ । जसरी सूर्यले घाम दिनका लागि कसैमाथि भेदभाव गर्दैन त्यस्तै यो पर्वमा कसैमाथि भेदभाव हुँदैन । सबैको साझा पर्व हो ।
यसको वैज्ञानिक, साँस्कृतिक, समाजिक र धार्मिक महत्व रहेको हुनाले सबैले यो पर्व मनाउने गरेको उनले बताए । घरपरिवारमा सुख शान्ति र ऐश्वर्यका लागि कामन गर्दै यो पर्व मनाउने गरिन्छ र धेरैको मनोकामना पनि पूरा भएको हुनाले यो पर्वको विस्तार दिनदिनै हुँदै गइरहेको छ । देशका आधाभन्दा बढी जनसँख्याले प्रत्यक्ष रुपमा यो पर्व मनाउँदै आएका छन् ।
सूर्यको पूजासम्बन्धी श्लोक महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख गरिएको पाइन्छ । द्रौपदीले पाण्डवहरूलाई राज्य फिर्ता पाउन साधु धौम्याको सल्लाहमा यो पर्व गरेको मान्यता रहेको छ ।
यसैगरी रामायण कालमा पनि रामले लंका जितेपछि सीताले छठ पर्व गरेको धार्मिक ग्रन्थहरुमा पाइन्छ । सूर्य पुराणमा छठ पर्वको बारेमा उल्लेख गरिएको छ । नैमिषरण्यमा सर्वशास्त्रका ज्ञाता शौनक मुनिले सुतजीसँग मानिसहरूको दुःखकष्टको निवारणको उपायबारे सोध्दा छठ पर्व गर्न भनिएको उल्लेख गरिएको छ ।
यसको एउटा महत्वपूर्ण पाटो भनेको यो पर्व दलित समुदायले समेत मनाउन थालेका छन् । सर्लाहीका सुकाराम मोचीले भने, यो पर्व कुनै हिन्दुको लागि मात्र होइन, जसलाई आस्था हुन्छ सबैले मनाउने गरेका छन्, मुख्य कुरा आस्था र विश्वास हो । विश्वास कायम भयो भने जसले पनि मनाउन सकिन्छ हामीले पनि विगत ३ वर्षदेखि यो पर्व मनाउन थालेका छौं ।”
मैतिदेवीमा बस्ने रामेछापका गोपाल कार्की भन्नुहुन्छ, हामीहरु रामेछापमा छठ मनाउँदैन थियौं तर यहाँ काठमाडौमा केही वर्षदेखि मनाउन थालेका छौ । काठमाडौंका मधेशीहरुले छठ मनाउन थालेपछि राम्रो लाग्यो, श्रद्धा जाग्यो र हामी पनि मनाउन थाल्यौं ।’ उहाँले आफै छठ मनाउँदैन, छठ मनाउने कार्यक्रमको संयोजन गर्न र त्यसका व्यवस्थापनका लागि बोलबम कमरियाँ संघसँग खटिनु भएका हुन्छन् ।
यो आस्था र श्रद्धाको पर्व भएका हुनाले यसमा पहाडी र मधेशी हेर्दैनन् । भुगोल पनि हेर्दैन र जात पनि हेर्देन र कुनै अन्तरराष्ट्रिय सीमाले पनि छेक्दैन । यसपालीको छठको कोरोना महामारीको बीचमा सम्पन्न हुन गइरहेको छ । त्यसले गर्दा पक्कै पनि केही नकेही असर पारेको छ ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले भन्नुभयो, न त दशैं पर्वते समुदायको, न छैठ नै मैथिलको । सनातन परम्परा र धर्मानुसार उपासना विधीमा सामान्य हेरफेरका साथ सबै हिन्दूहरूले मनाउने गरेको पाईन्छ । पटना मिथिला होइन, तर त्यहाँको सबै भन्दा ठूलो चाड छठ नै हो, त्यस्तै प्रयागको संगममा । अब घडिअर्वा पोखरी र रानी पोखरीमा मनाउने छठमा धेरै अन्तर छैन ।’
चार दिनको पर्व
यो पर्व सम्पन्न गर्नका लागि विभिन्न समुदायको सहयोग आवश्यक हुन्छ । उनीहरूले त्यो सहयोगबापत आर्थिक सहयोग पनि पाउँछन् । चोखो हुने दिन हजामको परिवारले आआफ्ना यजमानको कपाल दाढी काट्ने, नंग काट्ने गर्छन् । अहिले त्यो मान्यता अलि अलि हराउँदै गइरहेका छन् । त्यस्तै, मालीले फूल दिने गर्छन् । डोमहरूले तयार पारेको बाँसका सामग्री दिने गथ्र्यो, कुम्हालेले माटाका भाँडा दिने गर्छन् । यी सबैको साटो यजमानहरूबाट उनीहरूले धानजस्ता अन्नबाली वा नगद लिने गरेको छ ।
समाजबाट वस्तु साटफेरको चलन हटेपछि उनीहरूले त्यही अनुसारको नगद पाउने गर्दथे । अहिले यो सबै परिवर्तन भई व्यापारको रूप लिएको छ । यसले चाडपर्वको अर्थतन्त्र निर्माण गरेको छ ।
यो पर्व चार दिनसम्म मनाइन्छ । कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । चौथी तिथिमा व्रतालु महिला पुरूषले आफूलाई चोखो बनाई अरबा चामलबाट बनेको खाना खाई संकल्प लिने गर्छन् । पञ्चमी तिथिको सन्ध्याकालमा गुड भेलिमा पकाएको खीर र फलफूलको प्रसाद अर्पण गरी खरनाको उपवास भंग गर्ने गरिन्छ । पञ्चमी तिथिको बेलुका उपवास भंग गरेयता सप्तमी तिथिको प्रातः कालिन पूजा नसकेसम्म निर्जला उपवास बस्ने गरिन्छ । षष्ठी तिथिको सन्ध्याकाल अस्ताउँदो सूर्यको पूजा अर्चना गरिन्छ भने सप्तमी तिथिको प्रातः काल उदाउँदो सूर्यको पुजा अर्चना गरि व्रत सम्पन्न गरिन्छ ।


तपाईको प्रतिक्रिया