काठमाडौँ भदौं ६ गते । मैथिली साहित्यका अग्रणी स्रष्ट एवं प्रध्यापक डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रममा विभिन्न वक्ताहरूले उनको व्यक्तित्व, योगदान र वर्तमान मधेशका चुनौतीहरूबारे गहन छलफल गरेका छन् । साहित्यकार विमलको साउन २६ गते जनकपुरमा उपचारको क्रममा निधन भएको थियो ।
सहिद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा राजनीति विश्लेषक सीके लालले डा. राजेन्द्र विमलमा वैराग्य र तपस्याको अंश रहेको उल्लेख गर्दै उनलाई जनकपुरबाट अलग राखेर हेर्न नसकिने बताए । उनका अनुसार विमल मधेशका चुनौतीबारे निकै सचेत थिए । मधेशमा हाल उत्पादन घटेको, व्यापार ठप्प रहेको र प्रगति रोकिएको अवस्थामा हिन्दुत्वको राजनीति र धार्मिक अतिवाद बढ्दै जाँदा मधेशवाद नै समाप्त हुनसक्ने खतरा रहेको उनले बताए ।
अब आउनसक्ने जातिवाद र भाषिक विवादलाई विमलले साहित्यमार्फत समाधान गर्न सक्ने क्षमता विमलमा रहेको बताउँदै उनले मधेश भारतप्रति बढी निर्भर देखिए टिप्पणी गरे । भारतको दिल्लीले बिहारका लागि केही गर्न नसकेको अवस्थामा मधेशका लागि केही गर्न नसक्ने उनको तर्क थियो ।
उनले दलाई लामाको विषयलाई लिएर नेपालभित्रै द्वन्द्व हुनसक्ने र यसले चीन, अमेरिका तथा भारतका बीचमा पनि समस्या ल्याउनसक्ने चिन्ता पनि व्यक्त गरे ।
साहित्यकार धीरेन्द्र प्रेमर्षिले डा. राजेन्द्र विमललाई हरेक समस्याको समाधान दिनसक्ने कल्पवृक्षको संज्ञा दिए । उनका दुई दर्जनभन्दा बढी रचनाहरू भए पनि धेरैजसो बाहिर आउन नसकेको बताउँदै प्रेमर्षिले लोकतान्त्रिक तथा मधेश आन्दोलनपछि जनकपुरमा विभिन्न विकल्प र व्यस्तताका कारण साहित्यिक गतिविधि कम भएको उल्लेख गर्नुभयो । मधेश आन्दोलनका क्रममा विमलले गाली सहनु परेको र ढाका टोपी लगाउनु कुनै अपराध नभएको प्रसङ जोड्दै उनले मधेशको पक्षमा बोल्ने र लेख्ने कोही नहुँदा पनि विमलले निरन्तर आवाज उठाएको स्मरण गरे ।
वरिष्ठ पत्रकार सीताराम अग्रहरीले डा. विमलसँग मिथिलाको इतिहास र जानकी मन्दिरबारे अद्भुत जानकारी रहेको बताए । उनले विमललाई नेपालका विद्यापति, रवीन्द्रनाथ टैगोरका साथै आधुनिक याज्ञवल्क्य र अष्टावक्रको रूपमा चित्रण गरे । मैथिली साहित्य पढ्ने मान्छेको अभाव भइरहेको अवस्थामा साहित्यप्रति रुचि बढाउने काम गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा राजनीतिकर्मी विवम केडियाले सरकारले डा. राजेन्द्र विमलको पहिचान र योगदानको कदर गर्दै उनको नाममा हुलाक टिकट प्रकाशन गर्नुपर्ने माग राख्दै राजेन्द्र विमलको पहिचानका लािग सरकारले केही नकेही गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया