प्रकाशको ‘पिर’ विवादमा

गायक प्रकाश सपुतको नयाँ गीत ’पिर’ सार्वजनिक भएसँग विवादमा तानिएको छ । माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडीको विषयवस्तु बनाइएको सो गीतमा देखाइएको भिडियोमा खासगरि माओवादीहरुको आपत्ति रहेको छ । माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन् ।
माओवादी केन्द्रकी सांसद सत्या पहाडीले गीतले ’जनयुद्धमा’सहभागी महिलामात्र नभएर सिंगो महिला समुदायमाथि लैंगिक हिंसा गरेको बताएकी छन् । ’चुनावको मुखैमा आएर प्रकाश सपुतले जनयुद्धको उपलब्धीलाई दिग्भ्रमित पार्दै वीरता, साहस र बलिदानीपूर्ण ढंगले परिवर्तनको आन्दोलनमा समर्पित वीरविरंगनाहरूको इतिहासलाई अपमान गर्दै गीतिकथा सार्वजनिक गरेर परिवर्तनविरोधी प्रवृतिको मतियार बनेका छन्,’ पहाडीले फेसबुकमा लेखेकी छन्,’यसो गरेर प्रकाशको गीतले जनयुद्धमा सहभागी महिला मात्र होइन सिंगो महिला समुदायमाथि लैंगिक हिंसा गरेको छ। यो निन्दनीय छ र कानुनी हिसाबले दण्डनीय पनि। यसको फैसला प्रकाश आफैंले गर्नुपर्ने छ।’
माओवादी भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले गीत हटाएर माफी माग्न गायक सपुतलाई भनेकी छन् । भिडिओ नहटाए चुप लागेर नबस्ने उनको चेतावनी छ । ’जनयुद्धमा सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेका जातीय विभेदविरूद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयो,’ उनले भनेकी छन्, ’तिनै दिदीबहिनीहरू माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’
माओवादी सशस्त्र युद्धमा सहभागी भएका तर पछिल्लो समय माओवादी त्यागेका पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गीतमा आपत्ती मान्नुपर्ने कुनै विषय नभएको बताएका छन् । कलिलैमा माओवादी सेनामा भर्ती भएका र सेना समायोजनका बेला बहिगर्मनमा परेका बहिर्गमित बाल सैनिक संगठनका प्रमुख लेनिन बिष्टले यो गीतले सशस्त्र युद्धमा होमिएका योद्धाहरूको वास्तविकता दर्शाएको बताएका छन् ।

–सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया