आफ्नै नेतामाथि यो खालको टिप्पणी !

माघ ५ गते बलिदानी दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघले रौतहटमा कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमको प्रमुख अतिथी हुनुहुन्थ्यो जसपाका कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव । माघ ५ गते मन्त्री यादव रौतहट आउँदै हुनुहुन्छ भनि थाह पाएर सिके राउत नेतृत्वको जनमत पार्टीले त्यसको विरोध गर्ने र मन्त्रीको कार्यक्रमलाई अवरोध गर्ने भनि एक साता अगाडिदेखि नै प्रचार प्रचार गरिरहेको थियो । जिल्लामा मन्त्री आउनु भयो भने जनकारवाही गर्नेसम्मको प्रचार गरिएको थियो ।

त्यसको तयारी र प्रचार प्रसार हेर्दा रौतहटका जिल्ला प्रशासन कार्यालयले मन्त्री यादवलाई कार्यक्रममा नआउन आग्रह गरेका थियो । तर उहाँले कार्यक्रम तय भइसकेका हुनाले जसरी पनि कार्यक्रममा सहभागी हुने बरु सुरक्षा अवस्था कसरी मजवुत बनाउन सकिन्छ बनाउनस् भनि आग्रह गर्नुभएको थियो । मन्त्री आउने भएपछि विहानैदेखि जनमत पार्टीका नेता तथा कार्यकर्ताले रौतहटमा प्रदर्शन गरिरहेका थिए । बाँसको चिरामा कालो कपडा पनि झुण्डाएर प्रदर्शन गरिरहेका थिए । उत्तेजित हुने खालको नारावाजी भइरहेको थियो । मन्त्री यादव रौतहट पुगेपछि उहाँलाई रोक्ने निकै प्रयास भयो । झडप हुने स्थिति देखेपछि मन्त्री यादवले बाटो परिवर्तन गरेर कार्यक्रममा जानुभयो । जनमत पार्टीका कार्यकर्ताले तैपनि प्रदर्शन गर्न छाडेका थिएन ।

कार्यक्रम स्थलसम्म पनि पुगेका थिए । जसपाका एक नेताले भन्नुभयो, ‘रौतहटमा जसपा कमजोर छैन । पक्कै पनि जनमत पार्टीभन्दा बलियो छ । यदि मन्त्री यादवले जनमत पार्टीका कार्यकर्तासँग मुठमेड हुन दिएको भए के हुन्थ्यो । त्यहाँ त्यही अवस्था सृजना हुन्थ्यो जुन २०६४ चैतमा भएको थियो ।’ मन्त्री यादवले एकपटक आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई इशारा गरि दिनु भएको भए त्यहाँ पुरानो गौर घटना दोहोरिन्थ्यो । मन्त्री यादवले त्यही कुरा सम्झेर संयमता अपनाएर बाटो परिवर्तन गरेर कार्यक्रममा सहभागी हुनुभयो ।

तैपनि कार्यक्रम स्थलको वरिपरी जनमतका कार्यकर्ता तथा नेतालाई देखेपछि उहाँले सिके राउतलाई गौर घटना सम्झाउनु भएको थियो ।
जनमत पार्टीका नेताहरुले जुन अवस्था सृजना गरेका थिए । त्यसैको उपज मन्त्री यादवले आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको हो । उहाँले गौर घटना हुन्छ भन्ने कुरा भन्नु भएको होइन । सिके राउतलाई घेरा हालेर मारिन्छ पनि भन्नु भएको छैन ।

उहाँले सचेत गराउने उद्देश्यले पटक पटक गौर घटना सम्झाउनु भएको थियो । मन्त्री यादवले भन्नुभयो, ‘मैले कुन सन्दर्भमा किन त्यो कुरा बोलेको हुँ कार्यक्रमको पुरै भिडियो हेरेपछि सबै थाह हुन्छ तर सिके राउतले इडिट गरि राख्नु भएको भिडियो हेरेर सबैले धारणा बनाइ रहनुभएको छ । त्यसले सबैमा भ्रम सृजना गरेको छ ।’ जनमत पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो हत्या गर्ने योजना बनाएका थिए, त्यो सफल हुन नदिएपछि आफूमाथि त्यस्ता आरोपहरु लगाउने गरेको मन्त्री यादवको दावी छ । त्यहाँको अभिव्यक्तिलाई लिएर मन्त्री यादवले राजिनामा दिनुपर्छ भनि कुरा उठेको छ । तर मन्त्री यादवको बारेमा जसपाको केन्द्रीय कार्यालय र जसपा मधेश प्रदेश समितिले विज्ञप्ति जारी गरेर स्पष्ट पारिसकेका छन् । तैपनि विभिन्न पक्षबाट राजिनामाको कुरा उठि रहेको छ ।

यता, पार्टीबाट पनि मन्त्री यादवप्रति दुईखालको धारणा आइरहेका छन् । एकपक्ष मन्त्री यादवको बचाउमा लागेका छन् भने अर्को पक्ष राजिनामा दिनुपर्ने अवाज उठाई रहनु भएको छ । त्यसमा सबभन्दा अग्रपंक्तिमा पार्टीकै तर्फबाट कार्यकारिणी सदस्य एवं सांसद इस्तियाक राइ देखिएका छन् । उहाँले त गौर घटना (२०६४) हुँदा खेरी रेणु यादव मधेशी जनअधिकार फोरममा हुनुहुन्थेन अनि कसरी त्यसको बारेमा बोल्नुभयो भनि प्रश्न गर्नुभयो । उहाँले विषयवस्तु थाहै छैन, उहाँ त्यतिबेला पार्टीमा हुनुहुन्थेन अनि अहिले आएर गौर घटना यसरी भएको थियो त्यसरी भएको थियो, पुनः त्यस्तो घटना दोहोरिन सक्छ भन्नु गलत भएको नेता राइले बताउनुभयो । मन्त्री यादवले तत्कालै राजिनामा दिइ हाल्नुपर्ने समेत भन्नुभएको छ ।

मन्त्री यादव पक्षका एक नेताका अनुसार नेता राइले त्यसरी भन्नुको एउटै कारण हो पूर्वाग्राही । उहाँ मन्त्री बन्न पाउनु भएन त्यही झोकमा यस्ता कुराहरु बोल्न थाल्नु भएको छ । मन्त्री यादव मन्त्रीबाट राजिनामा दिएपछि आफू मन्त्री बन्न पाइन्छ कि भनि सोच नेता राइमा हुनसक्छ नत्र उहाँ मन्त्री रेणु यादवको विरुद्धमा त्यसरी बोल्ने मान्छे हुनु हुन्न ।

केही पहिले रेणु यादवको अध्यक्षतामा पार्टी खोल्न तयारी गर्नु भएका इस्तियार राइको नजरमा फेरि कसरी गलत हुन सक्नुहुन्छ भनि प्रश्न उब्जिएको उहाँले बताउनुभयो । सबैले सबै घटनाको बारेमा थाह हुँदैन । घटनास्थलमा नभएपनि विभिन्न सञ्चारमाध्यम र मानिसको सम्पर्कमा गएर थाह पाइन्छ नै । गौर घटना हुँदा रेणु यादव फोरममा नहुँदा पनि त्यो घटनाबाट उहाँ बेखबर हुनुहुन्थेन । सबै कुराको जानकारी राख्नुभएको थियो । त्यही भएर उहाँले आक्रोशपूर्ण अभिव्यक्ति दिनुभएको हो । तर इस्तियाक राइले आफ्नै पार्टीका नेताको बारेमा त्यसरी अभिव्यक्ति दिनुहुँदैन्थ्यो भनि धेरैको टिप्पणी रहेको छ ।

तपाईको प्रतिक्रिया