Khadya Bibhag

मधेशले पायो मधेशीको पहिचान

तराई मूलका हिन्दुधर्माबलम्बी विभिन्न जात होउन् वा मुसलमान, झापामा बसोवास गरेका राजवंशी, सन्थाल होउन् वा सुदूरपश्चिम कञ्चनपुरका थारु, मैथली मातृभाषी होउन् वा अवधि भाषी, यी सबै समुदायको साझा दृष्टिकोण एउटै हो त्यो हो ‘मधेश’ ।

 

–सुरेशकुमार यादव
माघ ३ गते तराई मधेशका लागि एउटा विशेष दिन हो । त्यो दिन प्रदेश २ अर्थात मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुले एउटा इतिहास रच्नुभयो । त्यो ऐतिहासिक दिन मामुली दिन होइन । दशकौंदेखि त्यसका लागि राज्यसँग लडाई भइरहेको थियो । बेदानन्दन झा, दुर्गानन्द झा, रामराजपा प्रसाद सिंह, गजेन्द्रनारायण सिंह, बाबा रामजनम तिवारीलगायत यसका लागि संघर्ष सुरु गर्नुभएको थियो । र, आज उपेन्द्र यादव, महन्थ ठाकुरको पालामा आएर त्यसले सार्थतका पायो । बल्ल मधेशीले आफ्नो पहिचान पायो । मधेशी पहिचानका लागि राज्यसँग संघर्ष गरि रहँदा राज्यले उल्टै दमन गथ्र्यो तर पहिचान दिन तयार भइरहेको थिएन । राणाकालदेखि गणतन्त्रसम्म मधेशी पहिचानका लागि संघर्ष भएको हो । अहिले गणतन्त्रमा आएर मात्र मधेशीले आफ्नो पहिचान पाएको छ । त्यसले माघ ३ गतेलाई ऐतिहासिक दिनको रुपमा लिन सकिन्छ ।

के आठवटा जिल्ला मात्र मधेश हो त भनि प्रश्न पनि उठेको छ । त्यसमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । वास्तवमा आठवटा (मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) जिल्ला मात्र मधेश होइन । मधेश विद्रोहले एक मधेश, एक स्वायत्त प्रदेशको माग गरेको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तल्लो भूभागलाई एउटा मधेश बनाउनुपर्छ भनि माग गरिएको थियो । राज्यसत्ता षड्यन्त्रका कारण ती भूभाग पाँच टुक्रामा विभाजित भए । त्यसमध्ये प्रदेश २ लाई मात्र मधेश प्रदेशका पहिचान प्राप्त भयो । मधेश केन्द्रीत दलले अझै एक मधेश, एक स्वायत्त प्रदेशका लागि संघर्षरत छन् । तर संघर्षका क्रममा प्राप्त उपलब्धीलाई आत्मसात गर्नु नै बुद्धिमानी हुन्छ ।


यदि तराई मधेशका २२ वटै जिल्लालाई मधेश प्रदेश घोषणा गर्नुपर्छ भनि माग राख्दै आन्दोलन गरिरह्यो भने ‘भुईको टिप्न खोज्दा गोजीको पनि झर्न सक्छ’ जस्तो हुनेछ । विगतमा यस्तो भएको हो । एक मधेश, एक स्वायत्त प्रदेशका लागि आन्दोलन भइरहँदा पहिलो संविधानसभाले तराई मधेशमा दुईटा प्रदेश दिन तयार भएको थियो । तर मधेश केन्द्रीत दलहरुले दुई प्रदेशमा मान्न तयार थिएनन् । २२ वटा जिल्लाको एउटै मधेश बनाउनुपर्ने मागमा अडिग रहे । अन्ततः त्यो दुईटा प्रदेश पनि भएन र पाँच टुक्रामा विभाजित भयो र मधेशीले आठ जिल्लाको एउटा प्रदेशमा चित्त बुझाउनु पर्यो । यद्यपी त्यसका लागि अझै संघर्ष जारी नै छ । अहिले पनि यी आठवटा जिल्लालाई मात्र मधेश प्रदेश मान्दैनौ भनि जिद्द गरेको भए यो पनि प्राप्त हुने अवस्था थिएन ।

मधेशीको पहिचान प्राप्तिका लागि जस्तो योगदान सप्तरीको छ, त्यस्तै योगदान झापाको पनि छ । आज मधेश प्रदेश प्राप्त भएको छ, त्यसका लागि धनुषा जिल्लाको जस्तो योगदान छ, त्यस्तै योगदान कैलाली र कञ्चनपुरको पनि छ । यसमा कुनै दुई मत छैन । मधेशीको अधिकार र पहिचानका लागि तराई मधेशका हरेक जिल्लाले सहादत दिएका छन्, त्यसमा कसैको अलि बढी होला, कसैको केही कम होला तर योगदानमा बराबरको हिस्सा छ । योगदानका आधारमा ती जिल्लाहरुले पनि पहिचान र अधिकार पाउनुपर्ने हो । यदि मधेश केन्द्रीत दलका नेताहरुले बेइमानी गरेनन् भने एक दिन अवश्य त्यो प्राप्त हुन्छ । तर मधेश केन्द्रीत नेताहरुको नियत नै ठिक छैन । मधेश केन्द्रीत नेताहरु आठ जिल्लाका मधेश प्रदेशमा मात्र केन्द्रीत भएका छन् । त्यो भन्दा बाहिर जान सकेका छैनन् त्यही भएर अहिले विभिन्न टिकाटिप्पणी र आलोचनाहरु भइरहेका छन् । आठ जिल्लाबाहेकका जिल्लामा रहेका मधेशी जनताले मधेशी नेतामाथि नै शंका गरिरहेका छन् । यस अवस्थामा मधेशी नेताहरु जिल्ला जिल्ला गएर ती नेताहरुलाई आडभरोसा दिनुपथ्र्यो तर अझै उहाँहरु आठवटा जिल्लाभन्दा बाहिर जानसक्नु भएको छैन ।

यदि तराई मधेशका २२ वटै जिल्लालाई मधेश प्रदेश घोषणा गर्नुपर्छ भनि माग राख्दै आन्दोलन गरिरह्यो भने ‘भुईको टिप्न खोज्दा गोजीको पनि झर्न सक्छ’ जस्तो हुनेछ । विगतमा यस्तो भएको हो ।

मधेश र पहिचान
मधेश प्रदेश नामाकरण भएपछि कसैले मधेश प्रदेश नाम राख्नुको मनसाय के हो भनि आशंकायुक्त टिप्पणी गरेका छन् भने कसैले ‘मधेश’ शब्दले समग्र प्रदेशको पहिचान दिन नसकेको बरु मिथिला प्रदेश, भोजपुरा, जानकी, मध्यप्रदेश हुँदा राम्रो हुन्थ्यो भनि धारण राखेका छन् । सबै प्रदेशको नामाकारण उसको सभ्यता, सँस्कृति, भाषाको आधारमा गरेको छ तर प्रदेश २ नै यस्तो प्रदेश भयो जसको नामाकारण भुगोलको आधारमा भएको हो भनि टिप्पणी हुने गरेका छन् । मधेश शब्दले समग्र मधेशको पहिचान दिएको छ भने मिथिला वा भोजपुरा, वा अबध वा जानकीले समग्र मधेशको पहिचान दिन सक्दैन्थे ।

मिथिला नाम दिँदा भोजपुराबालाहरुले त्यसलाई स्विकार नगर्न सक्थे । भोजपुरा दिँदा मिथिलाबालाले त्यसलाई स्विकार नगर्न सक्थे । जानकी नाम दिँदा मुस्लिमले त्यसको विरोध गर्न सक्थे भने अबध दिँदा जानकीबालाले त्यसको विरोध गर्थे तर मधेश नामले मिथिला, भोजपुरा, अवध, जानकी सबै समेटिएका छन् । सबैको प्रतिनिधित्व मधेशले नै गरेको छ । यसमा कसैले गुनासो गर्ने ठाउँ छैन किनभने विगतमा मधेश आन्दोलन हुँदा मधेश सरकारका लागि आन्दोलन भएको थियो । सैयौं मधेशी युवाले मधेशका लागि आफ्नो रगत बगाएका थिए । मधेश आन्दोलनमा कहिले पनि भोजपुरा, मिथिला, जानकीलगायतका प्रदेशका लागि अवाज उठेको थिएन ।

तराई भन्ने शब्द पञ्चायती उत्पादन हो । त्यसअघि भित्री मधेश, मधेश बन्दोबस्त अड्डा भनेर राणाकाल र त्योभन्दा अगाडि पनि भनिन्थ्यो । अंग्रेजहरू तरियानी भन्थे, हाम्रा शासकहरू मधेश नै भन्थे । काठमाडौंबाट मधेश झर्थे, तराई झर्दैनथे ।

मधेश आन्दोलनभन्दा बाहिर विभिन्न संघ संस्थाले मिथिला, भोजपुरा, जानकी प्रदेशका लागि समूह समूहमा आन्दोलन गरेका थिए । तर मधेश प्रदेशका लागि सिगैं मधेशका जनताले आन्दोलन गरेको थियो । त्यही आन्दोलनको माग अनुसार मधेशी जनताले मधेश प्रदेश पाएको हो । यसमा मिथिलाबाला, भोजपुराबाला, जानकीबालाहरुले चित्त दुखाउने कुरा छैन । मधेश प्रदेशमा मिथिला, भोजपुरा, अबध, जानकीको पनि त्यतिकै सम्मान हुनुपर्छ ।

मधेशी आयोगका अनुसार तराई–मधेश क्षेत्रमा देशको झन्डै दुईतिहाइ जनसँख्या रहेको र त्यसमध्ये ३६ प्रतिशत मधेशी रहेका छन् । मूल रूपमा मधेश प्रदेशमा मधेशी समुदायको बाहुल्य रहेको भए पनि सातै प्रदेशमा मधेशी समुदायको बसोबास रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । तर मधेशी को हुन् उसको पहिचान के हो भनि आयोगले छुट्याउन सकेको छैन । त्यसका लागि विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल गरेपनि मधेश के हो, मधेशी को हुन् भनि अझै स्पष्ट भएको छैन । मधेशी समुदायको पहिचानका लागि सम्बन्धमा विस्तृत अध्ययन र अनुसन्धान गरि थर सूचीकृत गर्न सरकारलाई बुझाउन आयोगले प्रतिवेदन तयार गरेको छ । सो प्रतिवेदनमा १५३ वटा जात र सो जातजातिभित्र विभिन्न थरहरु समावेश छन् ।

मधेशका बारेमा विस्तृत अध्ययन गर्न गठन भएको आयोगले पनि मधेश के हो, उसको पहिचान के हो भनि स्पष्ट छै भने मधेश शब्द विवादित हुनु स्वभाविक हो । मधेश शब्द संस्कृत भाषाको मध्यदेशको संक्षिप्त रूप हो । जसको अर्थ ‘बीचको भाग’ हुन्छ  । डा.बीएन तिवारी र महेन्द्र चतुर्वेदीको हिन्दी–अंगे्रजी शब्दकोषले मध्यदेश भन्नाले ‘विन्ध्याञ्चल, कुरुक्षेत्र र आहालादबीचमा पर्ने मध्य क्षेत्रको प्राचीन नाम’ भनेको छ । नेपाली संक्षिप्त शब्दकोषमा ‘हिमालदेखि दक्षिण, विन्ध्याञ्चल पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश’ भनिएको छ । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार अम्बालादेखि प्रयागसम्मको समतल मैदानी भूभाग मधेश हो ।

‘प्राग ऐतिहासिक, ऐतिहासिक, वैदिक कालखण्डहरुमा समेत रहेको विदेह, विराट, सलहेस, सिम्रौनगढ, शाक्य लगायतका गणराज्यहरुका बासिन्दाहरु कालान्तरमा मधेशी भनेर एउटा विशेष पहिचान र राष्ट्रियताको रुपमा एकतावद्ध भइरहेको समुदाय हो ।’ पहिलो संविधानसभाले गठन गरेको राज्यको पुर्नसंरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनमा पनि यो कुरा उल्लेख छ ।

मधेश प्रदेशको विपक्षमा काँग्रेस पनि थियो तर प्रदेशको नामाकरण भइसकेपछि सो दलका नेताहरुले पनि बधाई तथा शुभकामना दिएका छन् तर एमाले बधाई तथा शुभकामना दिनुको सट्टा मधेश र मधेशीको स्वाभिमान तथा राष्ट्रियतामाथि शंक गर्दै टिप्पणी गरिरहेका छन् ।

राजनीतिक विश्लेषक सिके लालका अनुसार तराई भन्ने शब्द पञ्चायती उत्पादन हो । त्यसअघि भित्री मधेश, मधेश बन्दोबस्त अड्डा भनेर राणाकाल र त्योभन्दा अगाडि पनि भनिन्थ्यो । अंग्रेजहरू तरियानी भन्थे, हाम्रा शासकहरू मधेश नै भन्थे । काठमाडौंबाट मधेश झर्थे, तराई झर्दैनथे । पञ्चायतकालमा बल्ल तराई झर्न थालेका हुन् । त्यसैले हाम्रो पुरानो शब्दावली मधेश नै हो । अर्कोतर्फ आन्दोलनले पनि निर्माण गरेको शब्द हो– मधेश । आन्दोलनले स्थापित गरेको शब्दलाई त्यसै छोड्नु भएन । केही मानिसमा ‘तराई’ शब्दप्रति लगाव भएकोले ‘तराई–मधेश’ लेख्न थालेका हुन् । त्यो जरुरी छैन । मधेश त तराईमै छ, हिमालमा वा पहाडमा छैन । मधेस भन्नासाथ नेपालको तराई नै बुझिन्छ ।

मधेश एक बहुजातीय, बहुभाषिक र बहुधार्मिक स्थल भएपनि यसको एउटा साझा सांस्कृतिक पहिचान छ, जसको बनोट साझा मनोविज्ञानबाट बनेको छ । तराई मूलका हिन्दुधर्माबलम्बी विभिन्न जात होउन् वा मुसलमान, झापामा बसोवास गरेका राजवंशी, सन्थाल होउन् वा सुदूरपश्चिम कञ्चनपुरका थारु, मैथली मातृभाषी होउन् वा अवधि भाषी, यी सबै समुदायको साझा दृष्टिकोण एउटै हो त्यो हो ‘मधेश’ ।

विशाल मधेशलाई आठवटा जिल्लामा संकुचन गरिएको हो तर मधेशको पहिचान मेटिएको छैन, प्रदेशको नाम मधेश राख्नु ‘पोल्टिकल बाउण्ड्रि’ मात्र हो, यसमा विवाद गर्नुको कुनै आवश्यकता छैन । राज्यले मधेशलाई खुम्चाउने प्रयास गरेपनि मधेशीले पहिचान प्राप्त गरेको छ । मधेश नेपालभित्र छ भनि प्रमाण्ति भएको छ । मधेशीलाई विहारी वा भारतीय भएर हेप्थ्यो अब त्यस्तो हुँदैन, नेपालमा मधेशी रहेको कुरा प्रमाणित भइसकेको छ । मधेशलाई संविधानिक रुपमा पनि स्विकार गरिसकेको छ, राज्यकै हरेक दस्तावेजमा मधेश पाइन्छ तर मिथिला, भोजपुरा, अवध, जानकी कहीं पाइदैन । त्यसैले मधेशले ठूलो पहिचान दिएको छ ।

पार्टीहरुमा मधेशी कोटा हुन्छन्, तर मिथिला वा भोजपुरा कोटा हुँदैन । सरकारले कुनै विज्ञापन गर्दा त्यसमा मधेश अरक्षणको व्यवस्था हुन्छ, त्यहाँ मिथिला वा भोजपुरा हुँदैन । सिडियो कार्यालयमा पनि मधेशी भनेर प्रमाणित गर्छ त्यहाँ मिथिला, भोजपुरा जानकी भनेर प्रमाणित गर्दैन । त्यसैले संवैधानिक रुपमा स्विकृत भइसकेको मधेशले आफ्नो पहिचान पाएको छ । त्यसमा गर्व गर्नुपर्ने हुन्छ ।
त्यति मात्र होइन मधेश आन्दोलन हुँदा तराई मधेशका प्रायः सरकारी कार्यालयको साइन बोर्डमा आन्दोलनकारीले मधेश सरकार लेखेका थिए । आन्दोलनकारीले कतैपनि मिथिला, भोजपुरा वा अवध सरकार लेखेको थिएनन् । आन्दोलनकारीले मधेशको पहिचान खोजिेका थिए । मधेशले आफ्नो पहिचान राज्यको निकायमा खोजिरहेको थियो त्यसको संकेत थियो त्यो । मधेश एक पहिचान हो जसका लागि वर्षौदेखि संघर्ष भइरहेको थियो, आज मात्र त्यो प्राप्त भएको छ । मिथिला प्रदेश होस् या जानकी प्रदेश होस् तराई मधेशमा बस्ने हरेकलाई पहिचान दिन सक्दैन्थ्यो तर मधेशले त्यसको पहिचान दिएको छ ।

विखण्डनको त्रास
प्रदेश २ लाई मधेश प्रदेश बनाएपछि कतिपयले विखण्डनका गन्ध त्यहाँ पाएका छन् । मधेश प्रदेश बनाउने मनासाय गलत हो भनि रहेका छन् । माओवादीले भारतमा बसेर नेपाल सरकारसँग गरेको १२ बुँदे सम्झौतालाई जोडेर पनि कतिपयले विश्लेषण गरिरहेका छन् । कतिपयले त यतिसम्म भन्न भ्याए कि भारतको इसार तथा योजनामा प्रदेश २ लाई मधेश प्रदेश बनाइएको हो । यो मधेश प्रदेश भारतको एउटा राज्य जस्तै हुन्छ र आवश्यक पर्यो भने देशबाट अलगै हुने नियत रहेको पनि टिप्पणीहरु भइरहेका छन् । र, यस्तो टिप्पणी गर्नेमा सबभन्दा बढी केपी ओली नेतृत्वको एमालेका नेताहरुलाई रहेका छन् । मधेश प्रदेश बनाइएकोमा एमालेका कुनै पनि नेता खुश देखिएको छैनन् । मधेश प्रदेशको विपक्षमा काँग्रेस पनि थियो तर प्रदेशको नामाकरण भइसकेपछि सो दलका नेताहरुले पनि बधाई तथा शुभकामना दिएका छन् तर एमाले बधाई तथा शुभकामना दिनुको सट्टा मधेश र मधेशीको स्वाभिमान तथा राष्ट्रियतामाथि शंक गर्दै टिप्पणी गरिरहेका छन् ।

मधेश कहिले विभाजन हुँदैन । बरु मधेशी जनता तथा नेताले नेपाललाई विभाजन हुनबाट बचाएका छन् । यदि नेपालबाट मधेश अलग गर्ने इच्छा वा चाहना भएको भए जयकृष्ण गोइतदेखि विभिन्न सशस्त्र समूहले नेपालबाट मधेशलाई अलग गर्न सशस्त्र आन्दोलन चलाएका थिए । सिके राउतले नेपालबाट मधेशलाई अलग गर्न लामो समयसम्म आन्दोलन गर्नुभयो तर कसैले सक्नुभएन ।

ती आन्दोलनलाई मधेशी जनताले कहिले साथ दिएन । यदि साथ दिएको भए आज मधेश एउटा छुट्टै देश हुन्थ्यो तर मधेशी जनताले नचाहेर आज नेपाल सग्लो रहेको छ । तैपनि एमाले पार्टीलागयत विभिन्न दलका नेताहरुले मधेशीमाथि अनावश्यक शंका गरिरहेका छन् ।

असली सीमा रक्षक मधेशी हुन् । नेपाल–भारत सीमामा केही गडबड भयो भने नेपाली सुरक्षाकर्मीभन्दा बढी त्यहाँका मधेशीहरुले अवाज उठाई रहेका हुन्छन् । त्यहाँका सुरक्षाकर्मीसँग लडिरहेका हुन्छन् । तर अहिले मधेशीमाथि औला उठाउने काम भइरहेको छ । मधेशी जनताले एउटा मधेश प्रदेश के प्राप्त गरेको छ । त्यसले नेपालका धेरै राष्ट्रवादीको निन्द हराम गरेको छ । मधेश त्यहाँको जनताको मान हो, सम्मान हो, स्वभिमान र पहिचान हो । त्यसलाई प्राप्त गर्न सैयौं मधेशी युवाले बलिदानी दिए भने त्यसलाई बचाउनका लागि त्यो भन्दा बढीले बलिदान दिन तयार छन् ।

(लेखक सुरेशकुमार यादव गोरखापत्रका सहसम्पादक हुनुहुन्छ)

तपाईको प्रतिक्रिया