शाक्तिपिठहरुमध्ये सप्तरीको छिन्नमस्तामा भक्तजनको आकर्षण
१६ आश्विन २०८२, बिहीबार ११:१५
–सुरेशकुमार यादव
दशैं शुभारम्भ भएसँगै देशका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको भिड लाग्ने गरेका छन । त्यस्ता शक्तिपिठहरुमा दिनहुँ पुजापाठ हुने गरेका छन् । ती शक्तिपिठहरुमध्ये शक्तिशाली शक्तिपिठको रुपमा छिन्नमस्ता भगवतीलाई लिने गरिन्छ । त्यही अरुबेला पनि भक्तजनहरुको भिड नै हुन्छ तर दशैंमा त्यहाँ खास हुन्छ ।
छिन्नमस्ता भागवतीको शक्तिको महिमामा यसरी वर्णन गरिएको छ, ‘बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, लुगामा रगत लागे पनि दाग नलाग्नु, पोखरीको पानीमा रगत मिसिदा रातो नहुनु, बली प्रदान गर्ने नाममा राखिएका खसी (बाख्रा) लाई केही नहुनु, बलीका लागि खसी किन्नु अघि कुकुर स्याल टोकेको छ भन्ने मन्दिर पुग्दा नपुग्दै मर्र्नु, बली प्रदान गरेको खसीबाट निस्किेको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुनु, जुठो वा अपवित्र पूजा सामग्री कुकुर र कागले छोएर चढाउन नहुने’ यस्तो मान्यता र आस्था बोकेको शक्तिपीठ छिन्नमस्ता भगवतीको मन्दिरमा भक्तजनको दिनहुँ भिड हुन्छ तर दशैंको बेला अझै बढी हुन्छ ।
सप्तरीको राजविराजदेखि १० किलोमिटर दक्षिण भारतीय सीमामा रहेको छिन्नमस्ता भगवती धार्मिक पर्यटकीय दृष्टिकोणले चर्चित ठाउँ हो । सप्तरीको सखडा गाउँस्थित ठुलो पोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता भगवती विभिन्न ५१ शक्तिपीठहरु मध्येको एक हो । छिन्नमस्ता भगतवतीको मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ ।
भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी, सखडा माता भनेर पूजा–अर्चना र भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्ने गरेको छ ।
ऐतिहासिक पक्ष
छिन्नमस्ता भगवतीको बारेमा पुस्तक लेखन तथा विभिन्न वृतचित्र बनाएका पत्रकार श्यामसुन्दर भन्छन्, ‘राजा शक्रसिंह आफ्ना भाइ–भारदारको दबावका कारण आफ्ना छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र गएका थिए । त्यतिबेला सो क्षेत्र घना जङ्गलले भरिएको थियो । राजा शक्रसिंहलाई भगवतीले भनिन्,–तिमी जुन स्थानमा बसिरहेका छौ, त्यस स्थानमा त्रिशुल गाडिएको भेटिनेछ र त्यहाँ अरु मूर्ति पनि छेउ–छाउमा पाउने छौं । ती मूूर्तिहरूको पूजा–आजा गरेर बस, तिम्रो भलो हुनेछ ।’ देवी भगवतीले सपनामा दिएको निर्देशन अनुसार राजा शक्रसिंहले त्रिशुल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती छ । सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीको वेवसाइटमा पनि उल्लेख छ ।
एघारौं शताब्दीको अन्त्यतिर भारत कलकत्ताका शासक गयासुद्दीन तुगलकको मुसलमानी आक्रमणकारी दलले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ ध्वस्त ग¥यो । मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू समेत तोडफोड गरी जलाशयमा फ्याकी दिए । मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढ्यो । सोही क्रममा सखडादेखि १५ किमी पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरू समेत तोडफोड ग¥यो ।
मुसलमानी आक्रमणपछि पुनः सखडा क्षेत्र जङ्गलमा परिणत भएको अनुमान गरिन्छ । मन्दिरको पूर्वपटी घना झाडी थियो, जसलाई अहिले पंचमुखी नागवाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समय समयमा पंचमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरु बताउँछन् ।
मन्दिरको पुनसंरचना
मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करीब एक सय पचिस वर्ष अघि सखडाको भगवती मन्दिर भत्किन लागेको ईटले बनेको एउटा गुफाको थियो । जसलाई स्थानीय बासिन्दा च्याखुरी नानीर चूनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट संकलित रकमबाट सानो मन्दीर निर्माण गरेका थिए । सो मन्दिर वि.सं. १९९० सालको भुकम्पमा भत्किएकोले त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा संकलन गरी ग्रामिण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाएको स्थानीयहरु बताउछन् ।
वि.स. २०२८ सालमा जिर्ण मन्दिरलाई तत्कालिन भारतीय रेल मन्त्री ललितनारायण मिश्रले श्रद्धालु भई पक्की मन्दिर भवन साथै तीन कोठे धर्मशाला पनि बनाए । त्यसपछि वि.सं. २०४४ सालमा तत्कालीन राजा बीरेन्द्र वीर शाह भगवतीको दर्शनार्थ सवारी भई मन्दिर निर्माणको लागि पाँचलाख रुपियाँ दिनुभएको थियो । सो रकमबाट तत्कालिन सगरमाथा अञ्चलाधिस सुर्यबहादुर सेन ओलीले आफ्नो सक्रियतामा भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका थिए । सखडा भगवतीको मन्दिर जति पल्ट निर्माण र पुनः निर्माण गरिए पनि त्यहाँको मूर्तिहरु शुद्ध पालवंशी शैलीमा बनाइएका छन् । नेपालमा पाल शैली भारतबाट आएको हो ।
विशेष पूजा
भगवतिको पूजामा फूलहैस विशेष पूजा हो । फूलहैसको तात्पर्य मनोरथ पूरा हुने भए शुभ सूचक संकेत स्वरुप देवीलाई चढाएको फूल झर्ने विश्वास गरिन्छ । सन्तान प्राप्ती, चाडै विवाह, मुद्दा मामिलामा विजयी प्राप्तीका आदिका लागि फूलहैस गराउँछन् । मध्यरातमा छिन्नमस्ताको मन्त्र साधनाबाट सरस्वती सिद्ध हुने उल्लेख रहेको पाइन्छ ।
मन्दिरमा नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरु खसी, बोका, भेडा, परेवा, हाँस र माछाको बलिदान गर्नेहरुको दिनहुँ ्भिड लाग्ने गरेको पीठाधिशले बताए । प्रत्येक दिन ५० वटा भन्दा बढी तथा बडा दशैंमा हजारौ बोका, खसी, भेडा, परेवा, हाँस र माछको बली चढाइन्छ । मनोकामना पूरा भएकाहरुले पञ्चबली प्रदान समेत गरिन्छ । बोका, खसी, भेडा, परेवा, हाँस र माछको बलीलाई पञ्चबली भनिन्छ । ६ बिघा १७ धुर ७ कठा क्षेत्रफलको ओगटेको मूल मन्दिर भन्दा पूर्व शिव मन्दिर, हनुमानको मुर्ति छन् ।
ऐतिहासिक पोखरी
भगवती मन्दिरको अग्रभागमा पाँच सय वर्गफिटको एउटा जलायश छ । त्यो जलाशयको एउटा छ, त्यो कहिल्यै सुक्दैन । जस्तोसुकै खडेरी आए पनि त्यो पोखरी (जलाशय) सुकेको हामीले सुनेका छैनौ, राजविराजका पत्रकार धिरेन्द्र साह भन्छन्, जलाशयामा कमल फूल फूल्थ्यो । त्यही कमलको माला गुँथेर देवीलाई समर्पण गरिन्थ्यो । जलाशयमा सुनको बुलाकी लगाएको विशाल कायाको माछा देखिन्थ्यो भनि जनविश्वास रहेको छ ।’
स्थानीय भक्तजनका अनुसार बयलगाडाका जमानामा व्यापारीहरुले सखडाको बाटो प्रयोग गर्दथे । उनीहरु यस जलाशयको डिलमा थकाई मार्थे र पोखरीको पवित्र जलले तिर्खा मेटाउँथे । व्यापारी वा बटुवाहरूले खाना पकाउनुप¥यो भने भाडा–बर्तनका लागि मातासमक्ष बिन्ति गर्नुपथ्र्यो । जलाशयको बीच भागबाट भाडा–बर्तन पानीमा तैरेर किनारमा आउँथ्यो । भाडा वर्तनको प्रयोगपछि सफा गरेर पोखरीकै जलमा समर्पण गरिन्थ्यो भनि स्थानीयहरु सुनाउछन् ।
वि.सं. २०१३ मा राजा महेन्द्रले मन्दिरको भ्रमणको क्रममा पोखरी जीर्णोद्वारका लागि एक हजार रुपैयाँ दिएका थिए । पोखरी जिणोद्धार गर्दा एउटा सिक्का भेटियो । सिक्कामा लेखिएको कुरा कसैले ठम्याउन सकेन । उक्त सिक्का विर्तवाल हेम कुमार उपाध्यायको घरमा राखियो पछि सिक्का काठमाण्डु लगिएको बताइन्छ ।
पीठमा चढाइने बोकाको रगत पोखरीमै मिसिए पनि जलाशयको स्वच्छतामा कुनै कमी आएको छैन । जलाशयको मध्यभागमा स्थापित स्तम्भमाथि कमलदलमा श्रीयंत्र अंकित गरिएको छ, जसले जलाशय र पीठको सौन्दर्य बढाएको छ । जलाशयको चारैतर्फ पक्की तथा व्यवस्थित घाट निर्माण गरी बगैंचा लगाइएको छ । मन्दिर क्षेत्रमा वनभोज स्थल, गाडी पार्किङ्ग पोखरीमा स्नान घाट निर्माण गरिएको छ । शक्तिपीठ परिसरमा निर्माणाधीन दश महाविद्या मन्दिरमा काली, तारा, त्रिपुर सुन्दरी, भुवनेश्वरी, त्रिपुर भैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमलाको मूर्ति स्थापना गरिने लक्ष्य रहेको छ ।
यस पोखरीको सम्बन्धमा एउटा सुनको सिंग भएको राँगा छ जुन दैवी शक्ति सम्पन्न छ भने विश्वास गरिन्छ । पुराना बुढापाकाले आफ्नै आँखाले उक्त विशालकाय राँगा उक्त पोखरीवाट निस्केको एवं पसेको देखेको थिए । कहिले–काही जुनेली रातमा पोखरी भित्रै पनि उक्त राँगा पौडेको देखियो भने गरिन्छ ।
पर्यटकको आकर्षण
छिन्नमस्ता भगवती व्यवस्थान समितिले पर्यटकहरु आकर्षण गर्नका लागि समय समयमा विभिन्न गतिविधिहरु गरिरहेका हुन्छन् । केही वर्ष पहिले नेपालको पूर्वदेखि पश्चिमसम्म र उता काठमाडौसम्म रथ यात्रा गरेको थियो । आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण गर्नका लागि सो रथ यात्रा गरेको थियो । रथ यात्रापछि अन्तरिक पर्यटकममा निकै वृद्धि भएको सप्तरीका पत्रकार यादव बताउँछन् । यहाँ भारतीय पर्यटकको आकर्षण रहेको छ । कहिले काही बंगालादेशी पर्यटक पनि आउने गरेका छन् । तेस्रो मुलुकको पर्यटक भित्र्याउनका लागि त्यही अनुसारको प्रचार प्रसारको आवश्यकता रहेको देखिन्छ ।
सप्तरीका माओवादी नेता एवं पूर्वमन्त्री उमेश यादव भन्छन्, ‘यहाँ आन्तरिक पर्यटकको कमी छैन, तर आउने पर्यटकलाई यहाँ टिकाउन सकिरहेको छैन । कम्तीमा यहाँ आउने पर्यटकहरु एकरात यहाँ बसोस्, अनि मात्र यसको विकास सम्भव हुने देखिन्छ ।’
हालसम्म पर्यटकलाई बस्नका लागि वासको व्यवस्था गरिएको छैन । त्यस मन्दिर वरिपरी होटल अथवा लज पनि छैन । यदि कुनै पर्यटक आएर बस्न चाह्यो भने १० किलोमिटर टाढा राजविराज सदरमुकाममा गएर बस्नुपर्ने अवस्था छ । यद्यपी स्थानीय स्तरबाट त्यसका लागि पहल भइरहेको छ । पर्यटकहरुका वासमा लागि सुविधा सम्पन्न धर्मशाला बनाउनुको साथै खानपिनको सुविधा प्रदान गर्नका लागि संरचनाहरु बनाउने काम भएको छ । मन्दिरको केही सौन्दर्यकरण गरिएको छ ।
तपाईको प्रतिक्रिया