काँग्रेसको सभापतिका लागि पुनः मतदान हुने

काठमाडौँ मंसिर २८ गते । काँग्रेसको सभापति पदका लागि भएको मतदानबाट कसैले पनि ५० प्रतिशत मत ल्याउन सक्नु भएन । प्रधानमन्त्री समेत रहनु भएका शेरबहादुर देउवाले सुरुदेखि अग्रता कायम गरे पनि उहाँले ५० प्रतिशत भन्दा बढी मत कटाउन सक्नु भएन । पार्टीको विधान अनुसार दोस्रो चरणको चुनाव हुनेभयो । अबको चुनाव शेरबहादुर देउवा र शेखर कोइरालाबीच मात्र हुने देखिएको छ ।

कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो हुनुभएको छ । तर, ५० प्रतिशत मत कटाउनका लागि उहाँलाई ८२ मतले कम भएपछि दोस्रो चरणको चुनावमा जाने निश्चित भएको छ । दोस्रो स्थान हासिल गर्नुभएका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत प्राप्त गर्नुभएको छ । विमलेन्द्र निधिले २४९ मत मात्र प्राप्त गर्नुभएको छ भने कल्याण गुरुङले २० मतमा मात्र चित्त बुझाउनु भएको छ ।

तपाईको प्रतिक्रिया