Khadya Bibhag

मैथिली भाषाका क्रान्तिकारी कवि विद्यापति

–श्यामसुन्दर यादव
महाकवि बिद्यापति एउटा यस्तो नाम हो जुन आफ्नो सिर्जनात्मक गुण एवम् व्यक्तित्वका कारण अहिलेपनि जन–जनमा जिवित छन् । भाषा र साहित्य रुचि राख्ने व्यक्तिहरुका लागि बिद्यापतिको नाम नौलो होईन ।  मैथिली भाषा साहित्यका शिखर व्यक्तित्व महाकवि बिद्यापतिको युग अंग्रेजी साहित्यमा शेक्सपियर, नेपाली साहित्यमा भानुभक्त तथा बंगालीमा रविन्द्रनाथको भन्दा कम छैन ।
मैथिली साहित्य क्षेत्रका दुर्लभ श्रष्टा बिद्यापतिको जन्म ई.सं. १३५२ मा भारत बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको बिसफी गाउँमा कार्तिक महिनाको शुक्ल त्र्योदशीका दिन भएको थियो ।  उहाँ गणपति ठाकुर तथा गंगा देवीका सन्तानको रुपमा मिथिलाको पावन भूमिमा उदाउनु भएको थियो । तत्कालिन मिथिलाका महाराज गणेश्वर सिंहको दरवारमा बिद्यापतिका बुवा गणपति राजपुरोहितका साथै मन्त्री समेत हुनुहुन्थ्यो । अद्भूत तर्क शक्ति एवम् सिर्जनशिलताका धनी बिद्यापति उत्कृष्ट कविता तथा गीत रचना गरेर सबैलाई मन्त्रमुग्ध पार्नुहुन्थ्यो । गणेश्वर सिंहको दरवारमा उहाँको मित्रता राजकुमार शिवसिंहसँग हुन पुग्यो । मिथिलाका तात्कालिन प्रकाण्ड बिद्वान हरि मिश्रसँग उहाँले शिक्षा ग्रहण गर्नुभएको थियो ।
मिथिला महाराज गणेश्वर सिंहको मृत्यू पश्चात किर्ति सिंह राजा हुनुभयो । आफ्नो बुद्धिमताका कारण बिद्यापतिले २० वर्षकै उमेरमा कवि तथा नितिज्ञको रुपमा प्रसिद्धि प्राप्त गर्नुभयो । उहाँको प्रतिभा एवम् क्षमता देखेर किर्तिसिंहले सभापण्डित तथा दरवारिया कविको पद्वी दिनुभयो । तत्पश्चात बिद्यापति अझ उत्साहित भई किर्ति सिंहको किर्तिगाथा किर्तिपताका मैथिलीमा रचना गर्नुभयो । उक्त कृतिले खुबै चर्चा पाएपछि बिद्यापति नामले प्रसिद्धि पाउनु भयो उहाँ । किर्तिसिंह पश्चात, पवन सिंह, पदम् सिंह र तत्पश्चात शिव सिंह मिथिलाका राजा हुनुभयो । उहाँको कवित्व क्षमता तथा प्रतिभाबाट प्रभावित शिव सिंहले बिद्यापतिलाई पैतृक गाउँ बिसफी दान दिनुभयो ।
शिव सिंहको कार्यकालमा बिद्यापतिले धेरै जसो श्रृंगार रसमा आधारित उत्कृष्ट कविताहरु रचना गर्नुभयो । उहाँको रचित कविताहरु जो कोहीलाई मन्त्रमुग्ध पार्नुका साथै पारिवारिक प्रेमको भावना जागृत गर्दथ्यो । राज्यरोहणको तीन वर्षपछि महाराजा शिव सिंह र शासक भुवनशेनसँग युद्ध भयो । उक्त युद्धमा मिथिलाका सेना पराजित भए भने शिव सिंह पनि वीरगति प्राप्त गर्नुभयो । राज्यमन्त्री तथा राजा शिव सिंहको कुशल मित्र भएको नाताले बिद्यापति रानी लखिमा देवीलाई लिएर पूर्वी नेपालको सप्तरी क्षेत्रमा पर्ने बनौली आएको कुरा विभिन्न विद्वानले दावी गरेका छन् ।
राजा पुरादित्य शिव सिंहको असल मित्र भएका कारण पारिवारीक सदस्य तथा रानी लखिमा सहित बिद्यापतिलाई बनौलीका राजा पुुरादित्यले शरण दिए । निर्वासित जीवन बिताउँदाकै अवस्थामा राजा पुरादित्यको आग्रहमा बिद्यापतिले लिखनावली नामक ग्रन्थ लेख्नुभएको थियो । सो ग्रन्थमा राजकाज सम्बन्धी कुराहरु लेखिएको थियो । आफ्ना पतिको यादमा चिन्तित बन्नुभएका रानी लखिमालाई राजाको यादलाई कम गर्न बिद्यापतिले आफ्ना रचनाहरु सुनाउने गर्नुहुन्थ्यो । मैथिली भाषामा कलम चलाउने धेरै साहित्यकारहरु जन्मिए तर महाकवि बिद्यापतिको जस्तो स्थान कसैले लिन सकेको छैन । उहाँले किर्तिलता, किर्तिपताका, पदावली, लिखनावली, बिभाग सागर, दानवाक्यावली, गया पतन, शैवसर्वस्व, गंगावाक्यावली, ज्योतिष दर्पण, भू–परिक्रमा, दानावाक्यावली, गंगावाक्यावली, दर्गभक्तितरंगिनी, शैवसर्वस्वहारा, कृतिपताका, किर्तिलत्ता, वर्षकृत्य, पुरुष परिक्षा जस्ता  पुस्तकहरु लेख्नु भएको छ । यसैगरी उनले मैथिलीमै गोरक्ष विजय, मनिमञ्जरी जस्ता नाटक लेख्नुभयो ।
युद्धमा आफ्ना सेनाका साथ शासक भुवनसेनसँग लड्न निस्केका आफ्ना पति राजा शिव सिंह फर्केर आउने आशमा १२ वर्षसम्म बाटो कुरेर बस्नुभयो । तर शिव सिंहको कुनै खोजखबर नआएपछि रानी लखिमाले सतित्व प्राप्त गनुृभयो । तत्पश्चात बिद्यापति पुनः आफ्नो गृह गाउँ बिसफी पुग्नुभयो । जीवनको उतराद्र्धमा उहाँले आफ्नो गाउँमा महेशवाणी, नचारी, स्तुति आदी रचना गर्न थाल्नुभयो । यद्यपि महाकवि बिद्यापति निर्वासित रहेको बनौलीको विषयमा अझैं पनि विवाद कायम रहँदै आएको छ । किनभने पहिला सप्तरीमै सुनसरी, सिरहा, महोत्तरी र धनुषा पर्दथ्यो । पछि जिल्ला निर्धारण गर्ने क्रममा सप्तरीबाटै ती जिल्लाहरु अलग भएको हो । हाल बिद्यापतिले  निर्वासित जीवन बिताउनु भएको ठाउँको विषयमा ठोस उत्खनन् हुन नसकेका कारण विवाद रहँदैआएको छ । महोत्तरी, सिरहा र सप्तरीका विद्वानहरु आ–आफ्नो जिल्लाको बनौली भएको भनि दावी प्रस्तुत गर्दैआउनु भएको छ ।
यस बिषयमा सप्तरीका ईतिहासविद् प्रा.हरिकान्तलाल दासले भन्नुभयो, ‘अन्यत्रको बनौली नभई बिद्यापति निर्वासित भएको ठाउँ सप्तरीकै बनौली हो ।’ उहाँका अनुसार सप्तरीको बनौलीमा अहिले अवशेष तथा प्रमाणहरु भेटिने गरेकोले उत्खनन् तथा अनुसन्धान हुनुपर्ने उहाँको दावी छ । यसैगरी सिरहा तथा महोत्तरी जिल्लाका ईतिहासविद् तथा बिद्वानहरुले बिद्यापतिले निर्वासित जीवन विताएको ठाउँ आ–आफ्नो जिल्लाको बनौली भएको दावी गर्दै आउनु भएको छ । समग्रमा उहाँ साँच्चिकै धुरन्धर विद्वान हुनुहुन्थ्यो । मैथिली साहित्यमा आजसम्म यस धर्तिमा बिद्यापति जस्ता कवि जन्मिन सकेको छैन । सामान्य रुपमा बिद्यापतिको अर्थ केलाउँदा बिद्या र पति दुईटा शब्द मिलेर बिद्यापति शब्द बनेको छ ।
बिद्याको अर्थ ज्ञान र पतिको अर्थ मालिक अर्थात ज्ञानको मालिक । उहाँ ब्राम्हण समुदायको काश्यप गोत्रमा जन्मिनु भएको थियो । महाकवि बिद्यापतिको वंशजको बिषयमा केलाउँदा क्रमशः बिष्णु ठाकुर, हरादित्य, कर्मादित्य, देवादित्य, धीरेश्वर, जयदत्त, गणपति र बिद्यापति भएको बुझिन्छ । अर्थात बिद्यापति गणपति ठाकुरका सन्तान रहेको ऐतिहासिक ग्रन्थहरुमा उल्लेख रहेको पाईएको छ ।
विद्यापतिले मैथिली भाषामा बग्रेल्ती साहित्य सिर्जना गर्नुभएको छ । जसरी ईटलीमा दाँतेको र ईंगलैण्डमा चौसरको प्रभाव र प्रसिद्धि थियो त्यसरी नै मैथिली साहित्यमा बिद्यापतिको प्रभाव रहेको थियो । उहाँको सिर्जित रचना भगवान शंकरप्रति समर्पित, राधाकृष्ण, प्रेम बिरह, नारी सौन्दर्यप्रति केन्द्रित रहेको पाईन्छ । १२ औं शताब्दिताका संस्कृत भाषामा जयदेव लिखित गीत गोविन्द जस्तै उत्कृष्ट बिद्यापतिका रचना रहेका कारण उहाँलाई जयदेव समेत भनिन थालियो । उहाँले आफ्ना सिर्जनामा अध्यात्मिक प्रेमलाई शारिरीक प्रेमको भाषामा प्रयोग गर्नुभएको छ । ११औं शताब्दिमा रामानुज आचार्यले साहित्य गरेको बिशिष्टा द्वैद्ध दर्शनमा आधारित थियो । उक्त दर्शनमा आधारित रहेका महाकवि बिद्यापतिले पे्रम परिभाषाको चित्रण यसरी गर्नुभएको छ ।
क्रिश्चियन धर्मममा जसरी भनिएको छ कि पुजारीको हस्तक्षेप बिना भगवानसँग अभूतपूर्व प्रेमको आनन्द प्राप्त हुन्छ । उक्त धारमा रहेर समेत बिद्यापतिले असंख्य रचना गर्नुभएको छ । जतिबेला संस्कृत भाषाको बोलबाला थियो, साहित्य सिर्जनादेखि लिएर ठूला ठूला ग्रन्थहरु समेत संस्कृत भाषामा लेखिन्थ्यो । सर्वसाधारण जनताको भाषा संस्कृत बन्न सकेको थिएन । उच्च जाति भनाउने व्यक्तिहरुको भाषा बनेको थियो संस्कृत । त्यतिबेला बिद्यापतिले संस्कृत भाषाबाट बिद्रोह गरी स्थानीय भाषा अर्थात जनभाषामा साहित्य सिर्जना गर्ने दुस्साहस गर्नुभएको थियो । संस्कृत भाषा जनताको भाषा बन्न नसकेको अवस्थामा उनले मैथिली भाषामा साहित्य सिर्जना गर्न थालेपछि व्यापक आलोचनाका पात्र समेत बने । समग्रमा यावत तथ्यहरुको आधारमा भन्नुपर्दा बिद्यापति क्रान्तिकारी कवि हुनुहुन्थ्यो ।
उहाँलाई ब्राम्हण समुदायकै केही कट्टरवादीहरुले हाँसोको पात्र समेत बनाएको थियो । आलोचनाको रतिभर प्रवाह भएन । महाकवि बिद्यापतिले मैथिली भाषामा रचना गर्न थालेपछि जनजनबाट समर्थन प्राप्त भयो । उहाँका रचना सर्वसाधारण जनता हुँदै तात्कालिन राजा महाराजासम्म प्रभावित भए । मैथिलीको प्रभाव भारत हुँदै नेपालीय मिथिलाञ्चल हुँदै राजधानी काठमाण्डौंसम्म पुगेको कुरा ईतिहासमा उल्लेख छ । काठमाण्डौंका मल्लकालिन राजाहरुको राजकाजको भाषा मैथिली नै थियो । सहज एवम् मीठो भाषाका कारण लामो समयसम्म मैथिलीले आफ्नो बर्चस्व कायम राखेको थियो ।
जनकवि बिद्यापतिले देसिल बयना सबजन मीट्ठा अर्थात लोकभाषा सभके मीठगर लागैत अछि भने  मूल नाराका साथ साहित्य सिर्जनाको अभियानलाई अगाडी बढाएका थिए । त्यहि मान्यताका साथ अगाडी बढेका कारण महाकवि बिद्यापति जनजनमा लोकप्रिय हुनुभयो । उहाँले जनभाषालाई मुख्य आधार मानेर साहित्य सिर्जनालाई अगाडी बढाएको तथ्य जगजाहेर छ । मैथिली, बंगाली र ओरिया भाषामा कलम चलाएका कारण यी तीनवटै भाषाका साझा कवि बन्नुभयो बिद्यापति । उहाँ मैथिली, बंगाली र ओरिया भाषाका महाकविको रुपमा सम्मान पाएका छन् । शायद  बिद्यापतिले संस्कृत भाषामा मात्र कलम चलाएको भए उनी जनकविको रुपमा स्थापित हुने थिएन ।
बिद्यापतिको विषयमा एक जना (फोकलोर) ायपियिचभ नामक बिद्वानले बिद्यापतिको यसरी लेखेका छन, ‘बिद्यापतिको भक्तिप्रति भगवान शंकर यतिसम्म प्राभावित थिए कि उनीकहाँ नोकर भएर बसेका थिए । बिद्यापति भगवान शंकरलाई आह्वान गरेर बसेका थिए, सोही बेला भगवान शंकर साक्षात रुपमा प्रकट भएका थिए । उनले बिद्यापतिसँग भनेका थिए म तिम्रो भक्तिबाट धेरै प्रभावित छु । अब म तिमीकहाँ नै बस्छु, नोकरको रुपमा । यो कुरा तिमी कसैलाई पनि नभन्नु । जुन दिन यो गोपनियताको भंग हुन्छ, त्यो दिन तत्क्षण म सदाका लागि बिलिन हुन्छु ।  चरणस्पर्श गर्दै बिद्यापतिले कबोल गरे । सोही प्रतिबद्धता अनुसार बिद्यापतिको घरमा भगवान शंकर नोकर भएर बस्न थाले । एक दिनको कुरो हो, बिद्यापति घरमा थिएन, बिद्यापतिकी पत्नीले अ¥हाएको काम बिद्यापतिले बिगारी दिएपछि बेस्सरी कुट्न थाले ।
बिद्यापति केही नबोलीकन कुटाई खाईरहेकै अवस्थामा बिद्यापतिले अचानक यस्तो दृष्य देखेपछि देवी छोडि दिनु, उगनालाई नकुट्नु, नकुट्नु, नोकर होईन, भगवान शंकर हो भनि बिद्यापतिको मुखबाट कुरा चिप्लिएपछि उगनारुपी शंकर बिलुप्त भए । त्यतिबेला बिद्यापति बिलौना गर्दै जंगलमा बिद्यापतिलाई खोज्न थाले । तर भगवान शंकर फेरी फर्केर आएन । उगनाको सम्झना उनले साहित्य सिर्जना गरे । जसमध्ये उनको एउटा गीतमा यस्तो भनिएको छः
हेरौ उगना, हमर भंग पिसना, कतए गेले रुसना 
कतेक तोरा तकबौ रौ एहि बनमे………..
अहिले भारत बिहारको मधुवनी जिल्ला अन्तर्गत कतिपय स्थानहरुमा उगना महादेवको मन्दिर निर्माण गरिएको छ । हुन त भगवान शंकर बिद्यापति कहाँ नोकर भएर बसेको कुरामाथि विश्वास नगर्नेहरु पनि धेरै छन् । यद्यपी बिद्यापतिको भक्तिमा यति शक्ति थियो कि भगवान शंकर मोहित भएर नोकरको रुपमा आएको मान्यता आम मिथिलावासीका बीच कायम छ । राज बनौली १२ वर्षको लामो प्रवासपछि उनी महाकवि बिद्यापति आफ्नै पैतृक गाउँ बिसफी पुगे । जीवनको उतराद्र्धमा उहाँले आफ्नो गाउँमा महेशवाणी, नचारी, स्तुति आदी रचना गर्न थाल्नुभयो । अद्भूत प्रतिभाका धनी बिद्यापतिको मृत्यू गंगाको किनारमा भएको थियो ।
यो संसारबाट बिदा लिने बेलामा बिद्यापतिले आफ्ना परिवारजनलाई भन्नुभयो, –‘मलाई गंगा किनारमा लैजाऊ ।’ जब गंगा नदीदेखि एक कोसको दुरी तय गर्न मात्र बाँकी रहेपछि वजितपुर पुगेपछि उहाँले भन्नुभयो, ‘अब म यो भन्दा अगाडी जान सक्दिन, यहि ठाउँमा गंगा मातालाई आउनुपर्छ  भनि प्रण गर्दै गंगाको प्रार्थाना गर्न थाल्नुभयो । सोही प्रसंगमा गंगाको स्मरण गर्दै यस्तो रचना गरिएको छः
बड सुख सार पाओल तु अति रे 
छोड ईत निकट नयन बह नीरे…….
जीवनबाट विदा लिने समयमा बिद्यापतिको प्रार्थना र भक्तिबाट प्रभावित भई राता–रात गंगा नदी बिद्यापति नजिकबाट बग्न थाल्यो । तत्पश्चात बिद्यापति गंगाको जलमा बिलिन हुनुभयो । उहाँले मृत्यू अघि लेखेको रचना यस्तो छः
माय बाप जो सद्गति पाव
सन्ततिका अनुप सुख आब
बिद्यापति आयु अवसान
कात्तिक धवल त्र्योदशी जान …… 
मैथिली भाषालाई समृद्ध बनाउन महाकवि बिद्यापतिले  पु¥याएको योगदान अतुलनीय एवम् अविस्मरणीय रहेको छ । उहाँलाई हामी अभिनव, जयदेव, कवि कोकिल, जनकवि आदी उपनामले चिन्दछौं । बिद्यापति हामी बीच आज नभएपनि उनी रचित गीत अहिले पनि जनजनमा जिवित छन्  । मैथिली भाषा कुनै वर्ग वा जाति विशेषको होइन भने वास्तविक यथार्थ बुझेर यसको संरक्षणका लागि अगाडी बढ्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया