Khadya Bibhag

महिलाको नाममा राजनीति बन्द गर

–ममता शर्मा
राजनीतिमा शब्द बोल्न सजिलो हुन्छ, व्यवहारमा उतार्न साहस, इमान र प्रतिबद्धता चाहिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना कालदेखि नै आफूलाई वैकल्पिक शक्ति, विधिसम्मत राजनीति गर्ने दल र महिलाको समान प्रतिनिधित्वको पक्षपाती भन्दै आएको छ । ३३ प्रतिशित मात्र होइन, ५० प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरा पार्टीका मञ्च, दस्तावेज र सार्वजनिक भाषणहरूमा पटक–पटक दोहोरिइयो । तर २०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरिएको प्रत्यक्ष उम्मेदवार सूचीले ती सबै घोषणालाई कठोर प्रश्नको घेरामा उभ्याइदिएको छ ।

१६५ वटा प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये जम्मा १६ जना महिला उम्मेदवार, के यही हो ३३ प्रतिशत ? गणित स्पष्ट छ, १६ जना भनेको करिब ९.६ प्रतिशत मात्र हो । न ३३ प्रतिशत पुग्छ, न ५० प्रतिशत । यसले एउटा गम्भीर प्रश्न जन्माउँछ महिला उम्मेदवार थिएनन्, कि महिलालाई योग्य नै ठानिएन ?

नेपालको जनसंख्यागत संरचना हेर्दा महिला संख्या पुरुषभन्दा बढी छ । केन्द्रीय तथ्याङ्क अनुसार महिला जनसंख्या करिब ५१ प्रतिशत छ । आजको यथार्थ झन् फरक छ । हरेक घरबाट एक वा दुई पुरुष रोजगारीका लागि विदेश छन्, कति त पूरा परिवार नै देश बाहिर बसिरहेका छन् । यस्तो अवस्थामा देशभित्र राजनीतिक, सामाजिक र आर्थिक जिम्मेवारी सम्हालेर बसेका को हुन् ? महिलाहरू । तर मतदानका बेला महिला मतदाताको भरोसा चाहिने, नेतृत्वको बेला भने महिलालाई पाखा लगाइने ? यो कस्तो न्याय हो ?

नेपालको संविधान, २०७२ ले महिलाको अधिकार स्पष्ट रूपमा सुनिश्चित गरेको छ । धारा ३८ ले महिलालाई राज्यका सबै निकायमा सहभागिताको हक दिएको छ । धारा ४२ ले सामाजिक न्यायको अधिकार सुनिश्चित गर्दै महिलालाई समावेशी प्रतिनिधित्वको संवैधानिक ग्यारेन्टी दिएको छ । समावेशिता भनेको केवल समानुपातिक सूचीमा नाम हाल्नु मात्र होइन, प्रत्यक्ष निर्णय गर्ने स्थानमा महिलालाई अगाडि ल्याउनु हो ।

अझ सकारात्मक पक्ष के हो भने समानुपातिक सुचि तयार गर्दा अस्ति भखरै हामीले अभ्यास गरेको समानुपातिक तर्फको आन्तरिक उम्मेदवार छनोट बिधिमा त अनलाईन भोट हाल्ने बेलामा ३३ प्रतिशत महिला सेलेक्ट नगरुन्जेल भोट नै नगर्ने बनाइएको थियो कति खुसी लागेको थियो तर प्रत्यक्षतर्फ किन ३३ प्रतिशत महिला उठाउन सकिएन ? पुराना दलहरूले दशकौँदेखि महिलालाई केवल मतदाता र ‘सजावटी प्रतिनिधि’ को रूपमा प्रयोग गर्दै आएका थिए । त्यही प्रवृत्तिबाट आजित भएर नै जनताले वैकल्पिक शक्तिको खोजी गरेका थिए । रास्वपा त्यसै आशाको केन्द्र बनेर उदाएको दल होइन र ? यदि व्यवहार पनि उस्तै भयो भने हामी र अन्य दलबिच फरक के रह्यो ?

सधैँ महिलालाई उप–मेयर, उप–राष्ट्रपति, वार्ड सदस्य जस्ता ‘उप’ पदमा दिएर चुप गराउने राख्ने परम्परा नयाँ दलमा पनि दोहोरियो । नेतृत्वमा महिला आउनु भनेको ‘जोखिम’ ठान्ने पितृसत्तात्मक मानसिकता परिवर्तन भयो त ? कि केवल पार्टीको नाम र लोगो फेरियो, सोच फेरिएन ? अझ गम्भीर प्रश्नहरू छन् । पूर्व सांसद बिन्दाबासिनी कंसकार जस्ती अनुभवी, संघर्षबाट आएकी संसदमा भूमिका निर्वाह गरिसकेकी महिलाले किन प्रत्यक्ष टिकट पाइनन् ? लक्ष्मी तिवारी जस्ती सक्षम, संगठनमा सक्रिय महिला नेतृ किन पाखा लगाइइन्छ ? थुप्रै महिलाहरूले आँट गरेर प्रत्यक्ष निर्वाचनमा लड्न चाहँदा पनि किन ढोका बन्द गरियो ? यदि वैकल्पिक दलले पनि योग्य महिलालाई अवसर दिन सक्दैन भने त्यो विकल्प कसरी रहन्छ ?

म मधेसी नारी हुँ । मधेसमा मात्रै करिब १५–१७ लाख महिला मतदाता छन् । मधेसको राजनीतिक समीकरणमा महिलाको मत निर्णायक छ । तर महिलाको भोट चल्ने, अधिकार भने खोसिने ? महिलालाई मतदाता मात्र बनाउने, निर्णयकर्ता होइन ? यो केवल राजनीतिक अन्याय होइन, संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो । मधेसमा ३२ वटा प्रत्यक्ष निर्वाचन क्षेत्र छन् । जसमा कति वटा मधेसी अनुहार महिला उठाइयो ? एक जना महोत्तरी–४ बाट त्यो पनि पुरानै दलबाट आयातित ५० वर्ष माथिको । देश हाक्नलाई युवा चाहिन्छ कि बुढापाखा ? फ्रेस ताजा नयाँ अनुहार भनेको होइन, युवा र परिवर्तनको संवाहकलाई खोजेको हो जनता । अनि पुरानैलाई नयाँ लुगा लगाइ दिदैमा नयाँ हुँदैन ।
महिला अधिकार कुनै दान होइन, यो संविधानद्वारा सुनिश्चित गरिएको हक हो । मञ्चमा उभिएर महिला सशक्तीकरणको कुरा गर्ने, तर टिकट वितरणमा पुरानै सोच लागू गर्ने हो भने, त्यो राजनीति होइन, दोहोरिएको छ र पुरानै अभ्यास अङ्गाल्नु हो । विधि, नियम र कानुनको कुरा गर्ने दलले आफ्नै अभ्यासमा किन विधिबाट बन्चित हुनुप¥यो ?

देशले परिवर्तन खोजेको बेलामा म प्रश्न सोध्छु, उत्तर खोज्नेछु । किनकि लोकतन्त्रमा प्रश्न गर्नु अपराध होइन, अधिकार हो । यदि वैकल्पिक शक्ति साँच्चै वैकल्पिक हुन चाहन्छ भने पहिला आफ्नै घोषणालाई व्यवहारमा उतार्न सक्नुपर्छ । होइन भने जनताले सोध्नेछन्, बोलेका शब्दहरू कहाँ गए ?

तपाईको प्रतिक्रिया