प्रधानमन्त्री बालेनको भारत भ्रमणः विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना (दस्तावेज)

१.भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री महामहिम बालेन्द्र शाहले २२ देखि २३ नोभेम्बर २०२६ सम्म भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले नयाँ दिल्लीमा सौहार्दपूर्ण, सार्थक र भविष्योन्मुख वार्ता गर्नुभयो तथा द्विपक्षीय सम्बन्धको समग्र समीक्षा गर्नुभयो।

२. दुवै नेताहरूले भारत र नेपालबीचको सदियौँ पुरानो सभ्यतागत सम्बन्ध पारस्परिक सम्मान र लाभका सिद्धान्तहरूका अतिरिक्त गहिरो जनस्तरको सम्बन्धबाट शक्ति प्राप्त गर्दै एक बहुआयामिक साझेदारीका रूपमा विकसित भएको स्वीकार गर्नुभयो।

३. अगस्ट २०२६ मा रसुवा–त्रिशूली जलाधार क्षेत्र तथा अन्य स्थानमा आएको बाढी र लेदो बहावपछि भारतले तत्काल पुर्‍याएको मानवीय तथा खोज र उद्धार सहायताप्रति नेपालले आभार व्यक्त गर्‍यो। नेपालको पुनर्निर्माण प्रयासका लागि थप सहायता उपलब्ध गराउने विषयमा निरन्तर सम्पर्कमा रहनेमा नेताहरू सहमत हुनुभयो।

४. दुवै नेताहरूले द्विपक्षीय साझेदारीले समकालीन राजनीतिक, आर्थिक तथा प्राविधिक यथार्थलाई प्रतिविम्बित गर्नुपर्ने र यो अद्यावधिक तथा भविष्योन्मुख कानुनी ढाँचामा आधारित हुनुपर्नेमा सहमति जनाउनुभयो; जहाँ सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिनेछ। जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमा सम्बन्धी लगायत बाँकी रहेका सबै विषयहरू आपसी छलफल र संवादका माध्यमबाट समाधान गरिनेछ।

५. भारत–नेपाल सम्बन्धलाई दुवै देशका जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने आधुनिक तथा नतिजामुखी साझेदारीमा रूपान्तरण गर्न, दुई नेताहरूले भारत र नेपालका जनता, विशेष गरी युवाहरूको आकाङ्क्षामा केन्द्रित यस ‘संयुक्त दृष्टिकोण’ (Joint Vision) लाई अङ्गीकार गर्नुभएको छ; जसले देहायका १० स्तम्भहरूमा केन्द्रित रही द्विपक्षीय साझेदारीको भविष्यका लागि मार्गचित्र प्रदान गर्नेछ:

१. बृहत् आर्थिक तथा विकास साझेदारी 

भारतको ‘विकसित भारत २०४७’ को राष्ट्रिय दृष्टिकोण र नेपालको ‘समुन्नत नेपाल’ को राष्ट्रिय आकाङ्क्षाबीच धेरै पूरक पक्षहरू रहेका छन्, जसलाई दुई देशबीचको बृहत् आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन उपयोग गर्न सकिनेछ। यसअन्तर्गत निम्न कार्यहरू समावेश हुनेछन्:

i. अझ बृहत् आर्थिक साझेदारीलाई सहजीकरण गर्न दुई देशबीच व्यापार तथा लगानीका लागि विद्यमान नीतिगत ढाँचा/सम्झौताहरूको पुनरावलोकन गर्ने।

ii. सहज पहुँच विस्तार गर्न र कनेक्टिभिटीलाई सुदृढ तुल्याउन नयाँ पारवहन सञ्जाल र हवाई मार्गहरू खुला गर्ने।

iii. उत्पादन तथा अन्य प्रशोधन उद्योगका आपूर्ति शृङ्खलाहरूसँग सम्बन्ध स्थापित गर्नका लागि भारत-नेपाल सीमा नजिक निर्यातमुखी उत्पादनका लागि सीमापार विशेष आर्थिक क्षेत्र/पार्कहरू (SEZ) स्थापना गर्न सहकार्य गर्ने र सूचना प्रविधि पार्क (IT Parks) को विकासमा सहकार्य गर्ने।

iv. लगानीकर्ताको मनोबल बढाउने तथा व्यावसायिक सहजता (Ease of Doing Business) अभिवृद्धि गर्ने प्रबन्धमार्फत नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा भारतीय लगानीलाई प्रोत्साहित गर्ने।

v. भारतले नेपालमा विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरूका लागि ३,५०० करोड भारतीय रुपैयाँ (५,६०० करोड नेपाली रुपैयाँ) को अनुदान सहायता तथा ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि ११,५०० करोड भारतीय रुपैयाँ (१८,४०० करोड नेपाली रुपैयाँ) को भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) गरी कुल १५,००० करोड भारतीय रुपैयाँ (२४,००० करोड नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउनेछ। विशिष्ट परियोजनाहरू र विकास सहायता उपलब्ध गराउने कार्यविधि आपसी परामर्शमार्फत टुङ्गो लगाइनेछ।

२. भौतिक तथा डिजिटल कनेक्टिभिटी 

कनेक्टिभिटी आर्थिक सहकार्यलाई गहिरो बनाउन र जनस्तरको सम्बन्धलाई बलियो बनाउन एक प्रमुख आधार हो। यस क्षेत्रमा भएको उल्लेखनीय प्रगतिलाई स्वीकार गर्दै दुवै नेताहरूले अयोध्या (भारत) र जनकपुर (नेपाल) बीच सिधा एक्सप्रेस रेल सेवा तथा महाकाली नदीमा धारचुला (भारत) र दार्चुला (नेपाल) जोड्ने मोटरयोग्य पुलको शुभारम्भको स्वागत गर्नुभयो। उहाँहरू निम्न विषयमा थप सहमत हुनुभयो:

i. भैरहवा (नेपाल) र सुनौली (भारत) मा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसीपी) तथा बनवासा (भारत) र दोधारा-चाँदनी (नेपाल) मा नयाँ आइसीपीहरूको निर्माण कार्यलाई तीव्रता दिने।

ii. जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गको अन्तिम खण्डको काम यथाशीघ्र सम्पन्न गर्ने।

iii. रक्सौल–काठमाडौँ रेल लिङ्कको अन्तिम स्थलगत सर्वेक्षण (FLS) सम्पन्न भएकोमा स्वागत गर्दै बर्दिबास–निजगढ खण्ड र वीरगञ्ज–निजगढ लिङ्कलाई प्राथमिकता दिई भारत र नेपालबीच अन्तर-सञ्चालनयोग्य (interoperable) रेल सञ्जाल निर्माण गर्न नेपालमा पूर्व–पश्चिम रेलमार्गको विकासमा सहकार्य गर्न सहमत हुने।

iv. नयाँ मोटरयोग्य पुल तथा व्यापारिक नाकाहरूमार्फत भारत र नेपालबीच सडक सञ्जाललाई थप सुदृढ गर्ने।

v. सिलिगुढी (भारत) र झापा (नेपाल) जोड्ने नयाँ पाइपलाइन निर्माणलगायत सीमापार पेट्रोलियम आपूर्ति पूर्वाधारको विस्तार गर्ने, र भारत तथा नेपालबीच ग्यास पाइपलाइनको सम्भावना खोजी गर्ने।

vi. नेपालको राष्ट्रिय भुक्तानी प्रणालीसँग भारतको युपीआई (UPI) को आबद्धतालाई आधार बनाउँदै दुवै पक्ष सीमापार खुद्रा भुक्तानी प्रणालीलाई द्रुत रूपमा कार्यान्वयन गर्न सहमत हुने।

vii. ‘पीएम गति शक्ति’ जस्ता प्लेटफर्महरूमार्फत एकीकृत पूर्वाधार योजना र कनेक्टिभिटीमा सहकार्य गर्ने, जसलाई नेपालले आफ्नो भौगोलिक र विकास प्राथमिकता अनुसार अनुकूलन गर्ने विषयमा विचार गर्न सक्नेछ।

viii. भारत र नेपालबीचको अन्तर्राष्ट्रिय सीमालाई खुला, सुरक्षित र व्यवस्थित राख्ने तथा सीमापार अपराध एवं गैरकानुनी गतिविधिहरूविरुद्ध सहकार्यलाई बलियो बनाउने।

३. ऊर्जा, जलस्रोत र जलवायु उत्थानशीलता 

ऊर्जा, जलस्रोत र जलवायु उत्थानशीलताका क्षेत्रमा भारत र नेपालबीच सहकार्यलाई गहिरो बनाउने अपार सम्भावनालाई आत्मसात् गर्दै दुवै पक्ष संस्थागत सहकार्यलाई बलियो बनाउन, पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवर्द्धन गर्न र दिगो, उत्थानशील एवं समावेशी विकासतर्फ संयुक्त प्रयासहरू अघि बढाउन सहमत भए। यसका लागि:

i. ‘विद्युत् क्षेत्र सहकार्य सम्बन्धी भारत-नेपाल संयुक्त दृष्टिकोण पत्र’ अनुरूप भारतले नेपालको जलविद्युत् र प्रसारण पूर्वाधारमा थप लगानीलाई प्रोत्साहित गर्नेछ भने नेपालले त्यस्ता लगानीका लागि अनुकूल र पारस्परिक हितकारी ढाँचासहित आवश्यक सहयोग र सहजीकरण प्रदान गर्नेछ। सम्बद्ध निकायहरूले भारत र नेपालबीच विद्युत् व्यापार विस्तार गर्ने उद्देश्यका साथ पारस्परिक लाभ र बजार मागका आधारमा विद्युत् व्यापारलाई अझ अभिवृद्धि गर्ने सम्भावनाको खोजी गर्नेछन्।

ii. दुवै पक्षले पञ्चेश्वर तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाहरूलगायत निर्माणाधीन तथा परिकल्पना गरिएका जलविद्युत् र बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिनेछन्, जसबाट पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीका कारण हुने प्रतिकूल असरहरू न्यूनीकरण गर्न सकियोस्।

iii. दुवै पक्ष जनधन, जीविकोपार्जन र पूर्वाधारको सुरक्षाका लागि विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र विपद्पछिको पुनर्लाभमा सक्रिय साझेदारी गर्न सहमत भए।

iv. जल-मौसम सम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमतालहरूको अनुगमन तथा पूर्वसूचना प्रणालीलाई वास्तविक समयमै (real-time) दुईतर्फी रूपमा संस्थागत गर्न दुवै पक्ष सहमत भए। उहाँहरू संयुक्त मानवीय सहायता तथा विपद् राहत (HADR) अभ्यास, क्षमता अभिवृद्धि, तालिम र मानवीय सहायताका रूपमा दुवै देशका सम्बद्ध निकायहरूबीच सहकार्य अभिवृद्धि गर्न सहमत हुनुभयो।

v. उहाँहरू अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA), विपद् उत्थानशील पूर्वाधार गठबन्धन (CDRI), इसिमोड (ICIMOD) र अन्तर्राष्ट्रिय बिग क्याट गठबन्धन (IBCA) लगायतका बहुपक्षीय सङ्गठनहरूभित्र सहकार्य बढाउन सहमत हुनुभयो।

vi. दुवै पक्ष सौर्यदेखि भूगर्भीय (sub-surface) सम्मका अतिरिक्त ऊर्जा स्रोतहरूको विकासमा सहकार्य गर्न सहमत भए, जसमा नेपालमा हरित हाइड्रोजन (Green Hydrogen) सम्बन्धी एक पाइलट परियोजना समेत समावेश छ।

vii. भारतले नेपाली युवा पेशेवरहरू, अधिकारीहरू र विज्ञहरूलाई नीति निर्माण, नियमन, मापदण्ड, वन विज्ञान, जोखिम नक्साङ्कन, र जलवायु उत्थानशील कृषि जस्ता वातावरण सम्बन्धी क्षेत्रहरूमा तालिमका लागि सहजीकरण गर्नेछ।

viii. जलस्रोतको पुनर्जीवन र भूमिगत जल प्रदूषण नियन्त्रणमा भारतले आफ्नो विशेषज्ञता आदानप्रदान गर्नेछ।

४. सुशासन 

सुशासन सम्बन्धी नेपालका प्राथमिकताहरू र भारतले अपनाएको दृष्टिकोण, विशेष गरी डिजिटल प्रविधिको अवलम्बन र नागरिक–सरकार सम्बन्धलाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउने विषयमा ठूलो समानता रहेको छ। यसका लागि:

i. डिजिटल सार्वभौमसत्ता र तथ्याङ्क सुरक्षाका विश्वव्यापी मान्यता प्राप्त सिद्धान्तहरू बमोजिम ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यान्वयनलाई सक्षम बनाउन डिजिटल पहिचान, भुक्तानी र ई-गभर्नेन्समा डिजिटल सार्वजनिक पूर्वाधार (DPI) सम्बन्धी प्राविधिक विशेषज्ञता र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गरिनेछ।

ii. राष्ट्रिय सुशासन केन्द्र (NCGG) मार्फत भारतमा नेपाली निजामती कर्मचारीहरूको तालिमको व्यवस्था गरिनेछ।

iii. दुवै पक्षले राष्ट्रिय र प्रादेशिक तहका विधायिकाहरूबीच अनुभव र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन्।

iv. भ्रमण आदानप्रदान र भारतका सम्बन्धित निकायहरूमा तालिम कार्यक्रमहरूमार्फत स्थानीय शासनमा सहकार्यलाई सुदृढ गरिनेछ।

५. प्रविधि, अन्तरिक्ष र नवप्रवर्तन 

प्रविधिको व्यापक अवलम्बन र उपयोगलाई प्रोत्साहन गर्न, नेपालको प्रविधि हब बन्ने उद्देश्यअनुसार तथा यी क्षेत्रमा भारतको सामर्थ्यलाई दृष्टिगत गर्दै भारत–नेपाल साझेदारीले देहायका पहलहरू अघि बढाउनेछ:

i. भारतमा नेपाली स्टार्ट-अपहरूलाई तालिम र मेन्टरसिप प्रदान गर्ने, काठमाडौँमा स्टार्ट-अप सेन्टर अफ एक्सिलेन्स (Startup Centre of Excellence) र पोखरामा डिजिटल नोमाड्स एन्ड इनोभेसन हब (Digital Nomads and Innovation Hub) स्थापना गर्नेसहित ‘भारत-नेपाल स्टार्ट-अप साझेदारी नेटवर्क’ (IN-SPAN) को विस्तार गर्ने।

ii. निजी लगानीको सहजीकरणसमेत गरी नेपालमा डिजिटल पार्क र डेटा सेन्टरहरूको विकास गर्ने।

iii. ‘भाषिणी’ (Bhashini) सँगको सहकार्यलगायतका माध्यमबाट नेपाली भाषाका लागि ‘लार्ज ल्याङ्ग्वेज मोडल’ (LLM) को विकाससहित कृत्रिम बौद्धिकता (AI) मा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने।

iv. उपग्रह विकास, पृथ्वी अवलोकन, विपद् व्यवस्थापनका लागि रिमोट सेन्सिङ र क्षमता अभिवृद्धिका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) र सम्बन्धित नेपाली निकायहरूसँग इसरो (ISRO) र इन-स्पेस (IN-SPACe) बीच सहकार्यसहित अन्तरिक्षको क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउने।

v. 5G/6G र अन्य नयाँ पुस्ताका नेटवर्कहरू जस्ता उदीयमान दूरसञ्चार प्रविधिहरूमा सहकार्य अभिवृद्धि गर्ने।

६. शिक्षा र सीप विकास 

सीप विकास र क्षमता अभिवृद्धिको महत्त्वलाई स्वीकार गर्दै दुवै देशले तालिम, मानव संशाधन विकास, र प्राज्ञिक आदानप्रदानमा निम्न कार्यहरूमार्फत थप बलियो सहकार्य हासिल गर्न काम गर्नेछन्:

i. आईआईटी (IIT) बाट सुरु गरी नेपालमा प्रतिष्ठित भारतीय उच्च शिक्षण संस्थाहरूका शाखा/क्याम्पस खोल्ने सम्भावनाको खोजी गरिनेछ।

ii. अत्यन्त सफल रूपमा सञ्चालन भइरहेका विद्यमान छात्रवृत्ति योजनाहरूको आधारमा नेपाली विद्यार्थीहरूका लागि कानुन, प्रविधि र एआई (AI) जस्ता नयाँ विधाहरूमा छात्रवृत्ति र तालिमका अवसरहरू थप गरिनेछ।

iii. प्राज्ञिक तथा तालिम संस्थाहरूबीचको बलियो सहकार्यका अतिरिक्त प्राध्यापक तथा विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहित र संस्थागत गरिनेछ।

iv. उत्पादन, सेवा र उद्यमशीलताका लागि सान्दर्भिक क्षेत्रहरूमा नेपालका युवाहरूलाई सीप र तालिम प्रदान गर्न भारतीय सहयोगमा एक व्यावसायिक तालिम प्रतिष्ठान (Vocational Training Institute) स्थापना गरिनेछ।

७. खेलकुद 

खेलकुदको विकास र सम्बन्धित पूर्वाधार निर्माणमा नेपालले दिएको प्राथमिकतालाई सघाउन भारत र नेपाल निम्न प्रमुख पहलहरूमा सँगै काम गर्नेछन्:

i. राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकासमा सहयोग गर्नुका साथै भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण/तालिम प्रतिष्ठान स्थापना गर्न सहयोग गर्नेछ।

ii. नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीहरूलाई भारतका राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानहरूमा प्रशिक्षण लिने अवसर प्रदान गरिनेछ।

iii. नेपालमा आधुनिक बहु-खेलकुद केन्द्रहरूको विकासलगायत ब्याडमिन्टन, टेनिस, सुटिङ, र एथलेटिक्स जस्ता अन्य खेलहरूमा पनि यस्तै अवसरहरूको खोजी गरिनेछ।

iv. संयुक्त आरोहण/अभियानहरूमार्फत पर्वतीय खेलकुदमा सहकार्यको सम्भावना खोजी गरिनेछ।

v. दुवै देशका सम्बन्धित खेलकुद निकायहरूलाई क्रिकेट, फुटबललगायतका खेलहरूमा भारत र नेपालका खेलाडीहरूलाई एकअर्काको खेलकुद लिगमा सहभागी गराउने अवसर खोज्न प्रोत्साहित गर्ने।

८. संस्कृति र पर्यटन 

दुई देशबीचको सांस्कृतिक सम्बन्ध द्विपक्षीय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्तम्भहरूमध्ये एक रहिआएको छ। यस जीवन्त सम्बन्धलाई थप समृद्ध बनाउन:

i. भारत र नेपालले धार्मिक पर्यटन सर्किटहरू र नयाँ गन्तव्यहरूको विकासमा साझेदारी गर्नेछन्। यसमा जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर र काठमाडौँ (पशुपतिनाथ)–वाराणसीलाई जोडेर तथा भगिनी-सहर (Sister-City) सम्झौतामार्फत रामायण, बौद्ध र शिव–शक्ति सर्किटहरूको विकास समावेश हुनेछ।

ii. नेपाल र भारतमा आलोपालो गरी वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गर्न, र चलचित्र निर्माण, रङ्गबञ्च तथा ललितकलाका क्षेत्रमा कलाकारहरूका लागि तालिम र आदानप्रदान विस्तार गर्न दुवै पक्ष सहमत भए।

iii. लुम्बिनी बौद्ध विश्वविद्यालय (LBU) मा नालन्दा केन्द्र स्थापना गरी नालन्दा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीचको सहकार्यलाई सुदृढ गरिनेछ।

iv. पर्यटन र आतिथ्य क्षेत्रका युवा उद्यमीहरूबीच सहकार्यलाई सहज बनाउन र दुईतर्फी पर्यटन प्रवर्द्धनका लागि सामाजिक सञ्जालका इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूको अवलोकन भ्रमणलाई प्रोत्साहित गर्न उहाँहरू सहमत हुनुभयो।

९. स्वास्थ्य 

देशभर आधारभूत स्वास्थ्य सेवाको एकीकृत मोडलमा नेपाल सरकारले दिएको प्राथमिकता र स्वास्थ्यप्रतिको भारतीय दृष्टिकोणबीच ठूलो सामञ्जस्यता रहेको छ। यस क्षेत्रमा विद्यमान पूरकतालाई ध्यानमा राख्दै र थप बलियो सहकार्य विकास गर्न दुवै पक्षले:

i. नेपाल सरकारको आवश्यकता अनुसार स्वास्थ्य चौकी, प्रसूति केन्द्र र अस्पतालहरू निर्माणका लागि उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) विधिअन्तर्गत परियोजनाहरू सञ्चालन गरी स्वास्थ्य पूर्वाधारलाई सुदृढ गर्नेछन्।

ii. नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नतिका लागि सहकार्य गर्नेछन्।

iii. सर्वसुलभ गुणस्तरीय औषधिमा पहुँच सुधार गर्न ‘भारत–नेपाल जनऔषधि केन्द्र’ स्थापना गर्नेछन्।

iv. नेपालका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम (ITEC) अन्तर्गत स्वास्थ्य सम्बन्धी क्षेत्रहरूमा अनुकूलित तालिम कार्यक्रमहरू आयोजना गर्नेछन्।

v. दुवै देशका प्रमुख चिकित्सा प्रतिष्ठानहरूबीच सम्बन्ध विस्तार गर्नेछन् र विद्यार्थी तथा प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गर्नेछन्।

vi. भारतीय चिकित्सा अनुसन्धान परिषद् (ICMR) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) तथा भारत (CDSCO) र नेपालका औषधि नियामक निकायहरू (औषधि व्यवस्था विभाग) बीच अनुसन्धान सहकार्यलाई सुदृढ गर्नेछन्।

१०. कृषि 

भारत र नेपालले यस क्षेत्रमा अनुभव आदानप्रदान, तालिम र नीतिगत दस्ताबेजहरूको तर्जुमासहित उल्लेखनीय अन्तरक्रिया उपभोग गर्दै आएका छन्। यस क्षेत्रमा भविष्योन्मुख संलग्नतालाई अझ अभिवृद्धि गर्न दुवै पक्षले:

i. नेपाली कृषि उपजहरूमा मूल्य अभिवृद्धि (Value Addition) गर्न भारतको अनुदान सहयोगमा चितवनमा कृषि-औद्योगिक पार्क (Agro-Industrial Park) स्थापना गर्नेछन्।

ii. भारतीय कृषि अनुसन्धान परिषद् (ICAR) र नेपाल कृषि अनुसन्धान परिषद् (NARC) बीच सन् २०२६–२०३० को कार्ययोजनाको कार्यान्वयनलाई तीव्रता दिनेछन्।

iii. नेपालका अधिकारीहरू, कृषकहरू र कृषि सम्बन्धी अन्य पेशेवरहरूको क्षमता अभिवृद्धिका लागि कृषि तथा पशुपालन सम्बन्धी क्षेत्रहरूमा अनुकूलित तालिम कार्यक्रमहरू आयोजना गर्नेछन्।

iv. नेपालमा एक ‘ICAR सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेछन्, अग्रणी कृषि विश्वविद्यालयहरूलाई जोड्नेछन्, र कृषि तथा पशुपालनमा नेपाली अधिकारीहरू, कृषकहरू र उद्यमीहरूका लागि विशेष तालिमको आयोजना गर्नेछन्।

कार्यान्वयन विधि

६. दुवै प्रधानमन्त्रीहरूले नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा रहेको ‘उच्चस्तरीय अनुगमन समूह’ (High-Level Monitoring Group) लाई सक्रिय बनाउने निर्णय गर्नुभयो। यस अनुगमन समूहको बैठक कम्तीमा ६ महिनामा एकपटक बस्नेछ र यसले परिकल्पना गरिएका परियोजनाहरू, विचारहरू र पहलहरूको द्रुत कार्यान्वयन सुनिश्चित गर्नुका साथै आवश्यक स्वीकृति/सहमतिहरूलाई सहजीकरण गर्नेछ।

७. दुवै नेताहरू उच्चस्तरीय अनुगमन समूहले आफ्नो प्रतिवेदन दुवै देशका परराष्ट्र मन्त्रीहरूको सह-अध्यक्षतामा रहने भारत-नेपाल संयुक्त आयोग (India-Nepal Joint Commission) समक्ष पेस गर्ने विषयमा सहमत हुनुभयो। नेताहरूले भारत–नेपाल संयुक्त आयोगको आगामी बैठक सन् २०२७ मा आयोजना गर्ने निर्णय गर्नुभयो।

८. प्रधानमन्त्रीहरूले विश्वास व्यक्त गर्नुभयो कि यस संयुक्त दृष्टिकोण पत्रले दुई मित्र राष्ट्रहरूबीचको आकांक्षी, आधुनिक र पारस्परिक रूपमा लाभदायक साझेदारीका लागि एक खाका (Blueprint) प्रदान गर्दछ; र उहाँहरूले यस साझा दृष्टिकोणलाई साकार पार्नका लागि काम गर्न भारत र नेपाल दुवैका अधिकारीहरूलाई निर्देशन दिनुभयो।

नयाँ दिल्ली

२२ नोभेम्बर २०२६

तपाईको प्रतिक्रिया