छ–सात कक्षामा पढ्दै गर्दा अफरोज अर्पण अर्थात अफरोज मन्सुरले एफएममा बोलेको जस्तो अभियन गर्दै साथीभाइलाई मनोरञ्जन दिनुहुन्थ्यो । स्कूलमा कुनै कार्यक्रम होस्, उद्घोषकको जिम्मा उहाँले नै पाउनु हुन्थ्यो । जसरी एफएममा बोलिन्छ त्यसरी नै उहाँ बोल्ने प्रयास गर्नुहुन्थ्यो । पर्साको वीरगञ्जमा बज्ने एमएफहरुको अवाजले उहाँलाई त्यसप्रति आकर्षित गरेको थियो । ती आवाजहरु सुनेर अफरोजले एकदिन आफू पनि त्यसरी नै एफएममा बोल्ने ठान्नु भएको थियो ।
आज उही बारा कलैयाका अफरोज एफएममा मात्र होइन, राष्ट्रिय टेलिभिजनमा आफूलाई उतारेर दुनियाँलाई आफ्नो अवाज सुनाई रहनु भएको छ, त्यो पनि भोजपुरी आफ्नो मातृ भाषामा । अफरोज विगत १० वर्षदेखि काठमाडौँमा भोजपुरी भाषाले अरुलाई मनोरञ्जन दिनुको साथै सुचना पनि सम्प्रेषण गरिरहनु भएको छ । त्यसो त उहाँका आमा–बुवाले अफरोज पत्रकार नबनोस् भनि चाहनु भएको थियो । छोरा बीबीए, एमबीए गरोस् र पैसा कमाएर घरपरिवार सम्हालोस् भनि उहाँहरुको चाहना थियो । तर अफरोजले आमा–बुवाको त्यो चाहना त पुरा हुन दिनु भएन तर आज त्यही अफरोजलाई काँचको पर्दामा हेर्दा आमा–बुवाको गर्वले छाती गदगद हुन्छ । र छरछिमेकलाई पनि भन्नुहुन्छ, ‘उ हेर मेरा अफरोजलाई ।’
रोजाईमा पत्रकारिता
३० वर्षिय अफरोजको चाहना पत्रकार बन्नु थियो तर उहाँका आमा–बुवाको चाहना अर्कै थियो । उहाँ एसएलसी पास गरेपछि पत्रकारिता पढ्नका लागि काठमाडौँ जाने योजना आमा–बुवालाई सुनाउनु भएको थियो । त्यसमा उहाँहरु राजी हुनुभएको थिएन । उहाँका आमा–बुवाले भन्नुभयो–‘नो पत्रकारिता हुँदैन, यसमा कमाई हुँदैन, ज्यानको पनि खतरा हुन्छ, समयको ठेगान हुँदैन त्यसैले पत्रकारिता नो ।’ त्यही बेला पत्रकार विरेन्द्र साहको हत्या पनि भएको थियो । त्यसले गर्दा उहाँका आमा–बुवाले कुनै पनि हालतमा छोरालाई पत्रकारिता पढ्न दिन चाहनु भएको थिएन । अफरोज बाध्य भएर पर्साको एक कलेजमा प्लस टुमा नाम लेखाएर पढ्न थाल्नुभयो । तर उहाँमाथि जुन पत्रकारिताको भूत सवार थियो त्यो कहिले उत्रेन ।
उहाँ दिनरात पत्रकारिताकै सपना देख्नु हुन्थ्यो । एफएममा कसरी बोल्ने, कार्यक्रम कसरी चलाउने सपना देख्नुहुन्थ्यो । संयोग एउटा संस्थाले पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरेको थियो । त्यसमा अफरोजले पनि भाग लिनुभयो । मान्छेभित्र रहेको ‘हुनर’ कहाँ लुकिन्छ । त्यस तालिममा उहाँ टप गर्नुभयो । त्यही बेला वीरगञ्जमा आकाश एफएम खुलेको थियो । सो एफएममा भोजपुरी भाषाको समाचार पढ्ने काम पाउनुभयो । त्यसरी काम पाउनु त्यो तालिमकै नतिजा थियो । जुन दिनदेखि उहाँ एफएममा काम गर्नुभयो, त्यो दिन २०६५ चैत २३ गते थियो । चैत २३ गते अफरोजको जन्म दिनपर्छ र त्यही दिनको मौका पारेर उहाँले एफएममा भोजपुरी समाचार पढ्ने काम थाल्नी गर्नुभएको थियो । बाल्यकालदेखि देख्नु भएको उहाँको सपना पुरा भइरहेको थियो । अफरोजको खुशीको सीमा थिएन ।
उता प्लस टुको पढाई पनि चलिरहेको थियो, यता एफएममा उहाँको काम पनि चलिरहेको थियो । उहाँलाई पैसा नदिएपनि काम गरिरहनु भएको थियो । पढाई र एफएम दुईटै काम सँगसँगै चलिरहेको थियो । पत्रकारिताको साथै पढाईलाई निरन्तरता दिनुभएको कारण उहाँको आमा–बुवाले त्यो बेला केही भन्नु भएन । उहाँको आमा–बुवाको एउटै चिन्ता थियो छोराको पढाई नबिग्रियोस् । त्यो एफएममा उहाँले एक वर्षसम्म काम गर्नुभयो ।
तर त्यो अवधिसम्म उहाँले चार हजार रुपियाँ मात्र पाउनु भएको थियो । जब कि उहाँलाई महिनाको एघार हजार रुपियाँ दिने कुरा गरेको थियो । प्रतिवद्धता अनुसार पैसा नदिएपछि अफरोजले पढाईका लागि काठमाडौँ जाने भनि बहाना गरेर एफएम छोड्नु भएको थियो । उहाँले पैसा नदिएको कारण काम छाड्दै छु भनि भन्न चाहनु भएन किनभने अफरोजको क्यारियरको सुरुवात थियो । उहाँले कुनै प्रकारको विवादमा पर्न चाहनु भएको थिएन ।
पारिश्रमिककेो कारण पढाईको बहानादेखाएर आकाश एफएम छाड्नु भएको अफरोजले प्लस टु पास गर्नुभयो । पढाई सकेपछि उहाँले कुनै काम नपाएर तीन चार महिना घरमा नै बस्नुभयो । तर पत्रकारिताको भूत उहाँको दिमागबाट हटेको थिएन तर उहाँका आमा–बुवाले इजाजत दिइरहनु भएको थिएन । त्यसपछि काठमाडौँ गएर पत्रिकारिता गर्ने एउटा जुक्ति निकाल्नुभयो । बीबीए पढ्ने भनेर काठमाडौका लागि हिड्नुभयो । काठमाडौ गएर उहाँलाई पत्रकारिता पढ्ने इच्छा थियो, बीबीए त एक बहाना मात्र थियो । बीबीए पढ्न जाने भनेपछि उहाँका आमा–बुवाले पनि काठमाडौ जान दिने तयार हुनुभयो । बीबीए पढ्ने र पत्रिकारिता पनि गर्ने सपना लिएर सन् २०१० मा उहाँ काठमाडौ पस्नु भयो ।

विज्ञापन खोजेर एफएममा काम
अफरोज काठमाडौँ आएर बीबीएमा आइडमिशन गराउनुभयो । र, पढ्न थाल्नुभयो । फस्ट समेस्टरसम्म राम्रो गर्नुभयो । तर उहाँलाई पढाईमा मन लागि रहेको थिएन । पत्रकारिताको प्यास उहाँलाई छदै थियो । त्यो प्यास कसरी मेटाउने भनि काठमाडौँमा भौतारि रहनु भएको थियो । संयोग काठमाडौँमा ओमप्रकाश यदुवंशीसँग उहाँको भेटभयो । यदुवंशी ललितपुरको गोदाबरीमा रहेको इसीआर एफएममा मार्केटिङमा काम गर्नुहुन्थ्यो । यदुवंशीले अफरोजलाई पनि सो एफएममा भोजपुरी भाषाको कार्यक्रम चलाउनका लागि सुझाव दिनुभएको थियो । कार्यक्रमको नाम थियो ‘मञ्चली’ । त्यो कार्यक्रम त्यसअघि प्रवेश चौधरीले चलाएर छाड्नु भएको थियो ।
अफरोजले ‘मञ्चली’ कार्यक्रम चलाउन थाल्नुभयो । तर एफएमबालाले पारिश्रमिक दिइएरहेको थिएन । आफै विज्ञापन ल्याउनु कार्यक्रम चलाउने । त्यसबाट ५० प्रतिशत एफएमलाई दिने र ५० प्रतिशत आफू राख्ने भनि दुई पक्षमा सम्झौता भएको थियो । अफरोजले विज्ञापन तथा एसपोन्सर खोज्दै त्यो कार्यक्रम चलाई रहनु भएको थियो । एफएमले कुनै तलब दिइरहेको थिएन । आफै विज्ञापन खोज्ने आफै कार्यक्रम सञ्चालन गर्ने काम गरिरहनु भएको थियो । एक वर्षसम्म त्यहाँ उहाँले त्यसैगरि काम गर्नुभयो । उहाँलाई बीबीए पढाईमा मन लागि रहेको थिएन । दोस्रो समेस्टरको परीक्षा पनि आइसकेको थियो । तर उहाँको ध्यान उतातिर थिएन ।
पत्रकारिता अध्ययन
पत्रकारिता नै दिल लगाएर पढौं भनि सोच उहाँको थियो । इसीआर एफएम टाढा भएको कारण त्यसलाई छाडेर आरआर क्याम्पसमा पत्रकारिता (ब्याचलर) पढ्न थाल्नुभयो । बीबीएमा सेकेण्ड समेस्टरको परीक्षा पनि दिनु भएन । बीबीएको पढाई छाडेर पत्रकारिता पढ्न थालेको बारेमा उहाँले आफ्नो आमाबुवालाई पनि भन्नु भएन । सायद भनेको उहाँको आमा–बुवाले अनुमति दिनु हुने थिएन । आमा–बुवाले त छोरा काठमाडौँमा बीबीए पढ्दैछन् भनि मख्ख थिए तर छोरा यहाँ पत्रकारिता पढ्न थाल्नुभयो । त्यसका साथै कोटेश्वरस्थित नव ज्योती एफएममा ‘भोजपुरीया रसरंग’ कार्यक्रम पनि चलाउन थाल्नुभयो । त्यो कार्यक्रम त्यसअघि गोपाल ठाकुरले चलाउनु हुन्थ्यो । त्यहाँ पनि अफरोजले वजारमा विज्ञापन खोज्ने र कार्यक्रम चलाउने काम गर्नुहुन्थ्यो । त्यहाँ पनि दुईजना साथी हुनुहुन्थ्यो । त्यसबाट महिनाको पाँच–पाँच हजारजति दुवैजना कमाउनु हुन्थ्यो । त्यसले उहाँको पकेट खर्च चल्थ्यो ।
बीबीए पढाइका लागि भन्दै उहाँका आमा–बुवाले पनि महिनाको आठ–दशहजार रुपियाँ पठाई दिनुहुन्थ्यो । त्यसले अफरोजलाई काठमाडौँमा पैसाको अभाव कहिले भएन । पछि बीबीए पढाई छाडेर पत्रकारिता पढ्न थालेको कुरा उहाँको आमाबुवालाई पनि थाह भयो । उहाँहरु अफरोजमाथि रिसाउनु भएको थियो तर अफरोजले आमा–बुवालाई कन्भिन्स गर्नुभयो । उहाँले आफ्ना आमा–बुवालाई भन्नुभएको थियो ‘मलाई बीबीए पढ्न मन लाग्दैन, जवर्जस्ती म पढ्न सक्दिन मलाई पत्रकारिता मात्र पढ्न मन लाग्छ, पढेर म पत्रकारिता गर्छु प्जिल मलाई पढ्न दिनुस् ।’ बिलौना गरेर यति भनेपछि उहाँका आमा–बुवा पनि तयार हुनुभएको थियो । तिमीलाई जे गर्न मन लाग्छ गर, भोली पर्सीतिर केही भयो भने हामीलाई नभन्नु, उहाँका आमा–बुवाले भन्नुभएको थियो ।

डाक्टर इन्जियर धेरै मान्छे बन्छन् तर पत्रकारिता पढेर जनतालाई जागरुक बनाउने काम धेरै कमले गर्छन् त्यसैले पत्रकारिता गर्नका लागि आमा–बुवालाई राजि गराउनुभएको थियो उहाँले । उहाँ एकवर्षपछि नव ज्योति एफएम पनि छाड्नु भयो । त्यसपछि उहाँले काठमाडौँमा मिडियासँग सम्बन्धित जे काम पाउनु हुन्थ्यो ती सबै काम गर्नुहुन्थ्यो । २०७० को चुनावमा उहाँ गाउँ जानुभयो । चुनावपछि उहाँ काठमाडौँ फर्केपछि राष्ट्रिय मुस्लिम आयोगमा जागिर पाउनु भएको थियो । उहाँ त्यहाँ रिसेप्सनको जागिर पाएपनि मिडिया कोर्डिनेटरको पनि काम गर्नुहुन्थ्यो । त्यतिबेला उहाँको कमाई राम्रै थियो ।
आयोगको करारको जागिर सकिए पछि उहाँ चार पाँच महिनापछि रेडियो नेपालमा घटना र विचार कार्यक्रममा काम गर्न थाल्नुभयो । छ सात महिना काम गरेपछि उहाँ २०७४ को चुनावमा गाउँ जानुभयो । तीनै तहको चुनावमा उहाँ गाउँमै बस्नुभयो । पत्रकार भएको कारणले उहाँलाई राजनीतिमा निकै रुचि थियो । स्थानीय तहमा चुनाव लडौं भनि सोच पनि उहाँमा आएको थियो तर गाउँका साथीभाइले सल्लाह दिएपछि उहाँ ब्याक हुनुभएको थियो ।
टीभी शो
सबै चुनाव सकेपछि उहाँ पुनः काठमाडौँ फर्किनु भएको थियो । उहाँ त्यतिबेला वेरोजगार हुनुहुन्थ्यो । कामको खोजीमा हुनुहुन्थ्यो । २०७२ मा फतिमा बानुसँग उहाँको विहे भएको थियो । फतिमा पनि पत्रकार भएको कारणले उहाँलाई काठमाडौँमा समस्या थिएन । उहाँले जनता टेलिभिजनमा स्नेहा झाको मार्फत काम पाउनुभयो । त्यहाँ पनि उहाँले भोजपुरी भाषाको समाचार पढ्न थाल्नुभयो । उहाँको प्रस्तुती राम्रो भएको कारणले अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने मौका पाउनु भएको थियो ।
तर उहाँलाई नेपाली भाषाको समस्या थियो । उहाँ जहिले पनि भोजपुरी भाषाको पत्रकारिता गर्नुभएको कारण नेपालीमा उहाँलाई केही समस्या भइरहेको थियो तर उहाँका श्रीमती फतिमाले नेपाली भाषा बनाउनमा निकै सहयोग गर्नुभएको थियो । फतिमा गोरखाका मुस्लिम हुनुहुन्थ्यो । उहाँको नेपाली भाषा राम्रो थियो ।

अफरोजले नेपाली भाषा राम्रो बनाएपछि जनता टीभीमा नेपाली टक शो पनि चलाउन थाल्नुभयो । अहिले उहाँले सो टेलिभिजनमा भोजपुरी र नेपाली भाषाको दुईटा टक शो चलाउनुको साथै जिल्लाको समाचार संयोजन पनि गर्नुहुन्छ । जनता टेलिभिजनमा भाषाको समस्या हुँदा पनि उहाँलाई त्यहाँ अप्ठ्यारो भएन । अरु सिनियर सरहरुले उहाँलाई हौसला नै दिनुहुन्थ्यो । सिक्नका लागि उत्साहित बनाउनु हुन्थ्यो र आज त्यही अफरोज पत्रकारिताको क्षेत्रमा आफ्नो सपना पूरा गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, यो पत्रकारिताबाट म निकै सन्तुष्ट छु, लाग्छ कि म समाजका लागि केही गरिरहेको छु, आफ्नो मातृभूमी र मातृभाषालाई सेवा गरिरहेको छु ।’
पत्रकारितामा कमाई छैन तर त्यसमा आफ्नै खालको सन्तुष्टि छ, उहाँले भन्नुभयो, अरु जागिरतिर भएको भए राम्रो कमाई गर्न सक्थे, गाडी चढ्थे, घर बनाउँथे अर्कै शानशौकत हुन्थ्यो तर यसमा जुन सन्तुष्टि छ त्यो अरु कुनै काममा छैन, मेरा आमाबुवा पनि खुशी हुनुहुन्छ ।’ अफरोजको पारिवारीक अवस्था राम्रै छ्र । उहाँका परिवार अफरोजमा आश्रित छैन । बुवा र दुई भाइ सरकारी जागिरमा हुनुहुन्छ । दुईटै वहिनीको विहे भइसकेका छन् । श्रीमती फतिमा पढ्नका लागि अहिले बेलायतमा हुनुहुन्छ । उहाँका परिवार अफरोजमाथि आश्रित छैनन् ।
परिचय
नामः अफरोज मन्सुर
बुवाः इसु मियाँ
आमाः सल्या खातुन
वहिनीः सजिना खातुन र रविना खातुन
भाइः मोहम्मद परवेज आलम र मोहम्मद तवरेज आलम
श्रीमतीः फातिमा बानु
शिक्षाः एमए
उमेरः ३० वर्ष
ठेगानाः बारा, कलैया उपमहानगरपालिका–६ पर्साटोल


तपाईको प्रतिक्रिया