पत्रकार कंचना झाद्वारा लिखित मैथिली कथा संग्रह ‘नव भोर’ (नयाँ विहानी) को विमोचन गरिएको छ । कथा संग्रहमा १९ वटा कथाहरू समेटिएका छन् । मधेशी महिला पात्रलाई केन्द्रमा राखेर रचिएका सम्पूर्ण कथा तराई मधेशमा दैनिक भइरहने घटनामा आधारित छ । कथाकार झा स्वयंले भन्नुभयो, ‘मैले अनुभव गरेको, सुनेको बुझेको देखेको विषयवस्तुको आधारमा यो कथा लेखेको हुँ ।’ कथा यथार्थपरक हो पात्रको नाममा मात्र परिवर्तन गरिएको उहाँले बताउनुभयो ।
कथाहरूमाथि साहित्यकार एवं पत्रकार विजेता चौधरीले समीक्षा गर्नुहुँदै मधेशी महिलाको कथा, ब्याथा, हाँसो खुशी यसमा समिटिएको बताउनुभयो । उहाँले पनि कथा पढ्दै जाँदा आफ्नै घरको घटना, आफ्नै टोल छिमेकको घटना जस्तो लाग्ने गरेको छ । पात्रहरु नाम पनि ठेट मधेशको रहेका छन् । आफ्नो ‘स्व’ को पक्षमा उभिएकी नारी कथाका विशिष्ठ रूप र आयाम सहित मिथिलाका विभिन्न भावभूमिका कथाहरू समेटिएको कथा संग्रह नवभोर संवाद फउण्डेशनले प्रकाशन गरेको हो ।
रेडियो मिथिलाका संस्थापक एवं वरिष्ठ पत्रकार गोपाल झाको अध्यक्षता तथा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ कवि धर्मेन्द्र झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मैथिली कथा एवं भाषा शैलीमाथि चर्चा भएको थियो । पत्रकार झाले कंचना झाका कथाका भावभूमि मिथिला र मैथिल जन, तिनका पीडा, अन्द्वन्द्व, प्रेम र संघर्ष रहेको बताउनु भयो । उहाँले, कथाका केन्द्रमा रहेका स्त्री पात्रहरूमा समयक्रमसँगै आएको परिवर्तन र स्वतन्त्रताको अकांक्षालाई विभिन्न पात्रका माध्यमबाट शसक्त चित्रण भएको बताउनुभयो ।
लोकार्पण समारोहका प्रमुख अतिथि धर्मेन्द्र झाले नवभोर कथा संग्रह एक जननीको कञ्चन भावाभिव्यक्ति रहेको बताउनु भयो । एक नारीद्वारा नारी पात्रहरूको माध्यमबाट सौम्य, शान्त र सुन्दर विद्रोहको स्वर उठाइएको उहाँले उल्लेख गर्नुभयो । लोकार्पण समारोहमा विशेष अतिथिको रूपमा वरिष्ठ लेखिका तथा हिमालिनी हिन्दी पत्रिकाकी सम्पादक श्वेता दीप्ती र वरिष्ठ लेखिका एवं पूर्व प्रज्ञा परिषद् सदस्य हंसावती कुर्मीले पुस्तकमाथि विचार राख्नुभयो ।

तपाईको प्रतिक्रिया